देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यालयको जग्गा जालसाजी गरेर हाउजिङलाई बेचियो

देशान्तर

बारा । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि मुलुकमा काला बजारिया र तस्करहरूले ब्रम्हलुट मच्चाएका छन् । पछिल्लो एक घटना विवरणअनुसार २०६४ सालमा सिमराको औराहामा आयोजना गरिएको श्रीमद्भागवत महायज्ञमा विनोदविक्रम सिंह, प्रमोदविक्रम सिंह र छाया राज्यलक्ष्मीको संयुक्त नाउँमा रहेको १७ बिघा १७ कट्ठामध्ये एक बिघा जग्गा नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयलाई दान दिइएको थियो । साबिकको सिमरा गाविस वडा नं.४ को कित्ता नं. ८१३ मध्येको उक्त जग्गा आकर्षक ठाउँमा छ । तर जालसाजी गरेर विद्यालयलाई दिइएको उक्त जग्गा अन्तै बेचिएको रहस्य उद्घाटित भएको छ ।

सो विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर विश्वकर्मा र प्राचार्य गणेश पौडेलले किर्ते जालसाजी गरी हालको बजार मूल्य रु.२ करोड पर्ने जग्गा सिमरा हाउजिंग एन्ड डेभलपर्स प्रालिको नाउमा गर्न लगाई कि.नं.१४८ अन्तर्गतको बाउन्ने खोलाको छेउमा विद्यालयको जग्गा लिने सहमति गरेर आम औराहा र सिमरावासीसँग बेइमानी गरेको रहस्य उद्घाटित भएको हो ।

२०६७ साल फागुनमा विनोदविक्रम सिंह, प्रमोदविक्रम सिंह र छाया राज्यलक्ष्मीको नाउमा रहेको कि.नं.८१३ लगायत अन्य केही जग्गासमेत गरी प्रमोद गुप्ताको नाउँमा बिक्री गराउने उद्देश्यले सुन्दर विश्वकर्मा र स्थानीय एमाले नेता भागवत चौधरीले बिचौलियाको भूमिका निर्वाह गरेका थिए । सो बापत तय भएको कमिसनको २१ लाख रुपैयाँमध्ये विश्वकर्मा र चौधरीले ७ लाख रुपैयाँ दलालीबापत तत्काल हात पारेका थिए । प्रमोद गुप्तासँग करारनामा बन्दाको बखत विद्यालयलाई दान दिएको जग्गा छुट्याएर अन्य जग्गा बिक्री गरेको कुरा उल्लेख थियो । तर विद्यालयको नाउँमा दिएको जग्गासमेत पंकज गुप्ताले आफ्नो श्रीमती कविता कुमारी र बहिनी सुनिता गुप्ताको नाउमा पास गर्न लगाए । पछि सो जग्गा प्रमोद गुप्ताले सिमरा हाउजिङ एन्ड डेभलपर्स प्रालिलाई बिक्री गरे ।

सिमरा हाउजिङ एन्ड डेभलपर्स प्रालिका अध्यक्ष कृष्णकुमार श्रेष्ठ हुन् । उनी तनहुँमा रामचन्द्र पौडेलविरुद्ध एमालेको टिकट पाएर चुनाव लडी पराजित भएका व्यक्ति हुन् । अर्का सञ्चालक इच्छाबहादुर वाग्ले आफू कांग्रेसी भएको दाबी गर्छन् र उनी हाउजिङ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष हुन् भने अर्का सञ्चालक कासिम मियाँ स्थानीय व्यक्ति हुन् । प्रमोदले सुन्दर विश्वकर्मालाई दलालीबापतको १४ लाख रुपैयाँ नदिई सो जग्गा सिमरा हाउजिङ एन्ड डेभलपर्स प्रालिलाई बिक्री गरेपछि विद्यालयले हकभोग र चर्चेको जग्गा पाउनुपर्छ भन्दै विश्वकर्माले दबाब दिन थाले । २०७२ साउन २२ गते श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका पूर्वव्यवस्थापन समितिका अध्यक्ष भएकै कारणले सुन्दर विश्वकर्माकै अध्यक्षतामा स्कुलको जग्गा बचाउ सरोकार समिति गठन गरियो । २४३ जना अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी भेला भई २७ सदस्यीय संघर्ष समिति गठन गरिएको थियो । जग्गामा बबाल खडा भएपछि सिमरा हाउजिङ एन्ड डेभलपर्स प्रालिका सञ्चालकहरूले प्रमोद गुप्ताको रु.५० लाख रुपैयाँ रोकेर राखे । सुन्दर विश्वकर्माको मनमा पाप पलाएपछि २७ सदस्यीय समितिमध्ये नौ जना विद्यालयका प्राचार्य गणेश पौडेलसमेतको मिलिभगतमा २०७२ मंसिर २ गते बाउन्ने खोलानजिकै विद्यालयलाई जग्गा लिने सहमति गरेर करोडौंको घोटाला गरेका छन् ।

अहिले चल्तापुर्जा स्थानीय नेता र बिकाउ सञ्चारकर्मीहरूलाई दसंै आएको छ भने स्थानीय केही भद्रभलादमीहरू अख्तियार धाउने तयारीमा जुटेका छन् ।

 

]]>