देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी बैठक सुरु, के छ प्रचण्डको प्रतिवेदनमा ?

देशान्तर

काठमाडौं । एकीकृत नेकपा (माओवादीं)ले तराई मधेसको समस्यालाई राजनीतिक तवरले समाधान गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आजबाट सुरु भएको एमाओवादीको केन्द्रीय समितिको बैठकमा राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

मधेसको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै एमाओवादीले लामो समयदेखिको तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएको, मुलुकको आर्थिक प्रणाली अत्यन्तै सङ्कटग्रस्त भएको एमाओवादीले ठहर गरेको छ ।

आजको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाको र पार्टीको भावी कार्यदिशाका विषय समेटिएको २७ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले राजनीतिक विषयलाई राजनीतिक तवरले र अन्य प्राविधिक तथा विवादका विषयलाई समग्र राजनीतिक सहमतिका आधारमा मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले विभिन्न कालखण्डमा पार्टी छाडेका र छुट्टै पार्टी बनाएका मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका विभिन्न माओवादी घटकलाई पार्टी एकताका लागि समेत आग्रह गरेको बुझिएको छ ।

संविधान जारी भइसकेको अवस्थामा त्यसबाट प्राप्त भएका प्रगतिशील र परिवर्तको मूल्य र मान्यतालाई आत्मसात् गर्दै भावी सङ्घर्षमा जुट्नेसमेत राजनीतिक प्रतिवेदनमा समेटिएको छ ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आजको बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस गरिएको र समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको जानकारी दिए ।

उनले आज प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय सदस्यलाई अध्ययनका लागि बुधबारको समय प्रदान गरिएको र बिहीबार पुनः बैठक बस्ने बताए ।

पार्टी अध्यक्षको प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्था, मुलुकको राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशालगायतका विषय समेटिएको प्रवक्ता शर्माको भनाइ छ ।

आजको बैठकमा लामो समय पार्टीबाट बाहिर रहेका स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर सहभागी भएका थिए । अध्यक्ष दाहाललाई राजीनामा बुझाएर निस्क्रिय रहनुभएका मगर बैठकमा सहभागी भएका थिए।

]]>