देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रौनक देखिएन विवाहपञ्चमीको

देशान्तर

गौशाला। चार महिनादेखि तराई–मधेसमा जारी बन्द, हडतालका कारण जनकपुरधाममा आउँदो बुधबार हुने विवाहपञ्चमी महोत्सवको रौनक देखिएको छैन् । 

महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमीको रौनक यसपालि देखिएको छैन् । 

त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् रामचन्द्र र जनकपुरका राजा जनकको छोरी सीताको विवाह यहीँ जनकपुरमा भएको दिनलाई सम्झदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुरसम्म जन्ती आउने र विवाह उत्सव सम्पन्न हुने गरेको छ । 

सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी उपस्थित हुने गर्दछन् । 

सयौँ रथ, बाजागाजा, नाच, घोडा, हात्तीसहित जन्ती तथा लाखौँ सर्वसाधारण अयोध्याबाट एक सातादेखि जनकपुर आउने चलन रहेको छ । तर यसपालि तराई–मधेसमा जारी बन्द, हडताल र सीमानामा भएको अवरोधका कारण दुई दिनपछि मात्रै हुने विवाह पञ्चमीका लागि भारतबाट अहिलेसम्म कोही पनि आएको देखिँदैन । 

प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गरेकामा यसपालि अहिलेसम्म कोही नआएको मटिहानीस्थित लक्ष्मीनारायण मठले जनाएको छ । विवाहको बेला महोत्तरीको मटिहानीमा मटकोर विधि र वेदीको माटो खन्ने प्रचलन रहेको छ । 

आउँदो बुधबार जनकपुरमा हुने विवाह पञ्चमीका लागि अयोध्याबाट अहिलेसम्म कुनै साधु, सन्त, महात्मा वा जन्ती नेपाल प्रवेश नगरेको मटिहानीवासी बताउँछन् । पहिले मटिहानी नै प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूल माला, अबिरबाट स्वागत गर्ने चलन रहेको छ । जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाह पूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन छ । 

यसपालि कुन कार्यक्रम कसरी गरिने भन्ने कुरा अझै अन्योल रहेको मठका महन्थ जगन्नाथ दास वैष्णवले बताए । उनले अहिलेसम्म भारतबाट जन्ती तथा विवाह उत्सवमा सहभागी हुने व्यक्तिको आगमन नभएकाले कार्यक्रम अन्योलमा रहेको बताए । 

लगातारको बन्द, हडताल र नाकाबन्दीका कारण मिथिलाको सबैभन्दा ठूलो उत्सवका रुपमा चिनिएको विवाह पञ्चमी उत्सव प्रभावित भएको महोत्तरीवासी बताउँछन् । 

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यस उत्सव सबैले धुमधामसँग मनाउने गर्दछन् । 

विवाह पञ्चमी उत्सवअन्तर्गत यसपालि मङ्सिर २५ गते जनकपुर दर्शन, २६ गते फुलबारी लीला, २७ गते धनुष यज्ञ, २८ गते तिलकोत्सव, २९ गते मटकोर पुस १ गते शुभविवाह र २ गते रामकलेवा हुने कार्यक्रम तय गरिएको छ । 

]]>