देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनरत पक्षसँग वार्ताबाट सहमति खोज्ने काँग्रेसको निर्णय

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य राजनीतिक दलसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ । 

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बिहान बसेको पदाधिकारी बैठकले संसद्मा पेस भएको संविधान संशोधन विधेयकका आधारमा दलीय परामर्शलाई अघि बढाई सहमति खोज्ने निर्णय गरेको हो । 

बैठकले संविधान संशोधन विधेयकलाई प्रक्रियागत ढङ्गले अघि बढाउन सबै राजनीतिक दलसँग चरणबद्ध छलफल गर्ने र त्यस विषयमा थप तयारीका लागि काँग्रेसले अपराह्न पार्टी संसदीय दलको बैठक बोलाएको छ । 

केन्द्रीय समितिको बैठक बस्नुअघि काँग्रेसले पार्टीको आगामी १३औँ महाधिवेशनको तयारीस्वरुप क्रियाशील सदस्यता वितरण प्रक्रियालाई कसरी व्यवस्थित र पारदर्शी बनाउने भन्नेबारे पदाधिकारीबीच छलफल गरेको हो । 

त्यस्तै, संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनका अनुसार संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर उसका मागलाई सम्बोधन गर्नेगरी अन्य दलसँग छलफल र संवादलाई तीव्रता दिइनेछ । 

पछिल्लो समय वार्ताको गति अगाडि नबढिरहेका बेला मधेसी मोर्चालाई सहमतिमा ल्याउन व्यवस्थापिका–संसदको ठूलो दल नेपाली काँग्रेसले सहमतिमा ल्याउन चरणबद्ध वार्ता र संवाद गर्दै आएको छ । 

सभापति कोइरालाले मोर्चाका शीर्षस्थ नेतासँग औपचारिक र अनौपचारिक परामर्श गर्दै आएका छन् । पार्टी पदाधिकारी र केन्द्रीय समितिमा पनि मोर्चाको मागका सम्बन्धमा छलफल चलाएर सहमतिको प्रयास जारी छ ।

]]>