देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस १३औं महाधिवेशन:नेतृत्वमा शीर्ष तीनकै दाबी

देशान्तर

काठमडौं । तेह्रौं महाधिवेशन सुरु हुन तीन महिनाभन्दा कम समय बाँकी रहँदा नेपाली कांग्रेसका शीर्ष तीनै नेता पार्टी नेतृत्व लिन अग्रसर देखिएका छन्। उमेरले ७० कटिसकेका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनै जनाले आसन्न महाधिवेशन आफ्नालागि नेतृत्व सम्हाल्ने अन्तिम मौकाका रुपमा बुझेर सक्रिय भएका हुन्।

चौधौं महाधिवेशनमा नेतृत्व दोस्रो पुस्तामा जाने अड्कलसहित सभापति कोइराला पुनः एक कार्यकाल नेतृत्व सम्हाल्ने पक्षमा छन् भने देउवा र पौडेल पनि यसलाई नेतृत्वमा पुग्ने अन्तिम अवसरका रुपमा यसलाई उपयोग गर्न चाहन्छन्। सोहीअनुसार तीनै नेताले महाधिवेशनको आन्तरिक तयारी तीव्र पारिसकेका छन्। कांग्रेस महाधिवेशन आगामी फागुन २०–२३ काठमाडौंमा हुँदैछ। सभापति कोइरालाले उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छैनन् तर उनी चुनावमा उठ्ने निकट नेताको दाबी छ। दलीय सहमतिमा संविधान जारी भएपछि मुलुकको राष्ट्राध्यक्ष बन्ने अवसर छाडेर बसेका कोइराला एक कार्यकाल नेतृत्व दोहो¥याउन इच्छुक छन्।

संगठन विभागप्रमुख आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्तीसहितका नेता कोइरालाका पक्षमा आन्तरिक तयारीमा जुटेका छन्। ‘भेटघाटमा उहाँ जित्ने मान्छे उम्मेदवार हुनुप¥यो  भन्नुहुन्छ,’ निकट एक नेताले भने, ‘उहाँले छाड्दा संस्थापन पक्षबाट एउटा मात्र उम्मेदवार बन्ने सम्भावना नरहेकाले पनि उहाँले नै उम्मेदवारी दिनुहुन्छ।’ सभापति कोइरालाले पार्टीमा गुट–उपगुट मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै पार्टीभित्र छलफल गरेर उम्मेदवारीबारे टुंगोमा पुग्ने बताए।

‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विधि र विधानअनुसार अगाडि बढ्नुपर्छ,’ शनिबार राजधानीमा भएको कार्यक्रममा तपाईं सभापतिको उम्मेदवार हो भन्ने प्रश्नमा उनले भने, ‘मैले साथीहरुलाई छलफल गरौं, जसमा सहमति बन्छ उसैलाई बनाऔं भन्दै आएको छु।’ देश गम्भीर संकटमा भएकाले आपसी वैमनस्य बढाउन नहुने बताउँदै कोइरालाले भने ‘छुट्टै सम्पर्क कार्यालय खोल्नेदेखि साम, दाम, दण्ड, भेद केका लागि अपनाउने? मेरालागि देश प्राथमिकतामा छ, पद होइन।’ 

वरिष्ठ नेता देउवाले पार्टी नेता तथा कार्यकर्तासँगको भेटलाई तीव्र बनाएका छन्। आफूनिकट नेतालाई अञ्चल र जिल्लाको जिम्मेवारी बाँडफाँट गरी नेतृत्व लिने तयारीमा जुटेका देउवाले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन्। बिहान निवासमा र दिउँसो ३ बजेपछि देउवाले सम्पर्क कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाट थालेका छन्। देउवाले महाधिवेशनको रणनीति बनाउन शनिबार सम्पर्क कार्यालयमा निकट नेताहरुको भेलासमेत गरे।

त्यस्तै, उपसभापति पौडेल १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने घोषणासहित विभिन्न जिल्ला दौडाहामा निस्केका छन्। पार्टीमा कायम रहेको ६०/४० को भागबन्डा अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउँदै आएका पौडेलले पार्टीभित्र मात्र होइन, समकालीन राजनीतिमा आफू सबैभन्दा सिनियर नेता रहेको दाबी गर्दै आएका छन्।  पार्टीमा सबैभन्दा दुःख आफूले गरे पनि अवसर नपाएको गुनासो गर्दै आएका पौडेलले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेशन तयारीमा जुटेका छन्। नागरिक दैनिकमा समाचार छ  । 

]]>