श्रीआचार्य
यतिखेर जताततै अख्तियारको चर्चा छ । यसले राजनीतिक व्यक्तिहरूलाई पुर्जी काटेर सोधपुछ र अनुसन्धानको थालनी गर्ने मेसो देखाएपछि यो चर्चा चलेको हो । लामै समयदेखि यो संस्था लगभग निष्क्रिय थियो । गणेश थापामाथिको अनुसन्धान अघि नबढाएर उनलाई ‘हाललाई सफाइ’ दिएपछि त यो संस्था जनस्तरमा बदनाम नै भएको थियो । अब शेरवहादुर, प्रचण्ड, झलनाथजस्ता पूर्वप्रधानमन्त्रीहरूसमेत तानिएको यो प्रकरणलाई कुन सोचले कहाँ लगेर टुंग्याउँछ– त्यसपछि मात्र अख्तियारप्रतिको धारणा परिवर्तन गर्न सकिएला । नत्र उही हो । हात्ती आयो, हात्ती आयो फुस्सा । जस्लाई जे भए पनि– भ्रष्टाचार नियन्त्रणमा प्रभाव शून्य ।
हो, सही काम गर्ने सबैले पुरस्कार–पूजा पाउँदैनन् र गलत काम गर्ने सबैले दण्ड–निन्दा पनि पाउँदैनन् । त्यस्तो हुँदो हो त यो संसार सालिक र जेलले मात्र भरिन्थ्यो । अनि पूजा–प्रशंसा गर्ने र दण्ड–निन्दा गर्नेबाहेक अन्य काम केही हुन्नथ्यो । थोरै व्यक्तिको सालिक बन्थ्यो र पूजा हुन्थ्यो । बाँकी धेरै मान्छे जेलमा हुन्थे । अर्थात् केही थोरै असल व्यक्ति पुरस्कृत हुन्छन् र केही अत्यन्त थोरै खराब व्यक्तिमात्र दण्डित हुन्छन् । पुरस्कार र दण्डको व्यावहारिक रूप समान र व्यापक दुवै हुँदैन । तर त्यही केही पुरस्कार र एकाध दण्डको व्यापकता र विस्तारित सन्देशले मान्छेलाई सही काम गर्न प्रोत्साहन र गलत काम गर्न निरुत्साहित गर्छ । पुरस्कार र दण्डको विधि–प्रचलनको गुढार्थ यही हो । संसार यसरी नै चलेको छ । तर एउटा राम्रो सिद्धान्त के छ भने, असल र गलत काम नगरेको व्यक्तिले पुरस्कार नपाए पनि दण्ड नपाओस्, बरु खराव वा गलत काम गर्ने व्यक्तिले उन्मुक्ति पाउँछ भने पाओस् । न्याय निरूपणमा माथिको सिद्धान्त सही भए पनि त्यसको उपयोग स्वार्थ प्रेरित भयो भने समाज भ्रष्ट र विकृत हुन्छ । त्यस्तो विकृति हाम्रोजस्तो अविकसित देशमा धेरै नै हुन्छ । भएको छ । त्यसैले पनि दण्ड नपाउने धेरै खराब व्यक्ति हाम्रो समाजमा सानले बाँचिरहेका हुन्छन्, छन् । आयोगका निम्ति यो आवस्था ठूलै चुनौतीपूर्ण छ ।
म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुरा उठाउन खोज्दैछु । गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको र त्यसैले, त्यो सम्पत्ति जायज नदेखिएको ठानी अन्तर्राष्ट्रिय स्तरमा भ्रष्ट घोषित र दण्डित गणेश थापालाई उन्मुक्ति दिने अख्तियार आयोग अहिले ‘ठूला माछा’ समात्ने कोसिस गर्दैछ । त्यसैले यो संस्था र यसका प्रमुख चर्चामा हुनुहुन्छ । नेपालमा संस्थागत रूपमा राजनीति, प्रहरी–प्रशासन, सेना, न्याय, शिक्षा हरक्षेत्रको जरोदेखि पात–टुप्पोसम्म र समाजको व्यक्तिव्यक्तिमा भ्रष्टाचारको गन्ध पाउन सकिन्छ । यो आयोग पनि यही समाजका मान्छेको जमघट हो । त्यसैले, धेरै मान्छेलाई यही आयोगप्रति विश्वास छैन । आयोगका धेरै अनुसन्धान अदालतमा पुगेर फिक्का साबित भएका छन् । यो सन्दर्भमा सामान्यजन सोध्छन् : हैन, अख्तियार आयोग गलत हो कि न्यायालय ? आयोगले असल मान्छेलाई डामेर बदनाम गराउने काममात्रै गर्छ कि अदालतले गलतलाई सही साबित गरिदिन्छ, बुझ्नै नसकिने पो भो त । आशंकायुक्त यस्ता जन–प्रश्नको उत्तर हामीले दिन मिल्दैन । स्वयं आयोगका विज्ञ र अदालतका न्यायमूर्तिहरूले खोज्ने हो । खोजून् । अपेक्षा यत्ति हो : असलहरू अनाहक नडामियून् र खराबहरूले दण्ड पाऊन् । नबिक्ने र नझुक्ने– कसैलाई दिएको यो धम्की हामीलाई सुन्नु छैन ।
तर मूल कुरा, पञ्चायतकालमा स्थापित यो संस्थाको उद्देश्य भ्रष्टाचार ‘निवारण’ गर्ने भनिए पनि त्यतिबेला यसलाई राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिन्थ्यो । पर्थे भ्रष्टहरू नै, तर राजालाई मन नपरेका राजनीतिक व्यक्तिमात्र । पञ्चायतकालपछि पनि यसले चोला फेरेन, सोच बदलेन । उही पुरानै बांगै सोच समात्यो । सूर्यनाथजी त्यही बाटो हिँडे । उनी कस्को इसारामा चल्थे र कस्को राजनीतिक फाइदाका लागि काम गर्थे त्यो उनैलाई थाहा होला । अदालत पनि त्यस्तै देखियो । तर पनि, जो जो व्यक्ति डामिए र दण्डित पनि भए, तीप्रति जनताको सहानुभूति छैन । न त आयोग र अदालतप्रति नै विश्वास बढ्यो । किनभने अख्तियार आयोगको उतिबेलाको कार्य–अनुसन्धान, मुद्दा दर्ता र अदालतको फैसला समाजमा व्याप्त भ्रष्टाचार निवारण हेतु भएन, थिएन । हेतु राजनीति प्रेरित थियो, यसमा किञ्चित शंका छैन । सबै कुरा सोचमा भर पर्छ । किनभने सोचअनुसारकै फल प्राप्त गर्न विधि र कार्य–योजना बनाइन्छन् र प्रमाण जुटाइन्छ । भन्नुको तात्पर्य के भने, त्यतिबेला कसैलाई राजनीतिमा रोक्न र कसैको राजनीतिक व्यक्तित्व सिध्याउने सोच–हेतुले आयोगले काम गर्यो । भ्रष्टाचार रोक्ने र भ्रष्टाचारीको व्यक्तित्व सिध्याउने हेतुले कार्य भएनन् । अब त्यस्तो नहोस् । भ्रष्टाचार निवारण र समाज, संस्था शुद्धीकरणको अभियान त्यही आयोग भित्रबाटै थाल्दा हुन्छ । दाम लिएर काम रोकिएका वा सफाइ दिइएका कयौं फाइल त्यही भित्र कुहिने अवस्थामा पुगेका छन् । गण्ोश थापाको कुरा त जनताले थाहा पाएको सत्यमात्रै हो । सके त्यो फाइल पनि खोतल्दा राम्रै हुन्छ । अन्यथा अहिलेको पुर्जी कटाइले केही डामिएलान्, त्यो बेग्लै हो । तर, यो समाजमा व्याप्त र संस्थागत रूपमा पन्पिएको भ्रष्टाचार नियन्त्रणमा सुको हात लाग्दैन । अन्तत: कुरो यत्ति हो, अख्तियार फेरि पनि पहिले जस्तै राजनीतिक व्यक्तिको हतियारको रूपमा मात्र परिचालित नहोस् । सोच बांगो राखेपछि बाटो सोझो र स्पष्ट भए पनि गन्तव्यमा पुगिँदैन । हेरौं, गणतान्त्रिक अख्तियारका प्रमुखको सोच पुरानै छ कि वा संस्थाको उद्देश्य अनुकूल बदलिएको छ ।
]]>
प्रतिक्रिया