देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसोले सिन्धुपाल्चोकमा ७ भूकम्पपीडितको मृत्यु

देशान्तर

काठमाडौं । अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् । ठोकर्पा–३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ । ‘आमालाई दमको रोग थियो,’ छोरा नेत्रबहादुर पहरीले भने, ‘सुन्निएर बित्नुभयो ।’ टोलमा अरू धेरै जना चिसोले सुन्निएको उनले बताए । ‘अरू पनि केहीको मृत्यु भइसक्यो,’ उनले भने । तीन सातायता ठोकर्पा– ३ पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् ।

गाउँमा बिरामी पनि त्यतिकै छन् । स्थानीयले उनीहरू सबैको मृत्यु चिसोकै कारण भएको बताए । स्थानीय अगुवा कृष्णबहादुर कार्कीले भने, ‘गाउँका सबैजसो वृद्धवृद्धा र बालबालिका बिरामी छन् ।’ उक्त वडामा १ सय २५ पहरी परिवार छन् । भूकम्पले घर भत्काएपछि उनीहरू सबैजसो छाप्रोमा छन् । टहरा र छाप्रामा बस्दै आएका सयौं वृद्धवृद्धा र केटाकेटी श्वासप्रश्वाससम्बन्धी रोगले थलिन थालेका छन् । टहराभित्रै शीत पर्न थालेपछि उनीहरूलाई रोगले च्याप्न थालेको हो । स्कुले बालबालिकालाई ज्वरो आउने, घाँटी र टाउको दुख्ने समस्या जिल्लाभर देखिएको अस्पताल र स्वास्थ्य चौकीहरूले जनाएका छन् । ठोकर्पा–३ की गीतादेवी तिमल्सिनालाई फोक्सोको समस्या देखिएपछि उपचारका लागि राजधानी लगिएको छ ।

सोही ठाउँका लोकबहादुर खड्का सुन्निएकै अवस्थामा गाउँमै छन् । स्थानीय सूर्यप्रसाद न्यौपानेका अनुसार गाउँमा चिसोले बिरामी पर्नेको संख्या बढिरहेको छ । ‘जस्तापातबाट शीत चुहिन्छ,’ स्थानीय ५२ वर्षीया कान्छी पहरी भन्छिन्, ‘रातभरिमा ओढ्ने भिज्छ, जीउ तात्दैन ।’ आफ्नो खेतीको आम्दानीले वर्षभरि खान नपुग्ने पहरी समुदायको बस्तीमा धरै बिरामी परेका छन् । कालिका– १ पुरानाकोट गाउँका मगर समुदायको घरैपिच्छे बिरामी छन् । ज्वरोले थलिएका वृद्ध भुवनबहादुर थापमगरले भने, ‘मरिएला जस्तो लागेको थियो, बल्लबल्ल स्वाँस्वाँ कम भएको छ ।’ विशेषगरी दम र खोकीका बिरामीलाई चिसोले थला पारेको छ । पुरानाकोटका होमनाथ न्यौपानेले भने, ‘यसपालिको जाडोमा त कालिका र ठोकर्पाका कोही न कोही नमरेका र अस्पताल नलगेको दिनै भएन ।’ स्थानीय स्वास्थ्य केन्द्रका अनुसार लेकाली बस्तीका वृद्धवृद्धा र बालबालिकामा चिसोले ज्वरो, खोकी र निमोनियाँ देखिएको छ । हिमाली बस्ती मानेखर्क स्वास्थ्य सेन्टरका चिकित्सक पासाङ छिरिङ लामाका अनुसार एक्कासि उच्च ज्वरो आउने र श्वासप्रश्वासको समस्या देखिने गरेको छ ।  

उक्त केन्द्रमा जिल्लाको पश्चिम भेक भोताङ, गुन्सा, थाङपालधाप, थाङपालकोट, बरुवालगायतका गाउँका बिरामी उपचारका लागि आउने गरेका छन् । ‘दैनिक ३०–४० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने गरेका छन्,’ उनले भने, ‘विगत वर्षको तुलनामा यस वर्षको रुघाखोकी असामान्य प्रकृतिको छ ।’ केटाकेटीमा निमोनियाँ र ज्वरो बढी देखिएको छ । ‘स्वास्थ्य केन्द्रमा ६० प्रतिशतभन्दा बढी बिरामी ज्वरो र श्वासप्रश्वासको समस्या लिएर आउने गरेका छन्,’ चिकित्सक लामाले भने, ‘गाउँमा उपचार हुन नसकेपछि अन्यत्र पठाउने गरिएको छ ।’ तामाङ समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा बस्ने घर मात्र होइन, सामूहिक बसोबास र अस्वस्थ खानाले पनि रोग लाग्न सहयोग पुगेको छ । जिल्लाको पूर्वी भेकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक सुरेन्द्र शाह भन्छन्, ‘प्रायः वृद्धवृद्धा दम, खोकी, प्रेसरजस्ता समस्याबाट ग्रसित छन् । बालबालिकामा पनि निमोनियाँ र टाइफाइड देखिएको छ ।’  बाह्रबिसे प्रास्वाकेमा उपचार गराइरहेकी राम्चे–९ की पूर्णकुमारी मगरले भनिन्, ‘उसै त छाप्राको बास, झन् बढ्दो चिसोले दम बढेर मरिएला जस्तो भयो ।’

थामी समुदायको बसोबास रहेको पिस्कर स्वास्थ्य चौकीमा दैनिक ३०–४० जना बिरामी आउने गरेका छन् ।  स्थानीय मंगलामाई माध्यमिक विद्यालयका शिक्षक पृथ्वीजंग पाण्डे भन्छन्, ‘कतिपय परिवार जाडोले कठ्यांग्रिएर रात बिताउँछन् ।’ भूकम्पपीडित बिरामी हुने क्रम बढ्दै गए पनि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, ईसीजी जस्ता परीक्षणको व्यवस्था नहुँदा उपचारमा झन् कठिन भएको छ । ‘एकातिर भूकम्पले भौतिक संरचना भत्काएको छ, अर्कोतिर जाँचका उपकरण पनि चल्न सकेका छैनन्,’ जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रकी चिकित्सक पुनम रावलले भनिन्, ‘भवन भत्केकाले बिरामीको उपचार टेन्टमा गरिएको छ ।’ 
दैनिक ४० देखि ५० जना बिरामी आउने उक्त केन्द्रमा एक्सरे, ईसीजीलगायतका जाँच मेसिन बिग्रेको छ ।

‘जिल्लाको सबैभन्दा विकट गोल्चे, गुम्बा, पाङताङ, हगामलगायत हिमाली बस्तीबाट आउने बिरामीको एक्सरेसमेत हुन सक्दैन,’ रावलले भनिन्, ‘त्यस्ता बिरामीलाई राजधानी पठाउने गरिएको छ ।’ बिरामीको चाप रहेको बाह्रबिसे प्रास्वाकेमा कर्मचारीको अभावमा प्रभावकारी काम हुन सकेको छैन । ‘१६ जनाको दरबन्दी रहेकोमा ११ जनाले काम चलाएका छौं,’ चिकित्सक शाहले भने, ‘प्राविधिक कर्मचारी नहुँदा झन् समस्या छ ।’ ०६८ को जनगणनाअनुसार ६६ हजार घर रहेको जिल्लामा भूकम्पले ९० प्रतिशत घर भत्काएको थियो । भूकम्पका कारणले ३ हजार ५ सय ६६ जनाको मृत्यु भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>