देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानको मर्म कुलच्दै ओलीले बनाए जम्बो मन्त्रिमण्डल

देशान्तर

काठमाडौं । बामपन्थी र पूर्व पञ्चहरुको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले नयाँ संविधानको भावना र मर्म विपरित मन्त्रालय टुक्राएर सरकारमा आज चार मन्त्रीहरु थपेका छन् । यो सँगै ओली नेतृत्वको मन्त्रीपरिषद्को संख्या ३४ पुगेको छ ।

नयाँ संविधानले मन्त्रीहरुको संख्या अधिकत्तम २५ तोकेको छ । यो प्रावधान नयाँ चुनावपछि बन्ने नयाँ सरकारलाई मात्रै बाध्यकारी हुने भएकाले ओलीले मन्त्रीहरुको संख्या जति पनि थप्ने छुट पाएका हुन् । संविधानमा प्रावधान जेजस्तो भएपनि नयाँ संविधानले मन्त्री र मन्त्रालयको संख्या ठूलो नहुने मर्म बोकेको छ । तर ओलीले त्यसलाई ख्याल नगरी आफ्नो सरकारलाई टिकाउ बनाउने उद्देश्यले मनलाग्दी तवरले मन्त्रीहरुको संख्या बढाएका हुन् । 

ओलीको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले रापप्रा संसदीय दलका नेता दीपक बोहरा, जनमुक्ति पार्टीका शिवलाल थापा, समाजवादी पार्टीका प्रेमवहादुर सिंह र परिवार दलका एकनाथ ढकाललाई मन्त्री पदको सपथ गराइन् । बोहरालाई श्रम तथा रोजगार, थापालाई विज्ञान  तथा प्रविधि, सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ढकाल भने विनाविभागिय मन्त्री बनेका छन् ।

सरकार विस्तार गर्दा सत्ता पक्षमा रहेका दलहरुलाई भाग पुर्‍याउन सरकारले मन्त्रालय टुक्रयाउने निर्णय गरेको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्याबाट जनसंख्या झिकिएको छ भने विज्ञान, प्रविधि तथा वातावरणबाट वातावरण झिकेर नयाँ मन्त्रालय जनसंख्या तथा वातावरण बनाएको छ ।

सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाई तथा खानेपानी मन्त्रालय बनाइएको छ ।

विश्वेन्द्र पासवान जनसंख्या तथा वातावरण मन्त्री बन्दै छन् भने विना विभागीय मन्त्री शान्ता मानवीले शान्ति तथा पुनर्निर्माण मन्त्रालय पाउँदैछिन् ।

सररकामा ४ नयाँ राज्यमन्त्री पनि थपिदै छन् । थपिनेमा दामोदर भण्डारी, मन्जु चौधरी, दिनेशचन्द्र यादव, बलबहादुर महत छन् । राज्यमन्त्रीमा थपिने चारै जना एमाले नेता हुन् । राज्यमन्त्रीहरुको सपथ भने आज नहुने स्रोतले बतायो ।

]]>