देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हात्ती फुटबलको उपाधि सिजी फुड्सलाई

देशान्तर

रत्ननगर । चितवनको रत्ननगरस्थित सौराहामा भएको हात्तीका छावाबीचको फुटबलमा सिजी फुड्सले उपाधि हात पारेको छ ।

बार्हौँ चितवन हात्ती महोत्सवका क्रममा आज सम्पन्न फाइनल खेलमा सिजीले नबिल बैंकलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिजीले बुद्ध एयरलाई र प्रभु बैंकलाई नबिल बैंकले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो ।

खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै सिजीले अग्रता लिएको थियो । रातो जर्सीमा सहभागी सिजीका लागि खेलको ४८ सेकेन्डमै सौराहागजले गोल गर्दै अग्रता दिलाएको हो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको सिजीले दोस्रो हाफमा उपहार गोल पायो । दोस्रो हाफमा नबिलका गोल रक्षक चुरियागजले आत्मघाती गोल गरेपछि सिजीलाई थप एक गोल उपहार प्राप्त भएको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । नबिलले पनि गोल गर्ने थुप्रै मौका पाए तर सफल भएनन् ।

छावाबीचको फुटबलबाट दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । मैदानको चारैतिर छरिएर रहेका सयौँ दर्शकले मध्य पुसको पारिलो घाममा छावाले फुटबल खेलेको हेरेका थिए । उनीहरुले मच्चीमच्ची हुटिङ गरेका थिए ।

फुटबल खेलमा सहभागी हात्तीका छावालाई दर्शकले हुटिङका साथ ताली बजाएर समर्थन जनाएका थिए । सहभागी पर्यटक राजकुमार थापाले हात्तीको फुटबलले पूर्ण मनोरञ्जन दिएको बताए ।

सो क्रममा चितवनका प्रजिअ विनोदप्रकाश सिंहसहितका उच्च अधिकारी र बारा तथा मकवानपुरका सरकारी अधिकारीहरुले समेत खेलको मनोरञ्जन लिएका थिए  । 

छावा फुटबलमा सिजीका सौराहागज उत्कृष्ट घोषित भयो भने  बेस्ट किपरमा नबिलको चुरियागज बनेको रेफ्री गौतम गिरीले जानकारी दिए ।

महोत्सवको अवसरमा आयोजना गरिएको हात्ती लम्काइ प्रतियोगितामा एकताकली ‘बी’ पहिलो भएको छ । आज नै सम्पन्न फाइनल प्रतियोगितामा हस्तबहादुर भट्टका एकताकली बीले फाइनलमा सहभागी अन्य पाँच वटा हात्तीलाई पछि पार्दै दौडको उपाधि जितेका हुन् ।

प्रतियोगितामा युवराज पौडेलको एलिसाकलीले द्वितीय र दामोदर रेग्मीको मारुतीकलीले तृतीय स्थान हासिल गरेका छन् । सो प्रतियोगितामा कुल २० वटा हात्तीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

यसअघि मङ्गलबार हात्ती सुन्दरी प्रतियोगिता, टागा, गाडा र डुङ्गा दौडको फाइनल खेल भइसकेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्षेत्रीय होटल सङ्घ चितवनले प्रत्येक वर्ष पुसको ११ गतेदेखि हात्ती महोत्सव गर्दै आएको छ ।

]]>