देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिपक्षीय वार्ता सुरु

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख प्रतिपक्षी कांग्रेससहित आन्दोलनरत संयुक्त लोकतान्त्रिकसँगको त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ ।

वार्तामा आन्दोलनरत मधेसी मोर्चाबाट अशोक राई, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, रामनरेश राय, लालबहादुर राउत सहभागी छन् ।

कांग्रेसको तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा सहभागी छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु वार्तामा छन् ।

सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कमल थापा सहभागी छन् ।

मधेस आन्दोलन र नाकाबन्दी लगायतका समस्या समाधान गर्न आन्दोलनरत मधेसी मोर्चा, प्रतिपक्षी काग्रेस र सत्तारूढ दलहरूबीच वार्ता हुन लागेको हो । केही दिनयता प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति खोज्ने प्रयासस्वरुप अनौपचारिक छलफललाई तिब्रता दिएका थिए । कांग्रेस सभापति सुशील कोइराला अमेरिकाबाट फर्केपछि उनले पनि मधेसी मोर्चा र सत्तारुढ दलहरुसँग छलफल गरेका थिए ।

स्रोतका अनुसार प्रमुख तीन दलले मधेसी मोर्चाले भनेको समग्र सहमति भित्र के के विषय समेटिन्छन् भन्नेबारे औपचारिक रुपमा धारणा माग्ने तयारी गरेका छन् । मधेसी मोर्चाले यसअघि नै प्रमुख दलहरुलाई साझा धारणा बनाएर आउन भनेको थियो । तीन दलबीच औपचारिक रूपमा साझा धारणा त बनिसकेको छैन । तर उनीहरु मधेसीका मागमा स्पष्ट हुने र त्यसका आधारमा साझा धारणासहित सहमति गर्ने पक्षमा छन् । मधेसीहरुले मुख्य रुपमा सिमांकनको कुरा उठाएका छन् ।

‘सोमबारको वार्ता निर्णायक बनाउनेगरी तयारी सुरु भएको छ,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका सहयोगी चुडामणि खड्काले बताए । मोर्चाले मुख्य माग भनी बताउँदै आएको सीमांकनको प्रस्तावमा सोमबारको वार्ता केन्द्रित हुने छ । सीमांकन हेरफेरबारे दुवै पक्ष टसमस नभएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २९ को बैठक अगावै केही विकल्प अघि सारेका थिए ।

]]>