मान्छेभित्र अन्तर्निहित आक्रोश 
यौनको होस् या धनसम्पत्तिकोे
आधिपत्यको होस् या विवेकविहीनताको
यसका विभिन्न संयोजनबाट निःसृत प्रवाहले
कति पटक सभ्यता जन्माए 
कति पटक तिनको मृत्यु गराए 
यो क्रमसँग अनुबन्धित विश्व रंगमञ्चमा 
आत्मरतिको टाकुरामा पुगेका 
बेवकुफहरूको आक्रोश–मञ्चित नाटकको परिणति 
धरती धेरै पटक रक्तरञ्जित भएको
तर आक्रोशको स्वरूप बदलिएन 
केवल भावभंगीहरू विविध स्वरूपमा अभिव्यक्त 
समयसँग अनवरत लयबद्ध भएर बदलिरहँदा 
आक्रोशको तागतले फुटिरहेका ज्वालामुखी जस्तो
तागतअनुसार भताभुंग हुँदै गएको यत्रतत्र
 
यस्तै आक्रोशले मुलुक हाँकिएको, 
सामाजिक मन बाँधिएको
बस्ती–बस्ती, अझ घर–घर गाँजिएको 
बार्दलीमा बसेर तल बट्टाई लडाए जस्तो
भुइँमा बसेका मान्छेहरूको हुर्मत लिएर आनन्दित
बार्दलीमा बस्नेको अगाडि भुइँमान्छेको के हैसियत?
तागत हुनेले भोग्दै आएको यो धरामा 
न हिजो अस्तित्व थियो उसको, न आज नै छ 
हिजो खरिद–बिक्री गरिने दास 
आज अवसर पर्दा आसमानमा पुर्‍याइएको दास
फगत बेलाबेलामा सार्वभौमसम्पन्न चिरिबिरी
योबाहेक भुइँमान्छेको यहाँ के हैसियत छ र?

जलवाष्पयुक्त वायुबाट पानी परेझैँ
कताबाट कस्तो वायु उडेर आउँछ 
त्यसले के के ल्याउँछ के के?
निर्दोष आँखाहरूलाई झाँकेर
सम्पदा जल्छ, सरकार ढल्छ
आँधीबेहरी आउँछ, असिना पर्छ 
त्यसको आवेगमा मैले ताली ठटाउने, 
भोट हाल्ने त हो
कसैले नगनेको मान्छे, 
मेरो के हैसियत छ र ?
यहाँ पीडक र पीडितको नबदलिएको सम्बन्ध
मौका मात्र पाउनुपर्छ–
पीडित नै झन् ठूलो पीडक बनेका

ad

यी दुई प्रवाह निस्किरहेका छन्
बदलिँदै गएको स्वरूपमा रूपान्तरित भएर 
रूपान्तरणका लागिको युद्धमा म बोकासरह प्रयोग भएँ
धाराप्रवाहको भाषणले ल्याएको बिहानीमा 
म पो झन् नदेखिने भएँ
बाढी आएको बेला जीविकाको फाँट सोतर पारेर 
पर दोभानमा मिसिएका छन्
तर बलियो प्रवाह सधैँ बलियो छ
कमजोरलाई मुन्ट्याएर लगी नै रहेको
त्यसैले त मान्छेले नै मान्छे नगनेको मान्छे हुँ म
सपना देख्नेबाहेक अरू के बचेको छ?
फेरि पनि आएको छ सपना देख्ने पालो मेरो।