जहाँ तुष्टिले जित्छ त्यहाँ सन्तुष्टि मरेर जान्छ

सन्तुष्टिले पुनर्जीवित हुनैपर्छ

ad

अनि त एकपछि अर्को अवतारको उदय र अस्त

यही नै हो अनवरतको द्वन्द्व विभिन्न चरणमा

समयसँग बहिरहेको

यसरी नै हो–

युगहरू भत्किन्छन्, नयाँ बन्छन्, पुनः भत्किन्छन्

यो आजको कथा होइन

मोहनी रूपको सुन्दरताको कम्पनदेखिको

कथा हो समुन्द्र मन्थनदेखिको ।

 

के हो तुष्टि ?

तत्कालको तृप्ति हो

मान्छेको इन्द्रियहरूले लालच या लोभ बोकिरहेका हुन्छन्

बाँचुन्जेल कहिले पनि नअघाउने गरी

मौका पाउनेबित्तिकै अनियन्त्रित ती वेगवान् हुन्छन्

इमानजमान, नैतिकता, मर्यादा र कानुन नाघेर

आतुर–तृप्ति बाहेक अरू केही पनि नदेख्ने अन्धो भएर

यति बेला मान्छे वाचाल, बेमान, नरपशु बन्न सक्छ

सुटुक्क अपराध, लुटुक्क व्यभिचार

जनविश्वासलाई फिटफाट गरेर

 

तुष्टि अभिव्यक्त हुने अनेक बाटो कुबाटो

यौनको तुष्टि, धनसम्पत्तिको तुष्टि

अधिकारको दृष्टि

अहंलाई सगरसँग चुम्बन गराएर प्राप्त तुष्टि

आफू ‘विश्वरूप’ को अगाडि बाँकी पातपतिंगरसरह

यस्तै तुष्टिमा मुलुक हाँक्नेहरू जब हाँकिन्छन्

त्यहाँ द्वन्द्व अग्लिँदै जान्छ

किनकि त्यहाँ सबै बिक्रीमा हुन्छन्

बिक्रीमा राख्न थालिन्छन्

यौन तुष्टि दिने या दिएका राजदूत बन्न सक्छन्

नोट हुनेहरूले पद किन्न सक्छन्

विदेशमा बैंक ब्यालेन्स बढाइदिनेले या सेयर किनिदिनेले

स्वदेशमा कर मिनाहा पाउन सक्छन्

जब त्रिमूर्ति–गुरुघण्टालको सिन्डिकेट बन्छ

आलोपालो तुष्टिको लागि

त्यसबाट निमुखा जनताले मुक्ति पाउन धेरै गाह्रो ।

 

एप्स्टिन मर्‍यो-मारियो

तर त्यो खतरनाक राक्षसको प्रेत–विम्ब बनेर बाँचेको छ

धन्दा रोकिएको छैन

ज्ञात अज्ञात एप्स्टिन टापुहरू चलेकै छन्

अर्थ–राजनीतिक महारथीहरूको तुष्टिको लागि

कतै विश्व अर्थराजनीतिक सन्तुलन

अपहरण भएको त होइन ?

जसबाट उत्पन्न असन्तुलनका ज्वारभाटाहरू

समुन्द्रको छाल किनारामा ठोकिएजस्तो

हरेक सिधासाधाको आँगनसम्ममा ठोकिरहेका छन् ।

 

के हो सन्तुष्टि ?

यो हो पछिसम्मको खुसी या स्थायी सन्तोष

सृष्टिकर्ताको नजिक पुग्ने ध्यान भनौं

या धेरैको लागि असल कर्म गर्ने सद्बुद्धि

कुइएको फर्सीसरह हुँदा पनि बोलिरहेका छन्

जेलदेखि जेलसम्मको यात्रा गर्नेहरूले

तुष्टि मात्र देखेका हुन्छन्

सन्तुष्टि होइन

 

नयाँ परिवर्तनले सन्तुष्टिको बाटो पहिल्याउन सकोस्

तुष्टिको भुमरीमा नपरोस्

यति नै शुभकामना दिन सक्छु म

गुन्जिएको ध्वनि र साइतपछिको यात्राको लागि

अस्तव्यस्त घनचक्करको यात्रा नयाँ सुरुवात नबनोस्