काठमाडौँ । सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगलेविशेष अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीका सहमहामन्त्रीहरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम अनियमित रूपमा खर्च गरी हिनामिना गरेको आरोपमा बिहीबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको हो।

ad

मुद्दामा वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीसँगै एक लेखापरीक्षकलाई पनि प्रतिवादी बनाइएको छ। अधिकारी रास्वपा कर्णाली प्रदेशका प्रवक्तासमेत हुन्।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा समितिका पदाधिकारीबीच मिलेमतो गरी कार्ययोजना बिना रकम खर्च गरिएको, निर्णय प्रक्रियालाई बेवास्ता गरिएको र आम्दानी–खर्च विवरणमा अनियमितता गरिएको पाइएको छ।

छानबिनबाट बिलबिना सडक निर्माणमा खर्च देखाई नक्कली कागजातमार्फत भुक्तानी गरिएको, लेखापरीक्षण नभए पनि शुल्क भुक्तानी गरिएको, काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरिएको तथा नर्सरी व्यवस्थापनका नाममा प्रमाणबिना ५ लाख १७ हजार ५ सय रुपैयाँ खर्च गरिएको खुलेको अख्तियारले जनाएको छ।

त्यसैगरी, वन मुद्दा सम्बन्धी कार्यमा अधिवक्तालाई ३ लाख रुपैयाँ भुक्तानी गरेको देखाएर रकम हिनामिना गरिएको, मुद्दा तथा साक्षी खर्चका नाममा २ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको र व्यक्तिगत प्रयोजनका लागि समेत कोषको रकम प्रयोग गरिएको आरोप छ।

अख्तियारको अभियोगपत्रमा समितिको रकमबाट व्यक्तिगत जरिवाना तिर्नुका साथै विभिन्न सामग्री खरिद गर्दा बिलबिना भुक्तानी गरिएको उल्लेख छ। प्रतिवादीहरूले आपसी मिलेमतोमा कुल १२ लाख १८ हजार ५ सय १२ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप लगाइएको छ।

उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहनेछ भने दोषी ठहर भए कानुनअनुसार सजाय तथा जरिवाना हुने व्यवस्था रहेको छ।