
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्यमन्त्री पदमा आलोपालो गर्ने भनिएको सहमतिको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन्। सत्ता साझेदार दल एमालेले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला बानियाँको यस्तो अभिव्यक्ति आएको हो।
सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकारसँगको अन्तरसंवादमा उनले भागबण्डासम्बन्धी कुनै औपचारिक जानकारी आफू वा पार्टी नेतृत्वसँग नरहेको दाबी गरे। कार्यक्रममा सहभागी कांग्रेस र एमालेका मन्त्रीहरूलाई समेत सो सहमति बारे जानकारी नभएको उनले उल्लेख गरे।
गत वर्ष साउनमा कांग्रेस र एमालेबीच संयुक्त सरकार गठन हुँदा २०/२० महिनाका लागि मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको चर्चा चल्दै आएको छ। उक्त सहमतिअनुसार एमालेको समर्थनमा कांग्रेसका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बनेका थिए।
लामाको नेतृत्वमा सरकार गठन हुँदा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लाई पछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको कांग्रेसका केही सांसदहरूले बताउँदै आएका छन्। थपलियाले पनि फागुनपछि नेतृत्व हस्तान्तरण हुनुपर्ने दाबी गर्दै आएका छन्।
तर, राजनीतिक समीकरण बदलिँदै जाँदा कांग्रेसभित्रै शक्ति संघर्ष चर्कियो। चालु आर्थिक वर्ष २०८१/८२ को बजेट विवादका बीच बानियाँले आफ्ना पक्षमा बहुमत सांसद जुटाउँदै अविश्वास प्रस्तावमार्फत लामालाई पदबाट हटाए। उक्त प्रक्रियामा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा को समर्थन रहेको बताइन्छ।
९ साउन २०८२ मा दर्ता भएको अविश्वास प्रस्ताव १३ साउनमा पारित हुँदा लामाले दल नेताको पद गुमाए। त्यसपछि १४ साउनमा भएको निर्वाचनमा बानियाँ दलको नेता चयन भएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो।
यसअघि २०७९ पुसमा दल नेताको प्रतिस्पर्धामा लामा विरुद्ध बानियाँ पराजित भएका थिए। तर पछिल्लो राजनीतिक घटनाक्रमले बागमती प्रदेशमा नेतृत्व फेरबदल मात्र होइन, सत्ता साझेदारीको सहमतिबारे पनि नयाँ बहस सुरु गरेको छ। विवाद बढ्दै गएमा बागमती प्रदेशमा कांग्रेस–एमालेबीचकाे गठबन्धन टुट्ने संकेत देखिएकाे छ ।








Facebook Comments