जन्मिदा बाँच्नको लागि रुँदा

रोएको सुनेपछि दङ्ग हुनेहरू

ad

हर्षबढाइँ माग्न दौडिनेहरू

तिनले के सुनुन् ?

त्यो रोदनको झन्कार परको चितामा झंकृत भएको

के  जानुन् ?

कति छोटो छ अन्तराल यो वसन्तको

हरेक कालखण्ड यस्तै अन्तरालको क्रमबद्धता

यस्तै एक अन्तरालमा अहिले हामी आइपुगेको।

 

समय–

पानीको भारी बोकेर उडिरहेको मेघ

त्यो मेघलाई आफ्नो दूत बनेर जान यक्षको आग्रह

आफ्नी प्रेयसीको ठेगाना मेघलाई बुझाउन

रामगिरिदेखि अलकापुरीसम्मको बाटो देखाएको

कति बुझ्यो होला यक्षको सन्देश प्रेयसीलाई ?

त्यो प्रेमले जन्माएको विरहलाई

त्यस्तै नै भएको होला अहिले

भारी बोकेर उडिरहेको मेघलाई भएजस्तो।

 

सलबलाएका छन् सदा झैँ यहाँ ‘बुद्धिजीवीहरू’

आ-आफ्नो बुद्धि बेच्नको लागि

जागिरे कर्मकाण्ड पूरा गरेका

बढ्दो चाङ ‘निबन्ध-प्रोफेसर’को

एउटा हलीलाई विद्यार्थी बनाएर बचाएको विभागबाट

हरेक पटक उफ्रिरहेका भ्यागुतोले जस्तो

आफ्नो नवीनतम छलाङ देखाउन

छ कोही मेरो बराबरको विद्वता भएको भनेर ?

 

दुई लेख हरेक पटक शीर्षक बदलिएर प्राप्त अङ्क

कोटामा परेका, टिपेक्स लगाएर उक्लिएका

शुद्ध एक सेन्टेन्स लेख्न नसक्नेहरू

अरूले लेखिदिएको पनि पढ्न नसक्नेहरू

लामो सदर बदरबाट गुज्रिए पश्चात

भाग्य विधाताहरूलाई शास्त्र सिकाइरहेका

आफ्नै विद्धताको वर्षामा रुझिरहेका

अझ अरूप्रति कत्रो ललकर ?

छ कोही म बराबरको बुद्धिजीवी भनेर?

 

दुई टुक्रा रोटीको लागि जे गर्न तयार यी

हिजो चन्द्र शमशेरलाई –

'हा राम चन्द्र शमशेर बडा प्रतापी'

भन्थे

तँछाडमछाड गर्दै अर्का थरी भन्थे–

‘बत्तीस लक्षण युक्त भई हजुरले ली अंश इन्द्रादिका’

यिनैका रूपान्तरित परिष्कृत स्वरूपहरू–

अहिले त मुलुकभित्रबाट होइन

उत्तर, दक्षिण, पूर्व, पश्चिमबाट मात्र पनि होइन

दसैँ दिशाप्रदत्त यी 'मालपानी बुद्धिजीवीहरू'

आ-आफ्नो एन्जीओ, मिडियावाहक सशस्त्रीकरणमा

हिजोको सेटलाई पछारेर वायु बेगले दौडिरहेका।

 

यतिखेर नयाँ बन्ने शासकलाई भूपति भन्न थालेका

अमेरिकी प्रथम महिला वनेको बेला,

हिलारी क्लिन्टनको पतिप्रेमलाई

‘सीताको प्रेम सरह’ भनेर आरतीगर्नेहरू

‘पार्वतीले पनि स्वीकार्नुपर्ला तिम्रो पतिप्रेम’ भन्नेहरू

अझ परिष्कृत स्वरूपमा सलबलाइरहेका

पंक्तिबद्ध भएर उभिरहेका

जनमत सिर्जनाको लागि मलाई लेउ भन्ने याचना

मैले बराबरको सन्तुष्टि अरूले दिन सक्दैन भन्दै।

 

प्रत्येक सुरुवातले बोकेको अन्त्यलाई

कसले देख्न सक्छ र?

टिक टिक, टिक टिक गर्दै बजिरहेको

समयको भाकालाई

कसैले बुझ्न सक्छ र ?

यदि कसैले समयमा देख्न सक्यो भने

जति छोटो वसन्त नै किन नहोस्

सुन्दर फुल बनेर त्यो मगमगाउन सक्छ

यदि समयको भाका समयमै बुझ्न सक्यो भने

कसैको गोटी बनेर सिद्धिने होइन

कोटी कोटीको धड्कन बनेर गुन्जिन सक्छ

हिमशैलको विश्वरूपदेखि

फैलिँदै गएको हरियो फाँटसम्म।