आस्थाका पर्खालहरू ढले 
विश्वासका दियाहरू निभे 
अनपेक्षित समयको लाश बोकी 
शवयात्रीहरू भ्रmोकाइ रहे 
गहिरो शून्यताले लखेटी रह्यो  
मान्छेहरू अवाक बने । 

उक्लनुपर्ने सिँढी उक्लन नसकी 
सिँढीमै अड्किए मान्छेहरू 
चुपचाप आँखाहरू रोइरहे 
वेदनाको बगाउँदै अश्रुधारा
मान्छेहरू निर्मम भए 
तिम्रो दम्भले पराकाष्ठा नाघेपछि ।

ad

सायद, तिमी शोकमग्न छौ 
तिम्रो विरासत गुमेको छ 
तिम्रा सपनाहरू अनेक थिए 
सपनाहरू गर्भमै तुहिएको छ 
तिमी दिउँसै सपना देखि रहेका थियौ 
रातले तिम्रा विपना निले पछि । 

तिमी लम्कँदै थियौ गन्तव्यतिर 
तिम्रा खुट्टा तानिँदै थिए 
तिमी गाउँदै थियौ स्वाभिमानको गीत 
लेण्डुपहरू देश बेच्दै थिए 
तिम्रो रतग पसिनामा आहाल खेली 
तिनीहरू परिवर्तनका नक्कली बाँसुरी बजाउँदै थिए ।  

खोजि गर्नु छ गुमेको सपना 
उठ्नु छ हिमालजस्तो 
यात्रामा आरोह–अवरोह हुन्छ नै 
अविराम दौडाउनु छ जिन्दगीलाई 
साहसका ढोका खोलेर राख 
आस्थाको जून भित्र््याउनलाई । 

कठपुतलीहरू नाचिरहे 
साम्राज्य रहेसम्म 
तिमी क्षमादान दिँदै गयौ 
अक्षम्य अपराध गर्दा पनि 
आक्रोशित भए मान्छेहरू 
उदण्डताले सीमा नाघेपछि । 

भ्रष्ट महलहरू ठडिइरहे
बेघरबार रुँदा पनि 
बेथितिका डुंगुर थुप्रिरहे 
नीति भ्रष्ट भएर गयो
सत्तालिप्साले छोडेन तिमीलाई 
अपवित्र गठबन्धन भयो 
तिम्रो चेत खुलेन अझै 
सत्ता च्युत भएर गयो ।