
आस्थाका पर्खालहरू ढले
विश्वासका दियाहरू निभे
अनपेक्षित समयको लाश बोकी
शवयात्रीहरू भ्रmोकाइ रहे
गहिरो शून्यताले लखेटी रह्यो
मान्छेहरू अवाक बने ।
उक्लनुपर्ने सिँढी उक्लन नसकी
सिँढीमै अड्किए मान्छेहरू
चुपचाप आँखाहरू रोइरहे
वेदनाको बगाउँदै अश्रुधारा
मान्छेहरू निर्मम भए
तिम्रो दम्भले पराकाष्ठा नाघेपछि ।
सायद, तिमी शोकमग्न छौ
तिम्रो विरासत गुमेको छ
तिम्रा सपनाहरू अनेक थिए
सपनाहरू गर्भमै तुहिएको छ
तिमी दिउँसै सपना देखि रहेका थियौ
रातले तिम्रा विपना निले पछि ।
तिमी लम्कँदै थियौ गन्तव्यतिर
तिम्रा खुट्टा तानिँदै थिए
तिमी गाउँदै थियौ स्वाभिमानको गीत
लेण्डुपहरू देश बेच्दै थिए
तिम्रो रतग पसिनामा आहाल खेली
तिनीहरू परिवर्तनका नक्कली बाँसुरी बजाउँदै थिए ।
खोजि गर्नु छ गुमेको सपना
उठ्नु छ हिमालजस्तो
यात्रामा आरोह–अवरोह हुन्छ नै
अविराम दौडाउनु छ जिन्दगीलाई
साहसका ढोका खोलेर राख
आस्थाको जून भित्र््याउनलाई ।
कठपुतलीहरू नाचिरहे
साम्राज्य रहेसम्म
तिमी क्षमादान दिँदै गयौ
अक्षम्य अपराध गर्दा पनि
आक्रोशित भए मान्छेहरू
उदण्डताले सीमा नाघेपछि ।
भ्रष्ट महलहरू ठडिइरहे
बेघरबार रुँदा पनि
बेथितिका डुंगुर थुप्रिरहे
नीति भ्रष्ट भएर गयो
सत्तालिप्साले छोडेन तिमीलाई
अपवित्र गठबन्धन भयो
तिम्रो चेत खुलेन अझै
सत्ता च्युत भएर गयो ।










Facebook Comments