ad

कानुनभन्दा माथिको पिटपाटलाई दादागिरी भनिन्छ

दादाहरू आफूलाई ‘बादशाह’ 

ठान्दछन्

जे बोल्यो त्यही नै कानुनसम्मत

प्रकृतिले जहाँ जे दिएको होस्

भोग गर्ने अधिकार आफ्नै ठान्ने  

यस्तै प्रवृत्ति नै शासन बनेको

यस्तै स्वरूपको विभिन्न चरण– 

दास युगदेखि धर्मको निर्मम शोषणयुक्त प्रयोग 

उपनिवेशवादी शोषणदेखि प्रोक्सी रुल प्रजातान्त्रको

सभ्य समाज र मानव अधिकारको मलम लगाएर

दानवीय स्वरूपको बीभत्सता 

सभ्यताको चीरहरण

मानवीय संवेदनाको वधशाला ।

 

अझ पर कताकता जहाँ विज्ञानले चियाउन सक्दैन 

तर्कले भ्याउन पनि सक्दैन 

त्यस्तो लोकको तत्वज्ञान समात्नका लागि 

बादलसरह हावामा उडिरहेका व्यक्तिलाई के भन्ने ?

म त जिल्ल परेँ, सुनेँ अनि देखेँ पनि

यस्तै हरकतलाई ‘अभ्युदय’ भन्न थालिएको

भगवान्ले लिएको नयाँ अवतार

उसको विजय र जीवन रक्षाको लागि 

धूमधामसँग पूजाआजा भइरहेको

पुजारीहरूको सार्वजनिक उद्घोषबीच

आजको यो २१औँ शताब्दीमा। 

 

सानो उदाहरण यहीबाट 

कुनै बेला यहाँ म देख्थेँ सुट र टाइ लगाएर

क्विन्स एक्सेन्टको लय मिलाएर

पटरपटर अंग्रे्रेजी बोल्ने मान्छे विद्वताको पुञ्ज बनेको 

यो देवभूमिमा जहाँ ज्ञानको सरिता बहिरहेको

उत्तरतिर उडिरहेका भगवान् शिवलाई 

स्थानान्तरण गराउन सक्ने ज्ञानको तागत

शंकराचार्य शास्त्रार्थ गर्न यहाँ आइपुगेका

बुद्धत्व खोजीमा अशोक यहाँ स्तूप बनाउँदै हिँडेका

तर ट्वाँ परेर हेर्थें म ज्ञानको शिखरलाई 

आफ्नो टोपी खसिसकेको पत्ता हुँदैन थियो 

 

उपनिवेशवादी शोषणमा 

शोषितबाट नै शोषण गर्ने राज्य सञ्चालन 

अंग्रे्रेजी हाउभाउका ठालु वर्ग बनाएर गरिने 

त्यो निरन्तरताको रहलपहल अझै गइनसकेको 

बिरालोले दूध चोरेजस्तो पाटपुट ज्ञान चोर्नेहरू पनि 

दनदनाएको अंग्रेजीअगाडि रुझेको बिरालोजस्तो देखिन्थे 

अब त होलीवाइनको चुस्की लगाउने राजकाजमा 

खै ! बाँकी नै के कति छ र ? 

 

बादशाही शोषणका सुदृढ अवशेषहरू 

झन् प्रगाढ भएर निर्णायक भएका

जहाँ जेजति छन् 

त्यो भोग गर्ने मैले मात्र हो

मैले दिएपछि मात्र अरूको हक लाग्छ 

यो प्रवृत्ति झन् बलियो भएको 

त्यसैले होला दादागिरीको चुरीफुरी अचाक्ली बढेको ।