कहिले पुग्छु म मुकाममा 

मलाई थाहा छैन 

ad

तर मलाई यति राम्ररी थाहा छ 

अब धेरै परसम्म हिँड्नुपर्ने छैन

किनकि मैले लामो यात्रा तय गरिसकेको छु ।

 

शून्य आकाश, शून्य धर्ती 

सबैतिरको शून्यतामा ब्युँझेको म  

जहाँ मैले धेरै कुरा देखेँ

स्नेह स्थापित भएको देखेँ 

त्यसैगरी स्नेह विस्थापित भएको पनि 

उठाउन खोजेका संवेदन हातहरू देखँे 

थचार्नु खोज्ने दुष्टताका हातहरू पनि

दुष्ट र स्वजनले फुकेका दुष्टतामा 

अबोध बालकसँग सतर्क भएका अनुहारहरू देखेँ ।

 

उठाउने संवेदनाहरू र थचार्ने गुरुत्वाकर्षणबीच

मान्छेले तय गर्नुपर्ने दूरी नै

सायद जीवनको संघर्ष 

जुन मान्छेको यात्रा बनेको

वैभवको लागि पारी जान खोज्ने मान्छेलाई 

नदीले बगाउन खोजिरहेको 

तर्नको लागि ऊ हातखुट्टा फालिरहेको 

सायद यही क्रममा जे सकिएर जान्छ 

त्यही नै हो जीवन ।

 

जीवनभित्र मैले के देखिन र ?

घात–प्रतिघात, आक्रोश–छटपटी 

दुष्टता–बेइमानी

सबभन्दा पीडादायी हो धोकाधडी

यसै क्रममा इमान–जवान देखेँ 

प्रेमको दियोको उज्यालो देखेँ 

निश्छल फूल फुलिरहेको पनि देखेँ

मित्रता बनेको देखेँ, टुटेको पनि देखेँ 

जुट्ने र टुट्ने समयको क्रमबद्धतासँग 

आबद्ध भएर आएको म 

जुट्ने, टुट्ने, उठ्ने, पछारिने 

समुन्द्रमा अनवरत उठेको छालजस्तो भनूँ

या जति उठ्न खोज्दा त्यति लडेको बालकजस्तो । 

 

मुकामको यो यात्रा जारी छ

प्रेयसीको माया, 

जिन्दगीको घामछाया 

बदलिँदै गएको काया, 

आफ्नो स्मृति र प्रतिकृतिमा

आफैँलाई चिन्न गाह्रो 

भोर देखेर उठेको म

हेर्दै छु अस्ताउँदै गएको सूर्य 

हे जिन्दगी ! तेरो बदलिँदो रूप

जति हे¥यो त्यति अमुक छु म ।