
अनन्त फैलिएको मरुभूमिमा ढलेको जेसुकै होस्
आहिस्ता आहिस्ता नदेखिने हुँदै जान्छ
समयको अन्तरालमा हराएर जान्छ
सम्झन खोज्दा पनि त्यो आकृति धुमिल हुँदै गएको
रंग उड्दै गएको ब्ल्याक एन्ड ह्वाइट फोटोजस्तो
मनबाट आँखामा झ्वाट्ट नआउँदा नदेखिनेजस्तो हुन्छ
समयको अन्तराल भनेको यही हो
स्मृतिका संवेदनाहरू कमजोर हुँदै जान्छन्
शिर बर्सेको नदीमा जस्तो कुनै बेला बाढी आएका आँखाहरू
सुक्खा सुक्खा हुँदै जान्छन्
मरुभूमिमा जलकण नभएसरह ।
मरुभूमिमा पानी नपरेर के भयो र ?
कडा हावा त अनवरत अनन्त चलिरहेकै छ
हावाको बेगले हुत्याएका बालुवाका कणहरू
समयको अन्तरालमा–
सेतो कपडाको एकमाथि अर्को तहसरह बनेर
नदेखिने गरी छोपिदिन्छन्
यस्तै जस्तो नै हुन्छ समय बित्दै गएपछि
अनन्त मनको नटुंगिने सेरोफेरोमा पनि
झल्याकझुलुक देखिँदै जाने क्रममा
समयको दुई विन्दुसँग आबद्ध स्मृति
विस्मृतिसँग लुकामारी खेल्न थाल्छ
अन्ततः धुमिल हुँदै गएर धेरै त हराएर जान्छन् ।
मनभित्रको ब्रह्माण्डमा पनि अनेकौँ महासागर
एटलान्टिक महासागरको साउथएम्टन सम्झन्छन् धेरैले
नेपालीले अझ बढी
जंगबहादुरको यात्रामा बेलायतको पहिलो बन्दरगाह
विश्वले सम्झिन्छ जहाँबाट यात्रा सुरु भएको टाइटानिकको
हिउँको पहाडसँगको ठक्करमा डुब्यो मनको महासागरमा बगिरहने यस्ता हिउँका पहाड कति कति ?
कति स्मृतिका जहाजहरू तैरिएका, कति डुबिरहेका छन्
त्यो कसले सम्झिन सक्छ र ?
मान्छे आफैँले पनि सक्दैन ।
तर एक व्यक्तिलाई मनभित्र सधैँ महसुस गरिरहेको छु
देखिनै रहेको हुन्छु
उनको अगाडि पर्दा डराउने म
डरभित्रको कोमलताको पुञ्ज
त्यो पुञ्जको प्रकर्षण मैले केवल एउटै कुरा महसुस गरेँ
प्रेम–
त्यसैले होला
म उनीलाई दक्षिणकाली मन्दिरमा पूजा गरिरहेको देख्छु
कहिले देवघाटमा श्रीमद्भागवत सुनाइरहेको देख्छु
बूढानीलकण्ठको यज्ञमण्डपमा ऋषितुल्य अनुहार देख्छु
मेरो जन्मदिनमा पशुपतिनाथ लागेको देख्छु
त्यहाँ परेवालाई दाना छरेको देख्छु
बिस्कुट खान उनको शरीरमा बाँदर चढेको देख्छु
रुद्री–चण्डी लगाएको र दान दक्षिणा दिएको देख्छु
म त केही पनि होइन–
एक साधारण मामुली मान्छे विलयको यात्रा नजिक
तर जे छु उनैको पुण्यको प्रतिफल हुँ
निष्ठा र इमानसहित मुलुकलाई माया गरेर बाँचेको
महाप्रस्थानको अगाडि–
मेरो शिरमा हात राखेर भनेका शब्दहरू झंकृत छन्ः
‘मैले केही पुण्य गरेको रहेछु भने त्यो तँलाई लागोस्’ ।
शिरमा परेको उनको पुण्यको हातले गर्दा
यमराजको कालपासबाट उम्केको मान्छे म
मैले मृत्युसँग आमनेसामने भएर युद्ध लडेको छु
त्यो पुण्यको हातले मलाई छेक्दा एकपटक मरिसकेको,
मृत्युको देवता यमराज विवश भएर फर्केका थिए
त्यसैले म देख्छु, देखिरहेको छु उनीलाई
उनले दुईपटक दिएको यो जिन्दगी
यसको प्रत्येक श्वास–प्रश्वासमा
महसुस गरिरहेको छु त्यो पुण्यात्मालाई,
मेरो पितालाई ।









Facebook Comments