काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक तनावका बीच कर्णाली प्रदेशका जिल्ला सभापतिहरूले नेता पूर्णबहादुर खड्कालाई पार्टी एकता जोगाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। उनीहरूले विवादलाई थप गहिरिन नदिई विभाजनको सम्भावना रोक्न नेतृत्व तह जिम्मेवार बन्नुपर्ने धारणा राखेका हुन्।

निवर्तमान कार्यवाहक सभापतिसमेत रहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेका छन्। उक्त भेलालाई कांग्रेसभित्रको देउवा समूहको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। कर्णाली प्रदेश समितिमा देउवा समूहको प्रभाव बलियो मानिने भएकाले भेलाले पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ संकेत दिएको विश्लेषण गरिएको छ।

ad

भेलामा सहभागी नेताहरूका अनुसार उद्घाटन मन्तव्यका क्रममा खड्काले पार्टी विभाजनको अवस्था नजिक पुगेको संकेत गर्ने अभिव्यक्ति दिएका थिए। त्यसले प्रदेशका नेताहरूबीच थप चिन्ता बढाएको बताइएको छ।

सुर्खेत पुगेपछि खड्काले प्रदेश र जिल्ला तहका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। छलफलका क्रममा उनले पार्टीभित्रको विवाद गम्भीर मोडमा पुगेको र शीर्ष नेतृत्व त्यसको समाधानप्रति पर्याप्त संवेदनशील नदेखिएको धारणा राखेको सहभागी नेताहरूले बताएका छन्।

एक जिल्ला सभापतिका अनुसार खड्काले नेतृत्वको अहमता र एकपक्षीय व्यवहारका कारण पार्टी एकता जोगाउन कठिन बन्दै गएको टिप्पणी गरेका थिए। पार्टीमा लामो समय योगदान दिएका नेता–कार्यकर्तालाई उपेक्षा गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेको स्रोतको भनाइ छ।

यद्यपि, अधिकांश जिल्ला सभापतिहरूले भने विभाजनको बाटोभन्दा सहमति र संवादमार्फत समाधान खोज्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा रूपान्तरण गर्न नेतृत्वलाई आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै नेता वेदराज सिंहले कांग्रेसभित्रको आन्तरिक विवादकै कारण अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले राजनीतिक क्षति व्यहोरेको स्मरण गराए। उनले असन्तुष्टि समयमै सम्बोधन गर्न नसक्दा परिस्थिति जटिल बन्दै गएको बताए।

उनले ‘जेनजी विद्रोह’ र त्यसपछिका घटनाक्रम उल्लेख गर्दै नागरिकको असन्तुष्टि बुझ्न कांग्रेस असफल भएको टिप्पणी गरे। अब पार्टीभित्रको ध्रुवीकरण कम गर्दै व्यापक एकताका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

खड्कासँगको छलफलमा सहभागी नेताहरूले कांग्रेसभित्र गुटहरू संस्थागत बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले नेतृत्व तहले जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरे पार्टी थप संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

खड्काले भने पार्टी कठिन मोडमा पुगेकाले देशभरका नेता–कार्यकर्ताको सुझाव संकलन गर्न प्रदेशस्तरीय भेला आयोजना गरिएको बताएका छन्। तल्लो तहबाट प्राप्त सुझावका आधारमा आगामी रणनीति तय गरिने उनको भनाइ थियो।

कांग्रेसभित्र पछिल्लो समय नेतृत्व चयन, संगठन विस्तार, महाधिवेशनको तयारी तथा शक्ति सन्तुलनलाई लिएर विभिन्न समूहबीच दूरी बढ्दै गएको छ। यही सन्दर्भमा कर्णालीमा आयोजित भेलालाई आगामी महाधिवेशन लक्षित राजनीतिक शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ।