–प्रकाशचन्द्र खतिवडा

मान्छेहरू बुद्धत्वको आवरणमा 

ad

हिंसामा संलग्न छन् 

बुद्धलाई कैद गरेर 

शान्तिको राग अलाप्छन् 

म बुद्धत्वको खोजीमा 

सडकमा भौँतारिइरहेको छु 

मेरो बुद्ध !

युद्धका घाइतेसँगै चिच्याइरहेको छ । 

 

वधशालामा रेटिन्छन् पशुहरू 

मान्छे मान्छेकै हत्या गर्छ 

पड्कन्छन् बमहरू 

भूगोलसमेत सुरक्षित छैन 

मानवता रुन्छ धुरुधुरु 

इतिहास हाँस्न सक्तैन 

शोकमा डुबेको छ विश्व 

वितण्डा मच्चाउँछन् कठपुतली सरकारहरू । 

 

बुद्ध !

तिम्रो आँखामा आँसु देखेर 

शोक बोक्दैन समय 

रुँदैन मान्छे 

निर्मम प्रहार गर्छ 

तिम्रो चैतन्यमाथि 

तिम्रो मृत्युमा 

संवेदना प्रकट गर्दैन मान्छे 

युग संवेदनाविहीन भइसक्यो 

बुद्धं शरण्ां गच्छामि भन्नै सकिएन । 

 

भिक्षु अवाक् छन् 

बुद्धत्व खोसिएपछि 

कृत्रिम हाँसो हाँस्छ मान्छे 

वेदना छातीभित्रै लुकाएर 

मनहरू पग्लन सकेनन् 

बीभत्स नरसंहार देखे पनि 

बुद्ध मौन प्रार्थना गरिरहेछन 

स्वंयभूमा थुनिएर 

बुद्ध !

तिम्रो अभ्यर्थना सुनेर पनि 

मान्छे हिंस्रक बनेको हो किन ? 

 

बज्दैनन् शान्तिका नगरा 

दौडन्छन् युद्धपोतहरू 

उड्छन् बमवर्षक विमान 

धुँवाले ढाक्छ आकाश 

बग्दैन नदीमा पानी 

बग्छ रगतको खोलो

आमाहरू चित्कार फाल्छन् 

काख रित्तिएपछि 

पुछिएको छ सिउँदो 

खोसिएको छ भविष्य 

घाइते छन् तिनीहरू । 

 

नागरिक शरणर्थीजस्तो जीवन बिताइरहेछन् 

मुलुक हराएपछि 

म पीडाले छटपटिएको छु 

बुद्ध हराएपछि ।