एरिस्टोटलले एकपटक भने–

मान्छे समाजमा हुनु नै ऊ राजनीतिमा हुनु हो

ad

राजनीतिको दार्शनिक उचाइ देखाएर 

असन्तोषको लहरबाट बुर्जा भत्काउने ऊर्जा

भूउपग्रह निर्देशित भ्रान्तिको क्रान्ति 

शान्तिको उल्लासमा उडेका बेलुनहरूले गरेको क्रमभंग

यसरी जब ढेडुहरूको आगमन हुन्छ 

त्यो समाजले सधैँ नै दुःख  पाइरहेको हुन्छ ।

 

समाजवादको खुड्किलो देखाएर

ए ! आफ्नै अवादीमा शक्तिभोग गरेकाहरू हो

मुलुकलाई अझ कति बरबाद गर्न चाहन्छौ ?

पसलको फक्लेटो मात्र खुलेकोमा अत्तालिएकाहरू हो

त्यो पनि बन्द हुने डर जागृत आक्रोशमा 

धमासको ध्वाँध्वाँ कति बजाइरहन्छौ ?

 

तीन ढेडुले तीन दशक बढी देखाएको एउटै नाटक

एक–अर्काको मुख सुँघ्ने 

शारीरिक भाषामा नै संवाद गर्ने 

पुच्छरको परिवर्तन हेरेर स्थिति ठम्याउने

रगड्न सक्ने, झगड्न सक्ने 

लुक्न सक्ने, लुकाउन सक्ने

सधैँको खिचिरमिचिर कलह–सल्लाहको

तल्लो स्तरको गाली गलौजको 

यसैबीच सधैँ नै अवतरित सुलह–सल्लाह 

तर कहिल्यै एक–अर्कालाई विश्वास नगर्ने

स्वर्ग नै जान पाउने भए पनि 

 

आ–आफ्नो सुरक्षाको सर्वोच्चताको राज्य सञ्चालन 

क्षेत्राधिकारअनुसार खानपिनका लागि

सधैँको म्याउँम्याउँ, सधैँको फ्याउफ्याउ

अर्जुनदृष्टि केवल एउटै मात्र

परिवारले बाँडेर खानुपर्ने चिसो चुलोमाथिको कराहीको दूध 

मिलेर चोर्ने या आफ्नो भाग एक्लैएक्लै चोर्ने

कसरी चोरेर खाने समाजवादको खुड्किलाहरूमा ।

 

समय बदलिइसक्यो अब 

नयाँ बिहानीको उदय भइसकेको छ 

छोराछोरीहरू आएका छन् अब घर सम्हाल्न

अनवरत भइरहेको बरबादी रोक्न

हाम्रो मान्यता हो–

बूढाबूढीले घरको ताल्चा साँचो बुझाउने 

यो सन्तति दृढ छ कचरपचर पन्छाउन

त्रि–ढेडु दूध चोरी हटाउन

निस्फिक्री हिँडिरहेका आगो ओकल्नेहरूबीच 

बालसुलभ तागतका अगाडि यी आगोका फूलहरू होइनन् 

परिवर्तनको बिगुल सुन, समयमै सुन

शक्तिरूपी त्रि–ढेडु खेलबाट आर्जेको पाखण्डी महाज्ञान 

यसको पाण्डित्याइँ गर्न छोड अब

शक्तिपानको ह्याङओभरमा कति झांगिइरहन्छौ ?