ढोंगी साधु बेपारीकी छोरीप्रति आशक्त भएकाले उसले एक छिन आँखा चिम्लेर ध्यान गरेजस्तो गर्यो । धेरै बेरपछि उसले आँँखा उघार्यो । जोगीले भन्यो – ‘हे जजमान ! तिम्रो वंश रक्षाको उपाय त मैले आफ्नो दिव्यदृष्टिद्वारा देखिसकेँ । तर त्यो तिम्रा लागि कठिन हुनेछ । त्यसकारण छाडिदेऊ सबथोक भाग्यका हातमा ।’
बेपारी जोगीको अन्धभक्त थियो । ऊ ती मौनी बाबालाई अहिले वाचाल भएको देख्दा आफ्नो भाग्य ठानिरहेको थियो । त्यसले भन्यो, ‘होइन बाबा ! मलाई बताउनुहोस् म जसो भन्नुहुन्छ त्यसो गर्छु ।’
बाबाले भन्यो – ‘मैले नबताउनुको कारण के हो भने मेरो मुखबाट निस्केको कुरा तिमीले गरेनौ भने तिमी शिर फुटेर मर्नेछौ ।’
बेपारी केही डराए पनि बाबाको अन्धभक्त भएकाले वंश रक्षाका लागि साधुको आज्ञाकारीबद्ध देखिन्थ्यो । उसले भन्यो – ‘बाबा मैले मेरो शिर काटेर चढाउने आज्ञा हुन्छ भने पनि म आफ्नो वंशका लागि तत्पर हुनेछु ।’
यति सुनेपछि जोगी आश्वस्त भयो । ‘ठान्यो अब यो मेरो कामना पूर्ण गर्न तयार छ ।’
त्यसपछि जोगीले भन्यो– ‘हेर जजमान तिम्रा सारा विपत्तिको कारण तिम्रो यो अलक्षिना पुत्री हो । त्यसकारण तिम्रो दुर्भाग्यलाई सौभाग्यमा परिणत गर्ने एउटै उपाय छ । तिम्रो यो छोरीलाई सन्दुसमा हालेर त्यसमा ताल्चा मारेर त्यो कसैले नखोल्न सक्ने गरी सन्दुसलाई गंगामा बगाइदेऊ, तिम्रो कल्याण हुनेछ ।’
अन्धभक्तले मान्छे आँखा नदेख्ने हुन्छ । त्यो बेपारीले पनि छोरीलाई बगाइदिने अठोट गर्यो ।
उसले छोरी सुतेको बेलामा कुनै औषधिद्वारा बेहोस गराएर एक विशाल काठको सन्दुसमा थुन्यो । सन्दुसमाथि ताल्चा ठोक्यो, डोरी आदिले राम्ररी बाँध्यो र आधी रातमा कसैले नदेख्नेगरी आफ्ना विश्वस्त सेवकमार्फत गंगा नदीमा बगाइदियो ।
सन्दुस नदीका लहहरूसँग तलमाथि गर्दै दृष्यबाट ओझेल भयो ।
यता त्यो कामान्ध गोगीले आफ्नो कामुकताले ग्रस्त भएर आँखै देखेन । युवतीलाई उसको बाबुले गंगामा बगाइदिएपछि ढोंगी साधुले भन्यो– ‘अब तिम्रा सबै कष्ट हरण हुनेछन् ।’
उता, साधुले आश्रमका शिष्यहरूलाई भन्यो –‘तिमीहरू गंगा–तटमा बसेर हेर्नु । त्यहाँ एउटा काठको सन्दुस बगेर आउनेछ । त्यो सन्दुस तिमीहरूले पानीबाट निकाल्नु । त्यसलाई नखोलेर मेरासामु ल्याउनु । त्यसमा केही तान्त्रिक विद्याका सामग्रीहरू छन् । तिमीहरूले विनासधना खोल्यौ भने तिमीहरूको ठूलो अनिष्ट हुनेछ । त्यसकारण त्यसलाई सोझै मकहाँ ल्याउनू । तान्त्रिक विधि पुर्याएर मात्र खोल्नुपर्दछ ।
साधुको आज्ञा शिरोपर गर्दै, शिष्यहरू हिँडे गंगा किनारातिर । ती आपसमा कुरा गरेर कुर्न थाले । शिष्यहरूलाई परम उत्सुकता थियो, गुरुले कुन त्यस्तो तान्त्रिक साधना गर्न थालेछन् ? त्यो सन्दुसमा के होला ? गुरुले दैवी शक्तिका कारण थाहा पाए होलान्, सन्दुस बगेर आउँदै छ, आदि आदि ।
धेरै समय बित्यो । शिष्यहरू व्याकुल हुन थाले ।
पूर्णिमाको रात, टाढाबाट त्यो सन्दुस बगेर आइरहेको देखियो । शिष्यहरू पौडिँदै गएर पानीमा घचेट्दैघचेट्दै उक्त सन्दुसलाई किनारासम्म पुर्याए ।
सन्दुस उचाल्दा गह्रुँ लाग्यो । तर गुरुको आज्ञा उल्लंघन गरेनन् र त्यसलाई उचालेर गुरुसमक्ष ल्याइपुर्याए ।
सन्दुस देख्नासाथ गुरुका आँखामा एक टलक आयो । कामुक साधुले शिष्यहरूलाई भन्यो– ‘अब मैले अनुमति नदिउन्जेल तिमीहरू बाहिरै बस्नू । म अब गहन तान्त्रिक साधनामा बस्छु ।’
साधुले हतारहतार आकांक्षा पूरा हुन आँट्यो भनेर सन्दुस खोल्यो र सन्दुसमा हात हाल्यो ।
तर...
सन्दुस बनाएपछि बेपारी त अब सारा कष्टबाट मुक्त भएँ भनेर हिँड्यो ।
सन्दुस बग्न थाल्यो
त्यही समयमा त्यस देशको राजकुमार आफ्ना अनुचरसहित गंगा नदी किनारमा शीतल वायुको सेवन गर्न भनेर हिँडेको थियो ।
जुनेली रातमा राजकुमार अनेक कुरा गर्दै घुमिरहेको थियो ।
त्यतिकैमा गंगा नदीको तटबाट तिनीहरूले देखे कुनै वस्तु बग्दै आइरहेको छ । निकट आएपछि देखियो त्यो एक ठूलो काठको रहेछ । राजकुमाको आज्ञाअनुसार उसका अनुचरहरूले नदीमा हेलिँदै गएर सन्दुस लिएर आए । खोलेर हेर्दा बेपारीको अत्यन्त सुन्दर पुत्री मुर्छितावस्थामा सुतिरहेकी । राजकुमारलाई त्यस्ती राम्री केटीसँग एक दृष्टिमा प्रेम भयो । उसले केटीलाई होसमा ल्यो । सन्दुसमा एउटा जंगली खुंखार बाँदर हालेर बगाइदियो ।
ढोंगी साधुले सन्दुस खोल्नासाथ त्यही बाँदर उफ्रेर निस्कियो । त्यसले बाबाको कान र मुखमा टोकेर रक्ताम्य तुल्याइदियो । ढोंगी साधु ज्यान बचाएर त्यहाँबाट भाग्यो ।
यता, राजकुमारले त्यो सुन्दरी केटीसँग विधिवत् विवाह गर्यो । पछि राजा भएपछि राजकुमारले बेपारीको छोरीलाई आफ्नी पटरानी बनायो र दुवै सुख र ऐश्वर्यको भोग गर्दै दिन बिताउन थाले । ढोंगी साधु लज्जा र राजाको भयले त्यहाँबाट सदाका लागि भाग्यो ।









Facebook Comments