कुश– अति स्वच्छ, अति पवित्र, वातावरण स्वच्छ पार्ने

रूप हो, स्वरूप हो

ad

तन, मन, धनभन्दा पनि पर पितृकर्मको पवित्रता

समग्रमा, कुश प्रतीक हो विशुद्धताको 

तर कुश यदि भुस बन्यो भने 

बासी झुट भयो भने 

महत्वाकांक्षाको शिखर चढ्न

अपवित्रता निःसृत जलधारा बन्यो भने

दूषित आहाल बनेर बाहाल खाने ठाउँ बन्यो भने

निश्चलो हुनुपर्ने ठाउँबाट सधैँ किचलो निस्किरहन्छ । 

 

किचलो अतिसार भएपछि 

बोलीको गोली अभिसार

बोली र खामोसीबीचको भिडन्तमा 

जताततै भताभुंग पार्ने जोडबल

गोलबद्ध, आबद्ध, समबद्ध

यथास्थितिवाद र विनिर्माणवादबीचको

कस्तो गोलाबारी हो यो ?

कस्तो खामोसी हो यो ? 

अनि कस्तो बेहोसी हो यो ? 

 

ठुला ठुला युद्ध– 

एक–अर्कालाई नचिनेकाले होइन

चिनेका मान्छेले सुरु गर्छन्

महत्वाकांक्षाको पागल सवार भएर

तर मैदानमा त नचिनेका मान्छेहरू पंक्तिबद्ध भएका हुन्छन्

एक–अर्काको दुस्मन बनेर 

एक–अर्कोलाई मेटाउने आक्रोशमा

अन्धो भएर

महत्वाकांक्षीको पागलपनलाई बचाउन 

लाखौँ त्यसको सिकार बनेका हुन्छन् ।

 

शिखर चढ्ने शक्ति खोज्नेहरू

दुस्मनको पहिचान गर्छन् 

घोषणा गर्छन् 

मेटाउने नाममा द्वन्द्वको आगोमा घिउ थपिरहन्छन् 

शक्तिको लहनतहनमा खस्रोमसिनो त हुनै पर्छ 

तर आगोको वर्षा होइन ।

 

वैयक्तिक महत्वाकांक्षाको पागलपनमा 

ए राज्य शक्ति खोज्नेहरू हो !

मुलुकको शक्ति केवल एउटै छ

केवल एउटै मात्र छ

त्यसलाई दिग्भ्रमित पारेर आगो बाल्ने होइन 

लक्ष्य केन्द्रित बृहत्तर साझा ठाउँमा पु¥याउने हो

तर यहाँ गोली चल्ने रणमैदानमा भन्दा बढी

बोलीको गोलीको यो अहोरात्र

पागलपनको ज्वालामुखी फुटेसरह

होइन, कति आगो ओकल्छौ ?

 

कुशको ब्राह्मणसरह पुजिएको मान्छेले

दशकदेखि बुनेको सपना उडेको आक्रोशमा

भरंग बनेर कति तरंग फाल्छौ ?

दूषित प्रवाहमा मिसिएर कति परसम्म जान्छौ ? 

मैदान अपवित्र पार्नुहुँदैन  

यो करोडौँको पूजा गर्ने थलो हो । 

 

ए ! आमा अदलीबदली गर्ने हो 

आमा एउटै मात्र छ हाम्रो

एउटै हो हामी सबै नेपालीको 

त्यो कहिले फेरिन सक्दैन 

अटल छ स्वर्गसरि 

 

नगर साँघुरिएको मनबाट व्याख्या खुला आकाशको

त्यो मनले कहिले खुला आकाश देखेकै हुँदैन

स्वार्थको सानो घेराको उठतीपठतीमा अल्झिरहनेले

खुला आकाशको गहिराइमा पुग्नै सक्दैन

त्यो गहिराइसँग केवल मौनताले संवाद गरेको हुन्छ ।