काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै १९ जना केन्द्रीय कार्यसमिति सदस्य मनोनयन गरेपछि पार्टीभित्र देखिएको असन्तुष्टि र समर्थनको बहस अझै सेलाएको छैन। विशेष महाधिवेशनपछि पार्टीलाई समेट्ने उद्देश्यसहित गरिएको यो निर्णयलाई केही नेताले समावेशी अभ्यासका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रक्रियागत असन्तुष्टि जनाएका छन्।

थापाले मनोनयन गरेका अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी नभएको समूहसँग नजिक मानिन्छन्। पूर्वसभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला तथा शशांक कोइराला पक्षधर नेताहरूलाई समेत समेटिएको यो सूचीलाई कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ।

ad

नवनियुक्त केन्द्रीय सदस्यहरू भने अहिलेको अवस्थामा पुराना असन्तुष्टिलाई निरन्तरता दिनुको अर्थ नरहेको बताउँछन्। उनीहरूका अनुसार पार्टीभित्रको विवादलाई लम्ब्याउनु भन्दा अब संगठनलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्नु आवश्यक छ।

कांग्रेस नेता नैनसिंह महरले सभापतिको कदमलाई समावेशी राजनीतिक अभ्यासका रूपमा व्याख्या गर्दै कांग्रेस बहुविचार र बहुधार बोकेको पार्टी भएको बताए। उनका अनुसार विभिन्न समूहबीचको सहअस्तित्वलाई स्वीकार गर्दै आगामी महाधिवेशनसम्म संगठनलाई एकढिक्का बनाउनु अहिलेको प्राथमिकता हो।

तर, केही वरिष्ठ नेताले भने मनोनयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई कुनै परामर्श नै नगरी निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले यस्तो निर्णयले पार्टीभित्रको बृहत्तर एकता कमजोर हुने जोखिम रहेको चेतावनी दिएका छन्।

यस्तै, नेता डा. शेखर कोइरालाले पनि संस्थागत छलफलबिनाको निर्णयले पार्टीभित्र थप असन्तुष्टि बढाउने बताएका छन्। उनका निकट नेताहरूले समेत निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको टिप्पणी गरेका छन्।

तर, नवनियुक्त केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले भने अब असन्तुष्टि लम्ब्याउनुको कुनै औचित्य नरहेको बताएकी छन्। उनका अनुसार पार्टीभित्रको कानुनी र राजनीतिक विवाद धेरै हदसम्म टुंगिसकेको अवस्थामा सबै नेता एक ठाउँमा उभिनुपर्ने समय आएको छ।

उनले कांग्रेसभित्र विभिन्न विचार समूह हुनु स्वाभाविक भए पनि अब राष्ट्रिय मुद्दा र संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताइन्। 'पार्टी फुटेको होइन, फरक विचारहरू छन्,' उनले भनिन्, 'अब एकता र आगामी महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ।”'

यस्तै, अर्की नवनियुक्त केन्द्रीय सदस्य लक्ष्मी परियारले पनि कांग्रेसलाई बलियो बनाउन विश्वासको वातावरण निर्माण आवश्यक रहेको बताइन्। उनले नेतृत्व र कार्यकर्ताबीच दूरी घटाउँदै साझा उद्देश्यमा अघि बढ्नुपर्नेमा जोड दिइन्।

अर्का केन्द्रीय सदस्य जीवन परियारले भने १९ जनाको मनोनयनले मात्र पार्टीभित्रको सम्पूर्ण असन्तुष्टि सम्बोधन नहुने टिप्पणी गरेका छन्। उनका अनुसार अझै संवाद र सहमतिको प्रक्रिया आवश्यक छ। उनले नेतृत्व अझै लचिलो भएर अघि बढ्नुपर्ने सुझाव दिए।

यसैबीच, नेता चन्द्रकान्त भण्डारीले भने अहिले असन्तुष्टि कायम राखेर बस्नुको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। उनका अनुसार मनोनयन प्रक्रियाले केही हदसम्म समेट्ने प्रयास गरेको देखिए पनि अब संगठनलाई चुनावी तयारी र जनतासँग जोड्ने काममा केन्द्रित हुनुपर्ने समय आएको छ।

कांग्रेसभित्रको पछिल्लो मनोनयनले तत्कालका लागि समावेशी सन्देश दिएको देखिए पनि नेतृत्व र इतर समूहबीचको अविश्वास पूर्ण रूपमा अन्त्य भइसकेको छैन। पार्टीभित्रको शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारीसँगै यो बहस अझै केही समय जारी रहने देखिन्छ।