
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। करिब दुई घण्टा लामो छलफलपछि ट्रम्पले सीलाई 'महान् नेता' भन्दै भेटलाई सकारात्मक र प्रभावकारी भएको बताएका छन्।
चीन भ्रमणमा पुगेका ट्रम्पलाई चिनियाँ पक्षले उच्चस्तरीय सम्मानसहित स्वागत गरेको थियो। दुवै नेताले टेम्पल अफ हेभेन को संयुक्त अवलोकन गरेका थिए भने ‘हल अफ प्रेयर फर गुड हार्भेस्ट्स’ अगाडि संयुक्त तस्वीरसमेत खिचाएका थिए। यसलाई चीनले कूटनीतिक सन्देशका रूपमा प्रस्तुत गरेको विश्लेषण गरिएको छ।
तर मैत्रीपूर्ण वातावरणबीच ताइवानको विषयले वार्तामा तनावपूर्ण पक्ष पनि थपेको देखिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक अभिव्यक्तिमा सी जिनपिङले ताइवानलाई चीन–अमेरिका सम्बन्धको 'सबैभन्दा संवेदनशील मुद्दा' भन्दै यसलाई गलत ढंगले ह्यान्डल गरिए द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
सीले ताइवानको स्वतन्त्रता र ताइवान स्ट्रेटको शान्ति एकअर्कासँग मेल नखाने बताएका छन्। चीनले लामो समयदेखि ताइवान लाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पुनःएकीकरण गर्ने नीति पनि खुला राखेको छ।
ट्रम्पले भने ताइवानबारे विस्तृत टिप्पणी सार्वजनिक गरेका छैनन्। उनले आर्थिक सहकार्य, रणनीतिक स्थिरता र विश्व शान्तिका विषयमा 'उपयोगी संवाद' भएको मात्र बताएका छन्।
तनावबीच संवादको संकेत
पछिल्ला वर्षहरूमा व्यापार विवाद, प्रविधि प्रतिस्पर्धा, दक्षिण चीन सागर र ताइवान मुद्दाका कारण चीन र संयुक्त राज्य अमेरिका बीच सम्बन्ध चिसिएको थियो। यद्यपि बेइजिङ वार्ताले दुवै देश प्रत्यक्ष टकरावभन्दा संवादमार्फत सम्बन्ध व्यवस्थापन गर्न चाहिरहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
चीनले अमेरिकी चिप प्रविधिमाथिको नियन्त्रण, आर्थिक प्रतिबन्ध र सैन्य गठबन्धन विस्तारप्रति असन्तुष्टि जनाउँदै आएको छ। उता अमेरिका ले चीनको सैन्य विस्तार, मानवअधिकार अवस्था र ताइवानमाथिको दबाबलाई मुख्य चिन्ताका रूपमा उठाउँदै आएको छ।
मध्यपूर्व र इरानसँग जोडिएको चासो
विश्लेषकहरूले यो भेटलाई केवल चीन–अमेरिका सम्बन्धमा सीमित नराखी मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलनसँग पनि जोडेर हेरेका छन्। विशेषगरी इरान सँग चीनको बढ्दो सम्बन्ध र अमेरिकाको क्षेत्रीय रणनीतिका कारण वार्ता महत्वपूर्ण मानिएको छ।
ऊर्जा, तेल आपूर्ति र पूर्वाधार परियोजनामा चीन–इरान सहकार्य बढिरहेको सन्दर्भमा खाडी क्षेत्रमा सम्भावित तनावबारे पनि छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।
विश्व राजनीतिमा नयाँ संकेत
ट्रम्प–सी भेटपछि विश्व शक्ति सन्तुलन नयाँ मोडतर्फ गएको चर्चा सुरु भएको छ। एकातर्फ चीनले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गरिरहेको छ भने अर्कोतर्फ अमेरिका विश्व नेतृत्व कायम राख्ने रणनीतिमा सक्रिय देखिन्छ।
विशेषज्ञहरूका अनुसार ताइवान, दक्षिण चीन सागर, इरान, युक्रेन र व्यापारिक प्रतिस्पर्धाले आगामी दिनमा चीन–अमेरिका सम्बन्धको दिशा तय गर्नेछन्। हालका लागि भने बेइजिङमा देखिएको कूटनीतिक सौहार्दले तत्कालको टकरावको जोखिम केही हदसम्म कम भएको संकेत दिएको छ।









Facebook Comments