-वसन्त लोहनी-

जन्मिँदाको पहिलो स्पर्शले झंकृत गरेका संवेदनाहरू
त्यसैको परिवेशमा घनीभूत सेरोफेरो 
शक्तिपुञ्ज बनेर वैभव भोग्न पाएकाबाहेक
जताततै अभावैअभाव 
यस्तो अभावमा बाँचेका संवेदनाहरू  
करुणा र मायाका सुन्दर फुल बनेर हुर्किरहेका । 

ad

त्यसैले खुसीको खोला बगेको 
बागद्वारबाट निस्किँदाको चोखो पानी
अति निर्मल, अति सङ्लो, अति मिठो
मान्छेहरू पिउँथे विसर्जित नहुन्जेल
संवेदनशीलताको गोरेटोको त्यो यात्रामा 
पापको डर, अनि धर्मको भर 
कोरिएका लक्ष्मणरेखाले सन्तुलित गरेको आफ्नै समाज
यसरी जोडिएका मान्छेको साधारण जीवन पद्धति 
कम आवश्यकताहरू
बाँच्नका लागि भिरमा कुँदिएका संघर्षका गराहरू
प्राण गए पनि वचन नजाओस् भन्ने संकल्प– 
असल मान्छे हुन र असल कर्म गर्न
त्यसभित्र जेजति अभिलाषा लिएर मान्छे बाँचे 
खुसी नै खुसी साँचेर बाँचे । 

मान्छे कति फराकिलो हुन सक्नु या हुन नसक्नु 
त्यो अर्को पाटो हो जिन्दगीको
केही मात्र फराकिलो हुन सक्छन् अलि धेरैलाई अटाउने गरी
धेरैले सक्दैनन्
आफू मात्र अटाउने घेराभित्र संसार देखिरहेका
तर समग्रतामा संवेदनाहरू बाँचेको हुँदा 
खुसीको छेलोखेलो थियो ।

खुला आकाशमुनिको खुला दुनियाँ 
संवेदनशीलता हराएको बनियाको राज 
हिजो पानी पिउने सङ्लो खोलालाई ढल बनाएर
राजकुलो र ढुंगेधाराहरू पुर्दै ऐलानीमा महल ठड्याउनेहरू
संवेदनाको धड्कन ठम्याउन शोधग्रन्थ लेखिरहेका
देश–देशान्तरमा पढेको विद्वताको मिथक
महापण्डित बनेर युट्युबरको टिआरपी बढाइरहेका ।

हिजो परिवारभित्र मात्र होइन
बाटोमा कुनै मान्छे लडेको देख्यो भने पनि
हारगुहार गरेर दुई दिनको बाटो बोकेर अस्पताल ल्याउँथे 
अहिले सहरको चिल्लो फराकिलो सडकमा 
मोटरसाइकलको ठक्करले लहुलहान्त लडेको मान्छे देख्दा 
झन् चाँडोचाँडो अगाडि हिँडिरहेका 
द्रुत गतिको पदचाप पहिल्याउन
ती चाँडो हिँडिरहेकाहरूले–
गोहीको आँसुमा गरेको करुणाको व्याख्या
मुलुकलाई द्रुत गतिमा हिँडाउन उछलपुथलको संकल्प  
अनवरत जन्म–मरणको यी संकल्पहरू 
डरलाग्दो शृंखला बनेर निल्न खोजिरहेका
संवेदनाहरू हराउँदै गएको यो सहर 
मोहपालसँग मिलेर कंगाल पार्ने महीपाल
धनपाल र चन्दापाल मालामाल हुने यो समयकाल ।

संवेदनाहरू हराउँदै गएको यो सहर 
भिडभाडको सहरमा हराएको मान्छे 
हराएको मात्र होइन निसासिएको
एउटा नगण्य मान्छे, मिस्फिट या अनुपयुक्त मान्छे 
कानमा परेको फुसफुस दूषित हावा 
खुसुखुसु खानेहरूले बोलेको धावा
यस्तो हावाकावामा परेको मान्छे नै नगरिएको त्यो मान्छे
अनजान ठाउँमा अनजान मान्छेको यो यात्रा 
अझ बिन्दास यात्रामा  हिँडिरहँदा 
केही भ्रान्ति हटेको, केही शान्ति पाएको
मनभित्र कता कता केही बोध कान्ति
यो मार्मिक अनुभूति–
सहरको पाखण्डी पहिचानको हराभराभन्दा 
अनजानको सुनसान धेरै मिठो ।