
काठमाडौं । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी भएका छन् । इलाम क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार श्रम संस्कृति पार्टीका विनोद नेम्वाङलाई नौ सय ११ मत अन्तरले पराजित गर्दै कांग्रेका राई विजयी भएका हुन् ।
कांग्रेसका राईले १४ हजार ५४३ मत पाउँदा श्रम संस्कृति पार्टीका नेम्वाङले १३ हजार ६३२ मत पाए । एमालेका काजीमान कागते ११ हजार ९६६ मतसहित तेस्रो बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले नौ हजार १६० मत र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत पाएका छन् ।
इलाम क्षेत्र नं. १ मा ६४ हजार १०४ मत खसेको थियो । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
शिक्षा पृष्ठभूमिबाट राजनीतिमा आएका राई व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल अर्थशास्त्रमा एमफिएल अध्ययनरत छन् । शैक्षिक दक्षतासँगै संगठनात्मक अनुभव बटुलेका राई नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेपाली कांग्रेस इलाम १ प्रदेश ख को क्षेत्रीय सभापति समेत छन् ।
विद्यार्थी राजनीतिबाटै राजनीतिक यात्रामा होमिएका राईले शिक्षण, सामाजिक सेवा र अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक अभ्याससँग जोड्दै आएका छन् । काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्यापन गरेको अनुभवले उनलाई शिक्षा प्रणालीका समस्या र सम्भावनाबारे व्यावहारिक बुझाइ दिएको छ।
३६ वर्षको उमेरमै प्रतिनिधिसभामा विजयी बनेका राई इलामको सूर्योदय नगरपालिका–४ का स्थानीय बासिन्दा हुन् । २०५६ साल पछि लगातार एमालेले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा २६ वर्षपछि नेपाली कांग्रेस विजयी भएको हो ।










Facebook Comments