काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ प्रतिनिधिसभाको शक्ति सन्तुलन लगभग स्पष्ट भएको छ। प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

हालसम्मको नतिजाअनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै स्पष्ट अग्रता बनाएको छ। नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा छ भने नेकपा एमालेले ९ सिट र नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जित्दा एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।

ad

समानुपातिकतर्फको जारी मतगणनाअनुसार रास्वपाले ५८ सिट प्राप्त गर्ने देखिएको छ। नेपाली कांग्रेसले १९, नेकपा एमालेले १७, नेपाली कम्युनिस्ट पार्टीले ९, राप्रपाले ४ तथा श्रम संस्कृति पार्टीले ३ सिट पाउने अनुमान गरिएको छ।

यस आधारमा आगामी प्रतिनिधिसभामा रास्वपाको कुल १८३ सिट पुग्ने देखिएको छ। नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २६ र नेपाली कम्युनिस्ट पार्टीको १७ सिट हुने अनुमान छ। त्यस्तै श्रम संस्कृति पार्टीको ६, राप्रपाको ५ र एक जना स्वतन्त्र सांसद रहने छन्।

महिला प्रतिनिधित्व मिलाउनुपर्ने चुनौती

नेपालको संविधानअनुसार संघीय संसदमा कम्तीमा एक–तिहाइ महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ। “संघीय संसद” भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैलाई जोडेर महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था छ।

हाल राष्ट्रियसभामा रास्वपाको प्रतिनिधित्व शून्य भएकाले उसले प्रतिनिधिसभामै ३३ प्रतिशत महिला सांसद सुनिश्चित गर्नुपर्ने हुन्छ। रास्वपाको कुल १८३ सांसद हुने अनुमान भएकाले कम्तीमा ६१ जना महिला सांसद हुनुपर्नेछ।

अहिलेसम्म प्रत्यक्ष निर्वाचनबाट रास्वपाका १३ जना महिला सांसद निर्वाचित भएका छन्। त्यसैले समानुपातिक सूचीबाट थप ४८ जना महिला पठाउनुपर्ने अवस्था छ। निर्वाचन आयोगमा बुझाइएको रास्वपाको समानुपातिक बन्दसूचीमा ६१ जना महिला रहेकाले त्यसमध्ये ४८ जना सांसद बन्ने सम्भावना रहेको छ।

अन्य दलको अवस्था

नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिक १९ गरी कुल ३७ सिट प्राप्त गर्ने देखिएको छ। कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना महिला निर्वाचित भएकी छन् भने राष्ट्रियसभामा उसका पाँच महिला सांसद छन्। त्यसैले कांग्रेसले समानुपातिकतर्फ प्राप्त हुने १९ सिटमध्ये कम्तीमा १४ जना महिला पठाउनुपर्ने हुन्छ।

नेकपा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १७ गरी २६ सिट पाउने अनुमान छ। राष्ट्रियसभामा एमालेका सात महिला सदस्य रहेकाले उसले समानुपातिकतर्फ कम्तीमा पाँच महिला पठाउनुपर्नेछ।

प्रत्यक्षतर्फ ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकबाट ९ सिट पाउने देखिएको छ। राष्ट्रियसभामा आठ महिला सदस्य रहेकाले उसले कम्तीमा सात महिला प्रतिनिधि सुनिश्चित गर्नुपर्ने हुन्छ।

राष्ट्रियसभामा प्रतिनिधित्व नभएका श्रम संस्कृति पार्टी र राप्रपाले भने प्रतिनिधिसभामै महिला सहभागिता सुनिश्चित गर्नुपर्नेछ। श्रम संस्कृति पार्टीले समानुपातिकबाट पाउने तीन सिटमध्ये कम्तीमा दुई महिला पठाउनुपर्ने हुन्छ भने राप्रपाले चार सिटमध्ये कम्तीमा एक महिला पठाउनुपर्ने देखिन्छ।

मतगणना अन्तिम चरणमा पुगिसकेकाले नतिजामा ठूलो फेरबदल हुने सम्भावना कम रहेको निर्वाचन अधिकारीहरू बताउँछन्। यद्यपि समानुपातिक सिट बाँडफाँटमा सानो हेरफेर भने हुन सक्ने अनुमान गरिएको छ।