संवेदनशीलता–

यति धेरै प्रयोग भएको छ जताततै
सायद अझ बढी यहाँ
विनाहिच्किचावट जसले पनि प्रयोग गरिरहेका
जसरी पनि
सायद अझ बढी शासक बनेका राजनीतिकर्मीहरूले
जो सबभन्दा बढी असंवेदनशील छन् ।
 
इटलीको पुनर्जागरण युग
म्याकाभेलीले दिएको सल्लाहबाट सुरु भयो
उनले भने–
आफ्नो स्वार्थ परिपूर्तिको लागि जे गर्न पनि मिल्छ
विनाहिचकिचाहट गर्न मिल्छ
यो नै बन्यो म्याकाभेली–दर्शन
यसलाई अक्षरशः पालना गरिरहेका यहाँ
विधान संविधानलाई होइन
यति तल त गिर्न भएन भन्ने केही पनि छैन
चुइङगम चपाएको जस्तो बनाए यो शब्दलाई
जसले जति चपाए पनि हुने
अर्थहीन बनाए संवेदनशीलतालाई
बाँचेर पनि यो मरेको छ यहाँ ।
 
अ–रोमान्टिक संसारलाई रोमान्टिक बनाउन खोज्दा
स्पेनको पुनर्जागरण युग सुरु भयो
सर्वेन्टेसले जेलबाट नै सुरु गरे
साहसी काम गर्न एउटा पात्र सिर्जना गरे डन क्युसोटलाई
अर्को पात्र स्यान्चो पाञ्जालाई साथ लगाइदिए
घृणा, आक्रोश र छटपटीले हाँकेको संसार
त्यहाँका निश्छल र असहायहरूको बाँच्ने आकाक्षा
यो खिचातानीको रस्साकस्सीबाट
जतिपटकको परिवर्तन
त्यति धेरै लुटपाट
ऋणको भारी झन्झन् बोकाएर गरिएको ।

ad

आदर्शहरू मरिरहेका
सपना देख्न पाउनुपर्छ भन्ने गफमा उडाइएका चंगाहरूमा
वारिपारि अरूले हालिदिएको चंगाको कका
दायाँ–बायाँ अदली–बदली गरिदिएका ग्वाँकहरू
अदृश्य लट्टाइहरूबाट उडेका यी चंगाहरू
धागो छोड्दा पर जाने
धागो तान्दा नजिक आउने
लडाउँदा लड्नुपर्ने
फगत निर्जीव घटिया मनोरञ्जन ।

संवेदनहीन अवस्थाको कालो बादलले ढाकेको
अब त बस्ती, डबली, परिवार, घर–घरै ढाकिसक्यो
संवेदनाहरू घाइते लहुलहान्त !
यसलाई बचाएर बाँच्न चाहनेलाई अति कठिन
स्वार्थको सम्बन्ध खै के सम्बन्ध ?
स्वार्थविना सम्बन्ध नै नहुने
त्यसैले मनभित्र, मन बाहिर संघर्ष छ
भ्रम र वास्तविकताबीच संघर्ष
भ्रम र वास्तविकताबीचको यो द्वन्द्वमा
सबैतिरबाट घात भएको संवेदनशीलता ।