काठमाडौं । भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका ६ न्यायाधीशको नाम सिफारिस गर्दै परिषद्‌मा पठाएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आउँदो चैत १८ गतेदेखि अवकाशमा जाँदै छन् । परिषद्ले रिक्त हुने उक्त पदका निम्ति सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको हो । 

ad

६ न्यायाधीशको नामसँगै वतन, योग्यता, कार्यकुशलता र अनुभव, नियुक्ति तथा अवकाशको मितिसहित आवश्यक ‘डकुमेन्ट’ समावेश गरेर ‘रोस्टर’ पठाइएको स्रोतले जनाएको छ ।

न्याय परिषद्ले रोस्टर पठाएपछि प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले बैठक बसेर भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । त्यसपछि सिफारिस नाम संसदीय सुनुवाइका निम्ति संघीय संसद्‌मा पठाइनेछ ।

संसद्‌मा नाम गएपछि सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गर्छ । र, सुनुवाइ प्रक्रिया सुरु हुन्छ । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

हालसम्मको अभ्यासानुसार, संसदीय सुनुवाइ भएर नियुक्त हुन समय लाग्ने भएकाले न्याय परिषद्ले एक महिनाअघि नै प्रधानन्यायाधीशका निम्ति योग्य व्यक्तिहरूको रोस्टर संवैधानिक परिषद्को सचिवालयमा पठाउने प्रचलन छ ।

भावी प्रधानन्यायाधीशको रोलक्रममा मल्ल अगाडि छन् । त्यसपछि क्रमशः रेग्मी, फुयाल, शर्मा, सुवेदी र श्रेष्ठ प्रधानन्यायाधीशको रोलक्रममा छन् ।