
आफूले महसुस गरेको र आमाले बताएको
विलुप्त भएका सम्झनाको प्रवाह
मूल फुटेको जस्तो भएर अनवरत आइरहेका
ती संवेदनाहरू मुटुले मात्र महसुस गरेको होइन,
आँखाहरूले पनि देखिरहेका
जसरी चित्रहरू नटुंगिने गरी क्रमबद्ध छन्
आइरहेका, भर्खरको जस्तो गरी देखिइरहेका
अवाक् म, मौनताभित्र केही खोजिरहेको
म जान्दिन के खोजिरहेको ?
सायद जिन्दगीलाई टटोलिरहेको ।
कति लडँे, कति लडेँ
जति उठ्न खोजे जिन्दगीमा त्यति नै लडेँ म !
बरन्डाको भित्ता र डन्डीको आडमा
आलोपालो गरेर हिँड्दा
लड्दा उठाइदिने,
रुँदा काखामा राखेर सुमसुम्याइदिने
यसै क्रममा–
तल गोठमा गाईले पराल खाएको र उग्राएको हेरिरहँदा
पहिलोपल्ट कसैको आड नलिएर हिँड्दा
जिन्दगीको सबभन्दा ठूलो विजय हासिल गरेको
३०–३५ जना सँगै बस्ने त्यो घरको बरन्डामा
हिँड्दाहिँड्दै भान्छामा राखेको नाङ्लो गुडाउन थालँे
काठको बरन्डामा सकीनसकी गुडाउँदा
नाङ्लोसँगै कतिपल्ट लड्थेँ म
आमाले नाङ्लो थुतेर बरन्डामाथि घुसार्दा
कुरा बुझ्दा पनि अवाक् बनेर हेरिरहन्थेँ
बोली अझै फुटिसकेको थिएन
त्यतिबेला घरमा नयाँ दुलहीको आगमन भयो
१२ वर्षकी मेरी कान्छी काकीको
बोली फुट्दै जाँदा लय समातेर बोली निस्क्यो–
बुवा, आमा, दिदी, दादा र कान्छी भाउजू ...
दिदीहरूको सम्बोधन सुनेर कान्छी भाउजू भन्थेँ
कान्छी काकी सधैँ कान्छी भाउजूको सम्बोधनमा
काठ र इँटको दुई बरन्डासँग लहरै जोडिएका कोठाहरू
यही दौडँदै, भित्र–बाहिर गर्दै करिब १० वर्ष बिते
यी माया गर्नेहरूसँग लरबर गरेर बिताएका क्षणहरू
सफा बागमती, सिधा धाराबाट खाएको पानी
जिन्दगीको सबभन्दा उन्मुक्त खुसी
एक थलामा नबस्ने म कहिले ढिकी चलाउन,
त कहिले जाँतो घुमाउने प्रयत्नमा
रामायणमा सुनेको धनु–बाण बनाउने,
त कहिले बारीको रुखको टुप्पोमा घर बनाउने धुनमा
समातेर ल्याउनेमा मेरी कान्छी भाउजू नै
अँध्यारो भएपछि बत्ती बाले पनि पूरै घर अँध्यारो
तारमा झुन्डिएका चिममा बलेका बत्ती
चिमसम्म पनि नदेखिने प्रकाशविहीन
आटको डिलमा राखेको टुकीको उज्यालोमा
मिसिएको भुसेचुलीमा बलेका छेस्के दाउराको उज्यालो
कान्छी भाउजूले पकाएको मिठो तरकारी
हेरिरहेको हुन्थेँ म कहिले पाक्ला भनेर
ढलौटे सानो कचौरामा मैले चाख्न पाउँथे
कहाँको चम्चा पाउनु ?
सुरुप्प पार्ने, अनि रहेकालाई जिब्रोले तान्ने
त्यो स्वाद जिब्रोमा अझै गढेको छ
३१ वर्षअगाडि माघ १८ गते–
मैले आफ्नो आमा गुमाएको थिएँ
३१ वर्षपछाडि यो माघ १८ गतेकै दिन–
मैले आफ्नो कान्छी भाउजू अर्थात् कान्छी काकी गुमाएँ
अघिल्लो पुस्ताको आखिरी निशानी गुम्दा
एउटा सिंगो युग नै अन्त्य भएको छ
गुमाउँदै जाने जिन्दगीमा स्मृति अझै गुमेको छैन
मानसपटलमा सँगालिएका ममताको जीवन्त चित्रपट
नरोकिएर आँखाअगाडि आइरहेका छन्
म के गर्न सक्छु र ?
वर्षको तीनपटक एक अँजुली पानी दिनेशिवाय
र, कामना गर्छु त्यो पुण्यात्माको शान्तिपूर्ण वैकुण्ठ यात्राको ।









Facebook Comments