काठमाडाैं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको तत्कालिन नेकपा माओवादीका नेता कुमार पौडेल ६ वर्ष अघि सर्लाहीमा भएको ’इन्काउन्टर’ मारिएको घटनामा तत्कालीन गृहमन्त्रीदेखि इलाका प्रहरीका इञ्चार्जसम्मलाई फौजदारी मुद्दा अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले शुक्रबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध फौजदारी अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो । सर्लाही जिल्ला प्रहरी कार्यालयमा तत्कालीन गृहमन्त्री थापा, तत्कालीन आईजीपी खनालसहित १२ जनाविरूद्ध जाहेरी दर्ता भएको थियो । २०७६ असार ५ गते चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

ad

राजनीतिक कार्यक्रम सकेर फर्कँदै गर्दा लालबन्दी–१ लखन्ती खोलामा भएको भिडन्तमा परी कुमारको मृत्यु भएको प्रहरीको दाबी छ । तर चन्द समूहले भने पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएको छ । कुमारकी आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री थापा, तत्कालीन आइजिपी खनाल, तत्कालीन प्रदेश-२ का डिआईजी हरिबहादुर पाल, सर्लाहीका तत्कालीन सिडिओ कृष्णकुमार राउत र तत्कालीन एसपी गोपालचन्द्र भट्टराईविरूद्ध जाहेरी दिएकी थिइन् ।