जेनजी आन्दोलनसँगै आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर सरकार गठन भएपछि नयाँदेखि पुराना तथा साना र ठूला सबै राजनीतिक दलहरू चुनावअगाडि नै महाधिवेशन घोषणा गर्दै नयाँ नेतृत्वका साथ चुनावमा होमिने तयारी गरेका छन् । व्यवस्था परिवर्तनको लामो यात्रामा अग्रज पुस्ताको योगदान अतुलनीय र अविस्मरणीय छ, तर दशकौँदेखि एकै पुस्ताको वरिपरि घुमिरहेको दलको नेतृत्व र तिनीहरूलाई लाग्ने गरेको कुशासन, भ्रष्टाचार र बेथितिको कारण  जेनजी विद्रोह भएको जगजाहेर छ । ‘जेन–जी आन्दोलन’ युवा विद्रोहले स्थापित नेतृत्वप्रतिको घोर असन्तुष्टि स्पष्ट रूपमा प्रकट गरिसकेको सन्दर्भमा, अब पुस्तान्तरणबाहेक अरू विकल्प हुनै नसक्ने सबैको चाहना छ । 

नेपालका मुख्य राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत सबैजसोमा पुरानो पुस्ताले नेतृत्व ओगट्ने र दोस्रो÷तेस्रो पुस्तालाई पालो समय पर्खाउने प्रवृत्तिले गहिरो जरा गाडेको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त पार्दै, अध्यक्ष वा सभापति सर्वशक्तिमान हुने र अरू सबैले उहाँहरूकै ‘कृपा’मा बाँच्नुपर्ने संरचनाले गर्दा नयाँ सोच, ऊर्जा र भिजन भएका युवाहरू कि त पलायन हुन बाध्य छन्, कि त ‘पुरानो पुस्तालाई रिझाउने’ दौडमा सीमित भएका छन् ।

ad

०८४ मंसिरसम्म कार्यकाल रहेको प्रतिनिधिसभा विघटन भई २ वर्ष अगाडि नै निर्वाचन घोषणा भएपछि दलहरूलाई त्यसअगाडि नै महाधिवेशन गर्न दबाब बढेको छ । एमालेले मंसिर २७ देखि २९ सम्म ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ भने कांग्रेस, रास्वपा र राप्रपाभित्र महाधिवेशन केन्द्रित बहस चलिरहेको भए पनि मिति टुंगोे लागेको छैन । चुनावअगाडि नै नेतृत्व परिवर्तन गरेर जानुपर्ने बहस नयाँ तथा पुराना पार्टीहरूमा देखिँदा पार्टीहरूमा अवरुद्ध पुस्तान्तरणको क्रम जेनजी आन्दोलनले खोलिदिएको विश्लेषण समेत भइरहेको छ । जेनजी पुस्ताको विद्रोहले राजनीतिक दलहरूको पुरानो नेतृत्वलाई सक्रिय राजनीतिक जिम्मेवारीबाट अवकाश लिएर अभिभावकीय भूमिका निर्वाह गर्न सन्देश दिए पनि अझै केही राजनीतिक दलहरूमा पुस्तान्तरणको विषय गौण रहेको छ । लामो समयदेखि राजनीतिक दलहरूको नेतृत्वमा पुस्तान्तरणको बहस चलिरहेको भए पनि पुरानो नेतृत्व हत्तपत्त छाड्न तयार भने देखिएका छैनन् । 

पछिल्लो समय राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरणको बहस चर्किरहँदा पनि पुराना नेताहरूले आफ्नो स्थान सुरक्षित राख्न विभिन्न बहाना बनाइरहेका छन् । दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउन र भावी नेतृत्व तयार पार्न पुस्तान्तरण अत्यावश्यक छ भन्ने कुरा पुराना नेतृत्वले बुझ्नु जरुरी छ । विभिन्न राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व हस्तान्तरण नगरी नयाँ सोच र ऊर्जाको अवमूल्यन गर्नु दुर्भाग्यपूर्ण कुरा हो ।  सत्ता, सम्पत्ति र अवसरमा दशकौँदेखि एकाधिकार जमाउँदै आएका नेताहरूले अब स्वेच्छाले पद त्याग गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु अहिलेको टड्कारो आवश्यकता बन्न पुगेको छ । सूचना प्रविधिमा दक्ष, विश्व परिवेशसँग सुपरिचित र नवीन सोचले भरिपूर्ण रहेका अहिलेका युवा पुस्ताको सहभागिताबिना देशले गतिशील नीति र कार्यशैली अपनाउन सक्दैन कुरालाई मध्यनजर राखेर राजनीतिक दलहरूले नयाँ पुस्तालाई अवसर दिन अब कुनै बहानामा ढिलाइ गर्न हुँदैन । 

जेनजी पुस्ताको विद्रोहपछि प्रमुख दलहरूभित्र पार्टी पुनर्गठनको सशक्त आवाज उठेको छ । सरकारमा पटक–पटक सहभागी भएका नेपाली कांग्रेस, नेकपा एमाले  लगायतका दलभित्र पार्टी पुनर्गठनको माग जोडतोडले उठ्न थालेको छ । विकसित घटनाक्रमलाई राम्रोसँग विश्लेषण गरी आफ्नो कमजोरीको समीक्षा गरी गल्तीप्रति आत्मालोचित पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरेर नयाँ ढंगले नयाँ पिँढीको भावना, उनीहरूको सोच र चिन्तनलाई समेट्दै अगाडि बढ्नुपर्छ । अब पनि दलहरूले संगठनात्मक सुधार गर्दै युवा नेतृत्वको उत्थान गरी पार्टीलाई पछिल्लो विश्व परिवेशको दिशामा अगाडि बढाउन नसके उनीहरूको राजनीतिक भविष्य सुरक्षित नभएको ठोकुवा गर्न सकिन्छ । केही नेताहरूमा पुस्तान्तरण हुँदा आफ्नो पद जान्छ, अवसर जान्छ भन्ने चिन्ता देखिएको छ । परिवर्तन र नवप्रवर्तनका संवाहक युवाहरूले पनि सिद्धान्त र विचारको धरातलमा उभिएर नयाँ एजेण्डासहित अगाडि बढनु जरुरी छ । अहिले देशमा रोजगारी, सुशासन, आर्थिक समृद्धि र समान अवसरको खाँचो रहेको अवस्थामा नयाँ पुस्ताले पनि ठोस नीति र योजनासहितका कार्यक्रमहरू अगाडि बढाउन सके उनीहरूमाथिको विश्वास अझ बढ्नेमा दुई मत हुन सक्दैन । 

अहिलेको युवा पुस्ता सूचना प्रविधिमा दक्ष, विश्वव्यापी परिवर्तनप्रति सचेत र नवीन सोचले भरिएको छ । उनीहरू ‘पालो पर्खेर बस्ने’ मानसिकतामा छैनन्, बरु पारदर्शिता, उत्तरदायित्व र इमानदारीको माग गरिरहेका छन् । हालै भएका ठूला राजनीतिक उथलपुथलले स्पष्ट संकेत दिएका छन् कि अब दलहरूले यी मागलाई टालटुले सम्बोधनले मात्र पुग्दैन, आधारभूत रूपान्तरण गर्नैपर्छ ।

शीर्ष नेतृत्वको जिम्मेवारी अब आफ्नो ‘गौरवमय इतिहास’लाई सम्मानसहित राख्दै, मार्गदर्शक अभिभावकको भूमिकामा सर्नु हो । पार्टीलाई एउटा व्यक्ति विशेषको सम्पत्ति नभई सामूहिक, गतिशील र लोकतान्त्रिक संस्थाका रूपमा विकसित गर्न स्वेच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ । यदि राजनीतिक दलहरूले समयको यो कठोर आवाजलाई बेवास्ता गरिरहे भने, दलभित्रको अविश्वास र निराशा बढ्दै जानेछ, र यसले अन्ततः लोकतन्त्रको जग नै कमजोर बनाउनेछ । पुस्तान्तरण केवल उमेर फेर्ने विषय होइन, यो सोच, कार्यशैली र राष्ट्रप्रतिको दृष्टिकोण फेर्ने महाअभियान हो । नेपाली राजनीतिको अबको भविष्य यही निर्णायक कदममा निर्भर हुने पक्का छ ।