काठमाडौं । भदौ २३ र २४ को जेनजी विद्रोहपछि परिवर्तित परिस्थितिमा २ वर्षअगाडि नै यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । संविधानमाथि विभिन्न कोणबाट चुनौती आइरहेका बेला यसको रक्षा र कार्यान्वयनका लागि यसपटकको निर्वाचनमा लोकतन्त्रवादीको जित अपरिहार्य छ ।

नेपालमा राणाशासन, पञ्चायती व्यवस्थाजस्ता निरंकुश, जहांनिया र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा त्यति सजिलो थिएन । हजारौँको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षा केवल लोकतन्त्रवादीबाट मात्र हुन सक्ने विगतका घटनाक्रमहरूले प्रमाणित गरेका छन् । लोकतन्त्रको विकल्प अझ परिमार्जित लोकतन्त्र मात्र हुन सक्छ । आफूलाई लोकतन्त्रवादी दाबी गर्दैमा कुनै पनि व्यक्ति वा दललाई लोकतन्त्रवादी मान्न सकिन्न र त्यस्ता व्यक्ति र दलबाट लोकतन्त्रको रक्षा हुने विश्वास गर्न सकिन्न । अहिले पनि कतिपय दल आफूलाई लोकतन्त्रवादी भन्ने तर अहिलेसम्म बनेका संविधानहरूमध्ये सबैभन्दा लोकतान्त्रिक मूल्यमान्यता समावेश भएको र जननिर्वाचित संविधासभाले निर्माण गरेको संविधानलाई मास्न उद्यत छन् । वर्तमान संविधानमा कतिपय त्रुटि हुनसक्छ ।

ad

अभ्यासको क्रममा त्यसता केही त्रुटिहरू सतहमा आएका पनि छन् । तर कुनै एक पार्टीले चाहेर मात्र मुलुकको संविधान संशोधन हुन सक्दैन । प्रमुख राजनीतिक दलहरू संविधानको पुनरावलोकन गर्न एकमतजस्तै भएका छन् । निर्वाचनपछि संविधानको पुनरावलोकन गर्ने र समयानुकूल परिमार्जन गर्ने कुरालाई सबै दलले उच्च प्राथमिकतामा राख्नु आवश्यक छ । संशोधनको नाउँमा जनतालाई प्राप्त अधिकार र स्वतन्त्रता सीमित गर्ने, नागरिक सर्वोच्चता कुन्ठित गर्ने र राष्ट्रिय एकतालाई प्रतिकूल असर पार्ने कार्य कदापि हुनुहुँदैन । परिमार्जनको मौका छोपेर संविधानलाई आफ्नो अनुकूल पार्ने र लोकतन्त्रात्रिक  गणतन्त्रको भविष्यमा आघात पु¥याउने चेष्टा विभिन्न कोणबाट हुन सक्छ । लोकतान्त्रिक शक्ति कमजोर भएमा त्यस्तो तत्वले मौका छोप्न सक्छन् । त्यसकारण चुनावमा नागरिकहरूले सुन्दा मिठो लाग्ने नाराको पछाडि नलागेर कसले जितेमा लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यता सुरक्षित रहन सक्छ र भविष्यमा देशको पद्दति र संविधान अझ लोकतान्त्रिक हुन सक्छ भन्ने ठम्याएर मात्र मतदान गर्नु आवश्यक छ । 

विगतका निर्वाचनहरूमा हामीले कतिपय अवाञ्छित व्यक्तिहरूले पनि निर्वाचन जितेको देखेका छौँ । त्यस्ता व्यक्तिको चयनले निर्वाचन प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुन्छ । जनतालाई चुनावको अधिकार प्रदान गरेको नै नागरिकहरूले विवेकपूर्ण निर्णय गर्दछन् भन्ने विश्वासले हो । दलहरूका आफ्ना सीमित स्वार्थ हुन्छन् । लोकतन्त्रमा दलबाहेकका व्यक्तिलाई पनि निर्वाचन लडेर उच्च स्थानमा पुग्ने अधिकार रहन्छ । व्यक्तिका स्वार्थ दलको स्वार्थभन्दा बढी खतरनाक र सीमित हुन सक्छ । विगतको अनुभवले पनि यो तथ्य प्रस्ट गरिसकेको छ । मतदाताहरू कतै दलका कारणले र कतै व्यक्तिका कारणले सही ठाउँमा मतदान गर्न चुकेका छन् ।

उपयुक्त दल र योग्य व्यक्तिले कम मत पाउने तथा नियत खराब भएका, व्यक्तिगत स्वार्थका लागि राजनीतिमा लागेका, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रपति कुनै मोह नभएका, अवाञ्छित र आपराधिक तत्वले नागरिकको अज्ञानता र सरलताबाट लाभ उठाई चुनाव जित्ने गरेको घटना बारम्बार दोहोरिने गरेको छ । आज देश जुन प्रकारको जटिल अवस्थामा पुगेको छ र राजनीतिक वातावरण जसरी खलबलिएको छ, यस परिवेशमा मतदाताहरूले राम्ररी विचार गरेर मात्र मतदान गर्नु आवश्यक छ । देश आज असामान्य अवस्थामा छ, देशमा अस्थिरता सृजना गर्न विभिन्न रूपमा संगठित र असंगठित रूपमा व्यक्ति र समूहहरू सक्रिय भएको हामी सबैको अनुभव छ । जेनजी आन्दोलनको नाममा कहालीलाग्दो वातावरण सृजना गरेर अवाञ्छित तत्वले लोकतन्त्र र संविधानको घाँटी रेट्ने र मुलुकलाई अझ संकटमा धकेल्ने प्रयत्न गरेको सर्वविदितै छ । 

राष्ट्रपति रामचन्द्र पौडेल र लोकतन्त्रप्रति निष्ठावान् राजनीतिक दलहरूको कारणले लोकतन्त्र र संविधान बडो जुक्तिले जोगिएको छ । निर्वाचनपश्चात् संविधानलाई लिकमा ल्याएर जनभावनाअनुकूल परिमार्जन गर्दै लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आसन्न निर्वाचन परिणामले निर्णायक योगदान दिन सक्छ । यसका लागि मतदाताहरूले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूलाई अत्याधिक मतले विजयी गराउनुको विकल्प छैन ।