
सहिद ती हुन् जसले देश र जनताको अधिकारका लागि बलिदान दिए । व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा निकै माथि उठेर जसले आफूलाई बलिबेदीमा चढाए, अहिले हामीले उपर्योग गरिरहेको लोकतन्त्र र मानवअधिकार त्यसैको उपज हो । तर, मुलुकमा पछिल्ला आठ दशकमा पटकपटक जनताले अधिकार प्राप्तिका लागि आन्दोलन गरिरहनु पर्यो र सयौँ सपुतहरूले सहादत प्राप्त गर्नुपर्यो । आन्दोलनमा नागरिकहरूले बगाएको रगत, पसिना र सहिदहरूले दिएको बलिदानीको सम्मान नै आजको मुख्य आवश्यकता हो ।
नेपालको इतिहासमा विसं १९९७ साल एउटा यस्तो मोड थियो, जहाँ शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले जहानियाँ राणा शासनको क्रुरताविरुद्ध आफ्नो प्राणको आहुति दिएर स्वतन्त्रताको बीउ रोपेका थिए । आज हामीले उपभोग गरिरहेको बोल्ने, लेख्ने, मत दिने र नागरिक अधिकारको प्रयोग गर्ने स्वतन्त्रता तिनै वीर सहिदहरूको बलिदानको जगमा उभिएको छ । १९९७ देखि २०८२ सम्म आइपुग्दा मुलुकमा पटकपटक आन्दोलन भएका छन् र कयौँले ज्यान गुमाएका छन् । ती सबै सहिदहरूको सम्झनामा बर्सेनि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । सहिद दिवस केवल पात्र र मिति सम्झिने दिन मात्र नभई नयाँ पुस्तालाई हाम्रो गौरवशाली संघर्षको इतिहास र स्वतन्त्रताको मूल्य बोध गराउने अवसर पनि हो । तर, विडम्बनाको कुरा, राज्यस्तरबाट मनाइने सहिद दिवस पछिल्ला वर्षहरूमा केवल औपचारिकता र कर्मकाण्डी भाषणमा खुम्चिँदै गएको छ, जसले गर्दा सहिदका सपनाहरू अझै अधुरै रहेको जनगुनासो चुलिएको छ ।
इतिहासको कालखण्डमा २०१७ सालपछिको निरंकुश पञ्चायती व्यवस्था विरुद्धको लडाइँ र २०४६ सालको जनआन्दोलनमा ज्यान गुमाउनेहरूसम्म ‘सहिद’ शब्दको एउटा गरिमा र ओज कायम थियो । तर, लोकतन्त्र र गणतन्त्रको बहालीपछि राजनीतिक स्वार्थका लागि जो–कोहीलाई पनि सहिद घोषणा गर्ने परिपाटीले यस पवित्र शब्दको अवमूल्यन भएको छ । १० वर्षे सशस्त्र द्वन्द्व र त्यसपछिका विभिन्न राजनीतिक आन्दोलन वा दुर्घटनामा ज्यान गुमाउनेहरूलाई पहुँच र दबाबका भरमा सहिदको सूचीमा राख्दा वास्तविक सहिदहरूको बलिदानमाथि अन्याय भएको महसुस आमनागरिकले गरिरहेका छन् । सहिदको परिभाषालाई सस्तो बनाइनुले ‘सहिद’प्रतिको श्रद्धा र सम्मानमा ह्रास आएको विषय अहिले सर्वत्र चर्चा र चिन्ताको विषय बनेको छ ।
वास्तवमा सहिद दिवस अतीतप्रति श्रद्धा व्यक्त गर्ने, वर्तमानप्रति जिम्मेवार बन्ने र उज्ज्वल भविष्यप्रति प्रतिबद्धता जनाउने संकल्पको दिन हो । सत्ताको लुछाचुँडी र व्यक्तिगत स्वार्थमा रुमल्लिएको वर्तमान राजनीतिले सहिदहरूले देखाएको त्याग र निष्ठाको सतमार्गलाई बिर्सिएको भान हुन्छ । यदि सहिदका सपना पूरा गर्ने हो भने औपचारिकताको घेराबाट बाहिर निस्केर उनीहरूले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाज निर्माणमा जुट्नु आजको आवश्यकता हो । सहिदको रगतले सिँचेको यो धर्तीमा शासन गर्नेहरूले जबसम्म सहिदका आदर्शलाई व्यवहारमा उतार्दैनन्, तबसम्म सहिद दिवसले सार्थकता पाउन सक्दैन ।
सहिदहरूले कुनै एक दल वा व्यक्ति विशेषका लागि आफ्नो ज्यानको आहुती दिएका होइनन् । सहिदहरूले सिंगो मुलुक, जनताका हितका लागि र समाज रूपान्तरणका लागि ज्यान अर्पण गरेका हुन् । राणाशासनको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म कैयन् सहिदहरूले ज्यानको आहुती दिएका छन् । गएको भदौ २३–२४ को जेनजी विद्रोहले पनि सहिदहरूको संख्या थपिदिएको छ । पछिल्ला वर्षहरूमा सहिदको मापदण्ड र संख्याबारे सरकार समेत अनभिज्ञ छ । कस्तालाई सहिद मान्ने भन्नेबारेमा सरकारपिच्छे फरकफरक मापदण्ड बनाउने गरिएको छ । गह्रुँगो सहिद शब्दलाई सस्तो बनाउने र १० लाख रुपैयाँमा तुलना गर्ने गलत परिपाटीले प्रश्रय पाएको छ । विभिन्न कालखण्डका सरकारले हचुवाको भरमा र सडक आन्दोलन गरेको भरमा सहिदको संख्या बढाउने गरेको देखिएको छ । राज्य कोषबाट १० लाख लिनकै लागि सहिद घोषणा गरेर सहिदको अवमूल्यन गरिएको छ ।
सहिदले देखेको न्याय र समानताको सपना अझै पनि पूरा भएको छैन । मुलुकको स्वतन्त्रता र रक्षाका लागि जीवन अर्पण गर्ने सहिदहरू वास्तवमै महान हुन् । सहिदका तस्बिरमा अबिर फूलमाला लगाएर, गुणगान गाएर मात्र सहिदको सम्मान हुँदैन, उनीहरूले देखेको सपना व्यवहारमा उतार्न सकेमा सहिद र सहिदका परिवारप्रति सच्चा सम्मान हुनेछ । सहिदहरूको बलिदानलाई नीति, आचरण र शासन प्रणालीमा प्रतिविम्बित गर्नु जरुरी छ । वीर सहिदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व हो । सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकासको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने कुरामा जिम्मेवार राजनीतिक दलहरूले हेक्का राख्नु जरुरी छ ।










Facebook Comments