देशकै सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको पुसको अन्तिम साता भएको दोस्रो विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्वमात्रै परिवर्तन गरेन, पार्टीमा लामो समयदेखिको अन्योल र द्वन्द्वलाई अन्त्य गर्दै नयाँ ऊर्जा र बदलिएको रूपसहित एकताको स्पष्ट सन्देश पनि दियो । विशेष महाधिवेशन प्रक्रियामा देखिएका बहस र मतभेदलाई विधि र प्रक्रियाअनुसार नै निरूपण गरेर मुलुकमा परिवर्तनको बाहक नेपाली कांग्रेस नै हो र परिवर्तनलाई संस्थागत गर्ने पार्टी पनि नेपाली कांग्रेस नै हो भन्ने सन्देश पनि कांग्रेसले दियो । कांग्रेसको नवनिर्वाचित नेतृत्वले निर्णय प्रक्रियामा सबै पक्षलाई समेट्दै स्पष्ट कार्यदिशा तय गर्दै आगामी राजनीतिक यात्राप्रति साझा प्रतिबद्धता कायम गरेर पार्टीभित्र नयाँ आशा पैदा गरेको छ । विशेष महाधिवेशनले पार्टी विभाजन गर्छ भन्ने जुन डरको खेती गरिएको थियो, त्यसलाई त महाधिवेशनले निस्तेज ग¥यो नै बरु महाधिवेशनपछि कांग्रेस थप बलियो भएर जनताका माझ गएको छ । विशेष महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि भनेकै पार्टीभित्रका मतभेदलाई खुला बहसको माध्यमबाट संस्थागत रूपमा व्यवस्थापन गर्नु हो । विशेष महाधिवेशन कांग्रेसका लागि कसैको जित हारको रूपमा नभई पार्टीलाई नयाँ रूप र ढंगले अगाडि बढाउने अवसर बन्न पुगेको छ । 

विशेष महाधिवेशनपछि नेतृत्वले अब कांग्रेस गुटको होइन, पार्टीका आमसदस्य र आमनेपालीको पार्टी हो भन्ने स्पष्ट सन्देश दिएको छ । महाधिवेशनपछि कांग्रेसले एकमतले जेजस्ता निर्णय गरेको छ, त्यसले त अब कांग्रेमा कुनै गुट छैन, कांग्रेस एक ढिक्का छ भन्ने पनि देखाएको छ । एकताबद्ध कांग्रेस, बलियो लोकतन्त्र यही सन्देश जनतासमक्ष पुर्याउने जुन प्रण कांग्रेसले गरेको छ, यसले फेरि पनि जनताको आशा र  भरोसा जित्न सक्नेमा दुईमत हुन सक्दैन । विशेष महाधिवेशनपछि नेतृत्वले दिएको एकताको सन्देश, संगठन सुदृढीकरणको प्रतिबद्धता र जनमुखी राजनीतिक कार्यदिशाले कांग्रेसलाई आगामी चुनाव र राष्ट्रिय राजनीतिमा थप सक्षम बनाउनेछ । 

ad

अब कांग्रेसको वास्तविक परीक्षा सुरु भएको छ । महाधिवेशनका निर्णय कार्यान्वयन भएनन् भने, एकताको सन्देश व्यवहारमा देखिएन भने, पुरानै गुटगत राजनीति दोहोरियो भने, यो एकता क्षणिक मात्र हुनेछ । त्यसैले पार्टी नेतृत्व संयम, सहकार्य र जिम्मेवारीका साथ अगाडि बढ्नु जरुरी देखिन्छ । विशेष महाधिवेशनपछि नेपाली कांग्रेस केवल संगठनात्मक रूपमा मात्र होइन, मनोवैज्ञानिक र राजनीतिक रूपमा पनि झन् बलियो बनेको छ । यसलाई दिगो बनाउन अब पार्टी नेतृत्व, कार्यकर्ता र समर्थकहरू सबैको साझा दायित्व हो । पार्टीका केही नेताहरूको अनुहार अझै पनि उज्यालो हुन सकेको छैन । भदौ २३ यता जे जति परिवर्तन भए, ती परिवर्तनलाई सहज रूपमा स्वीकार गरेर अब पार्टीमा आरोप–प्रत्यारोप बन्द गरेर संवाद, सहमति र सहकार्यको बाटो रोज्नु अहिलेको आवश्यकता होे । पार्टी नेतृत्वले पनि सबैलाई समेट्ने, सुन्ने र निर्णयमा सहभागी गराउने संस्कार देखाएर अगाडि बढनु श्रेयस्कर हुनेछ ।