
नेपालको संघीय राजधानी काठमाडौं र उपत्यकाको वायु प्रदूषण बढ्नाले काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा निरन्तर शीर्ष पाँच स्थानमा पर्नाले यहाँका बासिन्दाहरूमा स्वासपश्वासको समस्या गम्भीर रूपमा देखापर्न थालेको स्वास्थ्यविज्ञहरूले बताइरहेका छन् । यसवर्ष हिउँदमा पानी नै नपरी सुक्खा बढ्दा यसरी वायुप्रदूषण बढेको वातावरणविद्हरूले बताउँछन् । बर्सेनि हिँउदमा सुक्खा बढ्दा काठमाडौंको प्रदूषण यसरी बढेको विगतका उदाहरणहरू पनि प्रशस्त छन् । वनजंगलमा लाग्ने डढेलो, अव्यवस्थित पूर्वाधार निर्माणका साथै सडकमा गुड्ने पुराना सवारीसाधनको धुवाँका कारण वायुमण्डलमा हानिकारक कणहरूको मात्रा बढ्ने गरेको छ भने हावाको गुणस्तर सूचकांक (एक्युआई)ले पनि खतराको संकेत गरिरहेको छ । वायु प्रदूषण केवल वातावरणीय समस्यामात्रै नभई जनस्वास्थ्यसँग सम्बन्धित गम्भीर विषय पनि हो । हावामा मिसिएका अति सूक्ष्म कणहरूका कारण श्वासप्रश्वासको माध्यमबाट फोक्सो र रक्तसञ्चार प्रणालीसम्म पुग्ने हुनाले दम, मुटुरोग, क्यान्स र मस्तिष्कघातजस्ता समस्या निम्तिने चिकित्सकहरू बताउँछन् । त्यसैले चिकित्सकहरूले अहिले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सल्लाह दिँदै वायु प्रदूषणबाट जोगिन स्वयं सचेत हुनसमेत भनेका छन् ।
काठमाडौं उपत्यकामा बढ्दो प्रदूषणका कारण आँखा पोल्ने, घाँटी दुख्ने र छालाका समस्याहरू त अहिले आमनागरिकको दैनिकी नै बनिसकेकाले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू प्रत्यक्ष जोखिममा परेकाले राज्यले प्रदूषण नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ । वायु प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता, अर्थतन्त्र र समग्र पर्यावरणीय सन्तुलनलाई गम्भीर रूपमा असर गरिरहेको छ । विशेष गरी सहरहरूमा गाडीबाट निस्कने धुवाँ, उद्योग तथा कारखानाबाट निस्कने विषाक्त ग्यास, फोहोर जलाउने र निर्माण कार्यबाट उड्ने धुलोले वायु प्रदूषणलाई झन्झन् बढाएको छ । काठमाडौं उपत्यका र तराई मधेसका जिल्ला वायु प्रदूषणको हटस्पट बन्न पुगेका छन् । काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पिएम २.५)को मात्रा निकै बढेको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा चिन्ताजनक प्रदूषक भनेको हावामा उड्ने २.५ माइक्रोनभन्दा साना कणहरू हुन् ।
वायु प्रदूषण बिहान–बेलुकाको चिसोको समयमा उच्च हुने गरेको पाइएको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण अहिले वायु प्रदूषण उच्च देखिएको छ । वायु प्रदूषणले वातावरणीय सन्तुलन बिगार्दै जलवायु परिवर्तनलाई पनि तीव्र बनाइरहेको छ । नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको पहिलो प्रमुख कारक हो । वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजारजनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको छ । एक अध्ययनका अनुसार नेपालमा वायु प्रदूषणका कारण मानिसहरूले अकालमै मृत्युवरण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखिएको छ । संविधानको भाग ३ धारा ३०(१)मा ‘प्रत्येक (नेपाली) नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने’ र धारा ३०(२) मा ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने’ प्रावधान छन् । नागरिकलाई स्वच्छ वातावरणको प्रत्याभूति गराउने कानुन पनि छ । संविधानमै स्वच्छ वातावरणलाई जनताको मौलिक हक मानेको, नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता स्वीकार गरेको, त्यसअनुरूप कानुन बनेका र राजनीतिक दलहरूले घोषणापत्रमा वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेको भए पनि कार्यान्वयनमा भने सुस्तता देखिएको छ ।
तीनै तहका सरकार तथा विभिन्न वातावरणीय संस्थाहरूले वायु गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू अघि बढाउनु अहिलेको टड्कारो आवश्यकता हो । यो समस्या समाधानका लागि अझ प्रभावकारी नीतिगत सुधार पनि जरुरी छ । यसका साथै, नागरिक स्तरमा पनि वातावरणीय सचेतना बढाउनु र प्रदूषण नियन्त्रणमा सहकार्य गर्नु पर्ने देखिन्छ । वायु प्रदूषण न्यूनीकरणसम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौं वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रूपमा अग्रस्थानमा रहेको छ । वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आमनागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुन्छ । संविधानमा उल्लेख स्वास्थ्यको हक सुनिश्चितताका लागि भएका नियम कानुन कडाइका साथ कार्यान्वयन गर्दा पनि धेरै हदसम्म प्रदूषण नियन्त्रणमा आउनेछ । वायु प्रदूषण नियन्त्रणका लागि सरकारले प्रभावकारी नीति र योजनाहरू बनाई कार्यान्वयनमा जोड दिनुपर्छ । बर्सेनि हिउँद र प्रि–मनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको अवस्थामा यसको न्यूनीकरणका लागि मुलुकभर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति अपनाउँदै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको छ ।










Facebook Comments