काठमाडौं । गत कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहित १० वाम घटकबीच एकता भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टी घोषणा भएपछि सो एकतामा नगएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’समेतले माओवादी–समाजवादीलगायतको एकतालाई ‘पुरानै नेताहरूको सत्ताकेन्द्रित सम्झौता’को रूपमा व्याख्या गर्दै युवाकेन्द्रित दल निर्माणको अभियानमा जुटेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिबाट बहुमतको बलमा एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने निर्णय गराएपछि असन्तुष्ट बनेका उपमहासचिव शर्माले त्यसपछि प्रगतिशील राष्ट्रिय अभियान सुरु गरेका थिए । प्रचण्डसँगको सम्बन्धमा उनको विगत केही वर्षयता खटपट चल्दै आएको थियो । गत महाधिवेशनमा महासचिवको आकांक्षी रहेका शर्मालाई  पन्छाउन प्रचण्डले अर्का नेता वर्षमान पुनलाई काखी च्याप्दै आएका थिए । पुन र शर्मालाई भिडाएर उनले महासचिवमा देव गुरुङलाई नियुक्त गरेका थिए । त्यसयता प्रचण्डसँग जनार्दनको सम्बन्ध चिसो बन्दै आएको थियो । 

ad

घनश्याम भुसाल एकीकृत समाजवादी गठन हुँदा सो पार्टीमा नगए पनि ०७९ मंसिरको संघीय संसद्को निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनी एकीकृत समाजवादीमा समाहित हुँदै महासचिव बनेका थिए । अहिले अध्यक्ष माधव नेपालले माओवादीसँग एकीकरण गर्ने निर्णय गरेपछि भुसाललगायत केही नेताले असहमति जनाए । तीमध्ये रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमाले प्रवेश गर्ने तयारीमा छन् । 

यता, माओवादीबाट सुरुमा मोहन वैद्यसँगै चोइटिएका विप्लवले त्यसको केही समयपछि वैद्यसँगको सहकार्यलाई तोड्दै नयाँ भूमिगत पार्टी गठन गरेका थिए । अघिल्लोपटक केपी ओली प्रधानमन्त्री रहेका बेला उनको पार्टीले सरकारसँग केही सम्झौता गरेर पुनः शान्तिपूर्ण मूलधारमा फर्किएको थियो । विप्लव नेतृत्वको नेकपा पनि वाम मोर्चासँग सहकार्य गर्न तयार देखिए पनि अन्तिममा सहकार्यमा नगएको अवस्थामा तीनै धारबीचको संवाद निर्णायक मोडमा पुगेको हो । 

तीन नेताबीचको सहमतिले नेपालको वाम राजनीतिमा नयाँ सहकार्य र विचारगत पुनर्संरचनाको संकेत देखिएको छ । लामो समयदेखि विभाजित र गुटबन्दीग्रस्त रहेको वाम आन्दोलनलाई नयाँ वैचारिक बाटोतर्फ लैजाने उद्देश्यसहित तीन नेताले संयुक्त अभियान सुरु गर्ने घोषणा गरेका हुन् ।

शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लवको निवासमा भएको भेटपछि तीन नेताबीच मुलुकको वर्तमान राजनीतिक गतिरोध, वाम आन्दोलनको भविष्य र वैकल्पिक राजनीतिक मार्गबारे विस्तृत छलफल भएको थियो। छलफलपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार हो । राष्ट्रमाथि चौतर्फी संकट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी र प्रगतिशील देशभक्तहरूले बृहत् मोर्चाबन्दीका लागि पहल गर्न आवश्यक भएको छ ।’

तीन नेताहरूले आफ्नो सहकार्यलाई ‘विचारगत एकता’को पहिलो चरणका रूपमा व्याख्या गरेका छन् । उनीहरूले तत्काल पार्टी एकीकरण होइन, साझा विचार, दृष्टि र अभियानमार्फत् वाम आन्दोलनलाई पुनः जनमुखी र उत्तरदायी बनाउने लक्ष्य लिएका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘पुराना राजनीतिक दल र तिनका नेताहरूले संकट ढाकछोप गर्न आफ्नो वर्चस्व जोगाउने प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा नयाँ पुस्ता, प्रगतिशील शक्ति र विचारमा विश्वास गर्ने सबैले एकताबद्ध हुन आवश्यक छ ।’

घनश्याम भुसालका अनुसार, विगतमा भएका सहकार्य र संवादलाई अब नवीकरण गरेर नयाँ राजनीतिक अभ्यास सुरु गर्न खोजिएको हो । जनार्दन शर्माले भने आफ्नो अभियानलाई ‘विचारका आधारमा निर्मित आन्दोलन’का रूपमा व्याख्या गरे । उनका अनुसार, ‘विप्लवको संगठनात्मक अनुशासन, भुसालको वैचारिक स्पष्टता र आफ्नो राजनीतिक अनुभव’ मिलेर एउटा नयाँ दिशा दिनेछ ।

विप्लवले भृकुटीमण्डपमा आयोजित जनसभामा पनि कम्युनिस्ट पार्टीहरूबीच सच्चा वैचारिक एकता आवश्यक रहेको बताएका थिए । उनका अनुसार, ‘क्रान्तिको नाममा भएका विगतका सम्झौता, विभाजन र भ्रमबाट मुक्त भई अब जनमुखी राजनीतिको अभ्यास गर्नुपर्ने समय आएको छ ।’

विप्लव, भुसाल र शर्माको सहकार्यलाई वाम राजनीतिमा ‘नयाँ विचारकहरूको अभियान’का रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार, यो गठबन्धन तत्काल सत्ताका लागि होइन, वाम आन्दोलनको पुनर्संरचना र नयाँ पुस्तालाई जोड्ने रणनीतिमा केन्द्रित हुनेछ ।

नेपालमा कम्युनिस्ट आन्दोलन बारम्बार फुट–जुटको दोहोरो यात्राबाट गुज्रिएको इतिहास छ । ०७५ सालमा एमाले–माओवादीको एकता ‘स्वार्थको गठबन्धन’का रूपमा विफल भएको स्मरण अझ ताजा छ । त्यसैले नयाँ सहकार्य सफल हुनका लागि तीन नेताहरूले वैचारिक स्पष्टता र संगठनात्मक पारदर्शितामा जोड दिनुपर्ने विश्लेषकहरूको सुझाव छ । तीन नेताको सहकार्यले नेपाली वाम राजनीतिमा वैकल्पिक ध्रुवको संकेत दिएको छ । उनीहरूको ‘कम्युनिस्ट विचारकहरूको अभियान’ अहिले विचार, वैचारिक एकता र जनसंघर्षलाई केन्द्रमा राख्ने प्रतिबद्धता बोकेर अघि बढेको छ ।

तर, यो सहकार्यले दीर्घकालीन रूप लिन सक्छ वा पुनः विगतका फुट–जुटको भाग बन्नेछ भन्ने कुरा उनीहरूको राजनीतिक आचरण र नयाँ पुस्ताप्रति देखिने व्यवहारमै निर्भर रहनेछ । आलोचकहरूले भने यसलाई मूल पार्टी छाडेकाहरूको अभियानबाहेक केही होइन भनेका छन् ।