काठमाडौं । पुराना दल र तिनका नेतालाई एकोहोरो गाली गर्दै राष्ट्रिय राजनीतिमा स्थापित हुने र आसन्न चुनावपछि ठूलो दल बनेर देश हाँक्ने दाबी गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उच्च तहका नेताहरूले जसरी चुनावी अभियानको नेतृत्व गरिरहेका छन्, त्यसले उनीहरूलाई नै अप्ठेरो पर्न थालेको छ, जसका कारण नेता र कार्यकर्तामा पार्टीप्रति वितृष्णा बढ्दै गएको छ। नयाँ नेपाल बनाउने उद्घोष गर्ने नेतृत्वपंक्ति नै आर्थिक अनियमिततामा डुब्दै विधि र पद्धतिलाई समेत लत्याउँदै अगाडि बढेको आरोप लगाउँदै केही प्रभावशाली नेताहरूले चुनावको मुखमा पार्टी परित्याग गरेपछि रास्वपामा ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

एकपछि अर्को गर्दै नेताहरूले पार्टी छाड्ने क्रम जारी रहेपछि यसको गम्भीर समीक्षा हुनुपर्ने आवाज रास्वपामा उठिरहेको छ ।
पछिल्लोपटक रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिँदै कांग्रेस प्रवेश गरेकी छन् भने अर्की महिला नेत्री खेमकुमारी भुर्तेल (उर्मिला), बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पनि नेताहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

ad

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमान केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत रहेको भन्दै पार्टी परित्याग गरेकी हुन् । उनले राजीनामापत्रमा भनेकी छन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ । तर, आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु ।

संगठनमा दिनरात खटिएका क्षमतवान् घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु ।’ शर्मा केही दिनअगाडि कांग्रेस प्रवेश गरिसकेकी छन् । 

यस्तै, रास्वपाको संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेमकुमारी भुर्तेल (उर्मिला) ले पनि पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी छन् । राजीनामापत्रमा उनले लेखेकी छन्– ‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार । आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निःस्वार्थ भावले निरन्तर योगदान पु¥याउँदै आएकी छु। तर, पार्टी विधि–विधानविपरीत चाप्लुसीवाद र आर्थिक वादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको छ। जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेकी छु।’

रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् । उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका हुन् । उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । रास्वपाका नेता एवम् प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी प्रणयशमशेर राणा, श्री कुँवरलगायतले पनि रास्वपामा सुशासन, आर्थिक पारदर्शिता र जवाफदेही नारामा मात्र सीमित भएको आरोप लगाउँदै पार्टी परित्याग गरिसकेका छन् र पार्टी परित्याग गर्नेहरू नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् । 

केन्द्रीय नेतादेखि स्थानीय नेताहरूले नै पार्टी छाड्ने क्रम चलिरहँदा रास्वपा बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका नगरसभापति सञ्जीव यादव र देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले पनि रास्वपा परित्याग गरेका छन् । चौधरी तिनै व्यक्ति हुन् जो २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका थिए । बारामा त्यसअघि नै क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिकाका सभापति मनोज साह र गढीमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले पनि पार्टी छाडेका थिए । रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पनि पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेका थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको तथा नेतृत्व नीतिभन्दा ‘आशीर्वाद’ का आधारमा चयन हुन थालेको आरोप लगाएका छन् । त्यसो त गत असोज महिनामा नेतृत्वपंक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै रास्वपाका केन्द्रीय तहका सन्तोष परियार र सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेका थिए ।