काठमाडौं । हुन्छ / हुँदैन, हुन्छ/ हुँदैन भन्दाभन्दै अन्ततः प्रतिनिधि सभाको चुनाव निर्धारित समयमै फागुन २१ गते हुने नै भयो । निर्वाचन आयोगले चुनावको लागि भौतिक साधनस्रोतलगायत आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ भने मौसमले पनि अवरोध नगर्ने भएको छ । केही समयअघिसम्म आफ्नै लागि प्रतिकूल परिणाम आउने सम्भावना देखेर चुनावमा भाग नलिने दाउ हेरिरहेका दल र अदालतमा मुद्दा हालेर चुनाव रोकिने वा आफ्नो अनुकूल फैसला आउने आशा गरेर बसेका नेताहरू पनि परिस्थितिको दबाबसामु विवश भएर चुनावमा होमिएका छन् । दलहरूको प्रचार अभियान अन्तिम चरणमा पुगेको छ । चुनाव पर्यवेक्षक एवं विश्लेषकहरू सम्भावित परिणामको अनौपचारिक रूपमा निष्कर्षमा पुग्दै छन् ।

यसपल्टको चुनाव प्रचार मूलतः ‘नयाँ कि पुरानो’ भन्ने विचारमा केन्द्रित रह्यो । पुराना दलहरूले विगत वर्षहरूमा निभाएको भूमिका सन्तोषजनक रहेन, हरेक राजनीतिक परिवर्तनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, जनतालाई अधिकार सम्पन्न गराउन ठूलो त्याग, तपस्या र बलिदान गरेको, लोकतन्त्रको स्थापना–पुनस्र्थापना, विकास र विस्तारमा सर्वाधिक योगदान गरेको, देशको दिगो विकास र अर्थतन्त्रलाई नयाँ दिशा दिएको पार्टी नेपाली कांग्रेस नेतृत्वको कतिपय अदूरदर्शी, अपारदर्शी तथा सिद्धान्त र नीतिविपरीतका कार्यहरूले गर्दा असन्तोष र आलोचनाको भूमरीमा परेको थियो भने ‘कम्युनिस्ट’ नाम राखेर जनताको मत बटुल्ने चलाखी गरी आएका नेकपा एमाले र तत्कालीन माओवादी पार्टी सत्तामा भएका बेला गरेका सिद्धान्तविहीन, भ्रष्टाचारमूलक र अहंकारयुक्त कार्यहरूले बदनाम भएका थिए । एमाले नेतृत्वको सरकारको समयमा भदौ २३–२४ मा भएको जेन्जी विद्रोहको नाममा भएको नरसंहार, दमन, आगजनी, लुटपाट, तोडफोडजस्ता अकल्पनीय घटनाहरूले गर्दा एमाले नेतृत्व जनताबीच मुख देखाउन समेत नसक्ने अवस्थामा पुग्यो । त्यसैले जनताले कुनै नयाँ दल खोज्नु स्वाभाविक थियो । जनताको मनोभाव बुझेर ‘मौकामा चौका हान्ने’ ध्येयले नयाँ दल खोल्न थरीथरीका व्यक्ति र समूह अघि सरे । केहीले खोले, केही त्यसै थन्किए । तर कुनै पनि नयाँ दलले मतदाताको विश्वास जित्ने आधार अझै देखिएको छैन । 

ad

यो परिवेशमा नेपाली कांग्रेसभित्र भएको विद्रोह–तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले देशभरि नयाँ वातावरण सिर्जना ग¥यो ।  पुरानो नेतृत्वको असक्षमता, बदनामी र सत्ताका लागि जोसँग पनि सम्झौता गर्ने प्रवृत्ति र भ्रष्टाचारजन्य कार्यमा संलग्नताको कारण शीर  निहु¥याउन परेका लोकतन्त्रवादीहरूलाई त्यो विद्रोहले जुरुक्कै उठायो । नयाँ नेतृत्वले गरेको साहस संकल्प र सक्रियताले कांग्रेसजनलाई उत्साहित र एकताबद्ध गरायो । त्यसका साथै उनीहरूले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारा दिएर नेपाली कांग्रेसलाई पुरानो इतिहास भएको नयाँ पार्टीमा रूपान्तरित गरे । 

यो स्थिति निर्माण गर्न गगन र विश्वप्रकाशले अन्य दलहरूबाट मात्र हैन आफ्नै पार्टी र नेताहरूबाट समेत अनेक चुनौतीको सामना गर्नुप¥यो । उनीहरूलाई विफल पार्न र तेजोबध गर्न विभिन्न षड्यन्त्र र चक्रव्यूह रचिए । तर उनीहरूले सुझबुझ संयम र साहस प्रदर्शन गरेर ती षड्यन्त्र र चक्रव्यूहलाई असफल पार्दै पार्टीलाई विजयउन्मुख गराउन सफल भएका छन् । मतदाताहरू पुराना दलहरूसँग वाक्कदिक्क भएको अवस्थाबाट लाभ लिन आफू नै ‘नयाँ पार्टी’ भएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी निकै उत्साह र आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ । गत निर्वाचनको मुखमा गठन भएको र त्यस चुनावमा आशा गरिए भन्दा बढी मत पाएर चौथो स्थानमा आएको दल पुराना दलका नेताप्रति आक्रोश बढेको अवस्थामा झन् बढी आशा गर्नु अस्वाभाविक होइन ।

आक्रमक चुनाव शैलीले उसलाई निकै चर्चित बनायो । केही दिनअगाडिसम्म रास्वपा पहिलो पार्टी बन्ने सम्भावना देखिएको थियो । तर त्यो लहर क्रमशः सेलाउँदै गएको छ । पुराना पार्टीको विकल्प खोज्नेहरू मूलतः रास्वपाले उचालेको भ्रष्टाचार विरोधी नाराले उसप्रति आकर्षित भएका हुन् । यसका लागि उनीहरू रवि लामिछानेले सहकारी ठगेको कुरालाई गौण मान्न तयार थिए । उनीहरूलाई तत्कालीन सरकार, केपी ओली र कांग्रेसले प्रतिशोध साँध्न फसाएको र थुनेको भ्रम थियो । तर बिस्तारै रविले स्वदेश र विदेशमा गरेका अनेक काण्ड, नक्कली शरणार्थी बनेर अमेरिका गएको र त्यहाँ पनि बहुविवाह, ठगीलगायत विभिन्न गैरकानुनी काम गरेको, त्यहाँको अदालतले उनी उनीविरुद्ध फैसला गर्दै जरिवानासमेत तोकेको तथ्य गोप्य रहेन । अहिले यहाँ चुनावमा मतदाताले निर्वाचित गरे पनि तत्काल सत्तामा जान मात्र हैन सांसदको हैसियतले संसद्मा पस्न पनि नपाउने, प्रधानमन्त्री सुशीला कार्कीसँग हारगुहार गरेर महान्याधिवक्तामार्फत मुद्दा फिर्ता लिन लगाउने प्रपञ्च गरे पनि अदालतले त्यसो गर्न अस्वीकार गरिदिएको सबैले थाहा पाइसकेका छन् ।

तीन दिनअघि मात्र पनि कास्कीका सहकारी पीडितहरूले रवि लामिछानेविरुद्ध सार्वजनिक रूपमा ज्ञापनपत्र दिएका छन् । यसबीच उनका अरू नेताहरू पनि विवादमा परेका छन् । उक्त पार्टीले करोडौँ रुपैयाँमा टिकट बिक्री गरेको र पार्टीका कार्यकर्ताहरूलाई पन्छाएर अपराधी, तस्कर र व्यापारीहरूलाई टिकट दिएकाले त्यस पार्टीभित्र अहिले ठूलो खैलाबैला चलेको छ । यसरी टिकट बिक्री गरिएको कुरो अडियोमार्फत नै सार्वजनिक भएको छ । टिकट बिक्री प्रकरणमा पार्टीका प्रवक्ता र रवि लामिछानेका सर्वाधिक विश्वासपात्र नेता मनीष झा संलग्न रहेको त्यही पार्टीका कार्यकर्ताले भण्डाफोर गरेका छन् । हेक्का रहोस्, झा तिनै व्यक्ति हुन् जसले भदौ २४ गते नख्खु जेलबाट रविलाई भगाउन मुख्य भूमिका निभाएका थिए । रविपछिका दोस्रो व्यक्ति डीपी अर्याल पनि त्यसमा संलग्न थिए ।

टिकट बाँड्दा ‘जान्नेलाई छान्ने’ नारा दिने रास्वपा अहिले नयाँ–नयाँ लफडामा फसेको छ । उसले धनुषाको २ नम्बर क्षेत्रमा पार्टीका स्थानीय नेता दिनेश साहुलाई पन्छाएर डाँका मुद्दा झेलेर भर्खरै छुटेका रामविनोद यादवलाई टिकट दिएको छ । पहिले एमालेमा रहेका यादवलाई पार्टी प्रवेश गरेकै दिन रास्वपाले टिकट दिएको हो । यसका लागि यादवले डेढ करोड रुपैयाँ झालाई दिएको रहस्य सोही पार्टीका नेता साहुले खोलेको अडियो नै बाहिर आएको छ । त्यस्तै, सर्लाहीका एक क्यासिनो खेलाडीले दुई करोड झालाई बुझाएर घण्टीको टिकट हात पारेको चर्चा छ ।

त्यस्तै, सर्लाहीमा अमरेशकुमार सिंहले ठूलो थैली बुझाएर आफू र अन्य दुईजनालाई टिकट दिलाएको बताइन्छ । त्यस्तै, घण्टीको टिकट नपाएको भए अमरेशले स्वतन्त्र वा अन्य पार्टीबाट गगनविरुद्ध उम्मेदवारी दिने हिम्मत नै गर्ने थिएनन् भन्ने स्थानीयहरू चर्चा गर्दछन् । 

रास्वपाले सुन काण्डमा परेका व्यक्तिहरूलाई समेत टिकट दिएको खुलेको छ । यस सन्दर्भमा सुनसहित रंगेहात विमानस्थलमै पक्राउ परेका स्याङ्जाका (पर्यटन बोर्डका पूर्वसीईओ) धनञ्जय रेग्मीले टिकट हत्याएकोमा उक्त पार्टीभित्र तीव्र आक्रोश छ । त्यस्तै, ३८ किलो सुनकाण्डका अभियुक्त चेतन भण्डारीकी श्रीमती नितीमा भण्डारीले सर्लाहीबाट टिकट पाएकी छिन् । 

आफूसँग पैसा लिएको तर प्रारम्भिक निर्वाचन नै नगराई मनपरी टिकट बाँडेकोमा रुष्ट भई प्रणयशमशेर राणाले पार्टी नै परित्याग गरेका छन् । रास्वपाका संस्थापक सदस्यमध्येका राणाले गत निर्वाचनमा घण्टीबाटै उम्मेदवार बनी काठमाडौं ५मा पाँच हजार मत ल्याएका थिए । यस्ता कतिपय कारणले रास्वपाका विभिन्न तहका कार्यकर्ताहरू ठूलो संख्यामा रास्वपा त्यागेर कांग्रेस प्रवेश गरिरहेका छन् ।  

जेन्जी आन्दोलनको नाममा सिंहदरबारसहित विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरू धेरैलाई रास्वपाले शरण दिएको छ । त्यस्तामध्ये नौजनाले विभिन्न जिल्लाबाट टिकट नै पाएका छन् ।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि तिनीहरूमध्ये नौजना जेल जान सक्ने जानकार सूत्रले देशान्तरलाई बताएको छ । भनिन्छ, चुनावअगाडि प्रतिवेदन सार्वजनिक भएमा रास्वपालाई निकै क्षति हुने भएकाले प्रधानमन्त्री सुशीला कार्कीले चुनावपछि मात्र प्रतिवेदन बुझ्ने भएकी छिन् । 

स्थापनाको तीन वर्षभन्दा बढी हुँदा र सत्तामा गएर आफ्नै ढंगले शासन चलाइसक्दा पनि आफ्नो राजनीतिक–सैद्धान्तिक कित्ता स्पष्ट गर्न नसक्नु रास्वपाको अर्को कमजोरी हो । देशको संविधानबारे पनि उसको प्रतिबद्धता प्रस्ट छैन । यस्तो पार्टीप्रति बौद्धिक समूदाय ढुक्क हुन सकेको छैन । 

उग्र र उत्तेजक कुराले सर्वसाधारणलाई केही समय आकर्षित गरे पनि धेरै समय अलमल्याउन नसकिने रहेछ भन्ने घण्टीप्रति बढ्दो निराशाले पुष्टि गर्दछ । काण्डैकाण्डमा मुछिएका नेताले अर्को पार्टी र नेतामाथि आरोप लगाउँदा उल्टो परिणाम हुनु स्वाभाविक छ । सारांशमा हालको चुनावमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र रास्वपाबीच हुनेछ । एमाले तेस्रो बन्ने लक्षण छ ।

जनताको आजको मुख्य चाहना सुशासन, भ्रष्टाचारबाट मुक्ति, रोजगारी र निर्भीक भएर आफ्नो अधिकार प्रयोग गर्न पाउने वातावरणको निर्माण हो । कांग्रेसको नयाँ नेतृत्वले यसको विश्वसनीय ग्यारेन्टी दिएको छ । सभापति गगन थापाले सार्वजनिक मञ्चबाट आफ्नो नेतृत्वमा सरकार बनेपछि शक्तिशाली आयोग बनाएर २०४६ सालयता सत्तामा बस्ने सबैको सम्पत्ति छानबिन गरिने, नेता र नातालाई पनि नछोडिने र शेरबहादुर देउवा तथा आफ्नो पनि छानबिन गरिने घोषणा गरेका छन् । देश विकास र कानुनहरूको सुधारको सन्दर्भमा आफूहरूले विशेषज्ञहरूसमेत राखेर सात वर्षदेखि निरन्तर खटेर भविष्यको योजना बनाएको एवं त्यसलाई इमानदारी र दृढताका साथ लागू गर्ने जानकारी दिँदै आफूहरूले गरेको काम प्रत्येक महिना सार्वजनिक गर्ने वचन दिएका छन् । थापा नेपाली कांग्रेसको सभापति हुनासाथ अबदेखि सत्ताभन्दा सिद्धान्तलाई महत्व दिने प्रतिज्ञा गर्दै नेता र कार्यकर्ताहरूको प्रवृत्ति र काम गर्ने शैलीमा परिवर्तन हुने विश्वास दिलाएका छन् । यस्ता अनेक कारणले गर्दा चुनावमा कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने र सभापति गगन थापा प्रधानमन्त्री हुने सम्भावना बढ्दै गएको छ ।