काठमाडौं। विशेषगरी युवा पुस्ताले उठाएको सुशासन, विकास, पारदर्शितासहित ठूला दलहरूमा परिवर्तनको मागलाई आत्मसात् गरी मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दललाई आमजनताको मागअनुसार रूपान्तरण गरेर चुनावमा होमिएको नेपाली कांग्रेसको नयाँ नेतृत्वले देशभर जसरी चुनावी माहोल सिर्जना गर्‍यो र बदलिएको कांग्रेसले देश बदल्न जुन संकल्पसहित चुनावी अभियान सुरु गर्‍यो, त्यसले परिवर्तन चाहेका युवा पुस्तादेखि सबै उमेर समूहका व्यक्ति र मतदाताको मन जित्दै गएको पाइएको छ । चुनाव प्रचार–प्रसारका क्रममा कांग्रेसका नेता र उम्मेदवारहरू जहाँ–जहाँ पुगेका छन्, उनीहरूले पाएको प्रतिक्रिया र साथले कांग्रेसको नेतृत्वलाई समेत ऊर्जा मिलेको देखिएको छ ।

विशेष महाधिवेशनबाट सभापति चुनिएका युवा नेता गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले ‘जनताको चाहनाअनुसार पार्टी बदल्यौँ, अब देश पनि बदल्छौँ’ मात्रै भनिरहेका छैनन्, देश बदल्ने खाका नै प्रस्तुत गरिसकेका छन् । विगतमा भएका कमजोरी र सफलताको जिम्मेवारी लिएर अरूलाई दोषारोपण नगरी जनतासँग नजिकिने गगन–विश्वको अभियान र रणनीतिलाई विपक्षी दलहरूले समेत प्रशंसा गरेका छन् । केही नयाँ पार्टीहरूले ‘पुराना सबै खराब, नयाँ सबै ठीक’ भन्ने भाष्य निर्माण गरी जनतासँग भोट मागिरहेका बेला कांग्रेसले त्यो भाष्यलाई पनि चिर्न सफल भएको छ । ‘पुराना सबै खराब, नयाँ सबै ठीक भनेर जसरी प्रचार गरिएको छ, त्यसमा विश्वास नगर्नुहोला, पुरानाबाट केही कमजोरी भए होलान्, अब हामी ती कमजोरी दोहोर्‍याउने छैनौँ, नयाँ भनिएकाहरू पनि दूधले नुहाएका छैनन्, काण्डैकाण्डले घेरिएका छन्’ कांग्रेस सभापति थापाले भनेका छन् ।

ad

गगन–विश्वको प्रयासले कांग्रेस बदलियो विशेष महाधिवेशनमार्फत । उनीहरूले नेतृत्व मात्रै बदलेनन्, पार्टीको रणनीति र कार्यनीति पनि बदले । विगत सात वर्षदेखि प्रोजेक्ट गभर्मेन्टमार्फत गरिएको गृहकार्यलाई घोषणापत्रमा समेटे, कहाँ–कहाँ समस्या छन्, त्यसको पहिचान गरे, के–के गर्न सकिन्छ भनेर घोषणापत्र लेखे । अन्य दलहरूको तुलनामा कांग्रेसले ल्याएको घोषणा वस्तुपरक, व्यावहारिक र देशका लागि आवश्यक रहेको भन्दै जनस्तरबाटै प्रशंसा भइरहेको छ ।

अहिले कांग्रेसका नेताहरू चुनाव प्रचारका क्रममा देश दौडाहामा छन् । पछिल्ला केही दिनदेखि त सभापति थापा र उपसभापति शर्माले एकै दिन विभिन्न जिल्लाका आमसभालाई सम्बोधन गरिरहेका छन् । गगन र विश्व जहाँ पुग्छन् त्यहाँ जनसागर उर्लिएको छ । 

अरू दलहरूले चुनावमा भोट माग्नकै लागि विभिन्न पपुलिस्ट नारा बेचे पनि गगन र विश्वले यथार्थपरक र जनचाहनाको मात्रै कुरा गरिरहेका छन् । गगनले भनेका छन्– हामी देश सम्हाल्छौँ, देशलाई फेरि दुर्घटनामा पर्न दिँदैनौँ । गगनले जे भनिरहेका छन्, विश्वले पनि त्यसैलाई साथ दिइरहेका छन् । चुनाव जित्न मात्रै होइन, हामी देश बनाउन आएका हौँ, देश बनाउँछौँ, तपाईंहरूले चाहेको जस्तै गर्छौं, विश्वले भनिरहेका छन् । 

कांग्रेसको चुनावी मोर्चाको नेतृत्व गरिरहेका उपसभापति शर्माले त प्रधानमन्त्रीका उम्मेदवार भनिएका नेताहरूका बीचमा अझै पनि बहस गराउन आग्रह गरिरहेका छन् । ‘होली पर्व मनाउँदै पनि बहस गर्न सकिन्छ’, उनको भनाइ छ । उनले चुनावपछि स्थिरताका लागि सूत्र पनि दिएका छन् । ‘आउनुहोस् छलफल गरौँ, चुनावपछि एउटा पार्टीले ५ वर्ष सरकार चलाउने प्रतिबद्धता व्यक्त गरौँ, ठूलो दललाई सरकार चलाउन दिन कांग्रेस तयार छ, तपाईंहरू तयार हो ?’ उनले अन्य दलहरूलाई प्रश्न गरेका छन् ।

आमजनताको चासोदेखि संविधान संशोधनका विषयलाई यथार्थपरक रूपमा प्रस्तुत गरिरहेका गगन थापा र विश्वप्रकाश शर्माकै भनाइ र गराइलाई कांग्रेसका अन्य नेता तथा उम्मेदवारहरूले समेत साथ दिएपछि सहरदेखि गाउँसम्मै कांग्रेसले जनताको मन जितेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।