
काठमाडौं । गत भदौको जेनजी विद्रोहपछि मुलुकमा उत्पन्न विशेष राजनीतिक परिस्थितिका कारण करिब २ वर्षअगावै गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नवशक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकमा पाएको परिणामलाई सबैले अविश्वसनीय र अनपेक्षित रूपमा लिए पनि मतदानबाट उसले पाएको सफलतालाई कसैले नकार्न सकेका छैनन् । शान्तिपूर्ण र निष्पक्ष हुनेमा सर्वत्र शंका गरिए पनि निर्बाध र शान्तिपूर्ण सम्पन्न निर्वाचनको परिणाम लोकतन्त्रको लागि अनवरत संघर्ष गरेका स्थापित दलहरूको विपक्षमा आए पनि यसलाई राजनीतिक स्थिरताको लागि नयाँ दलको पक्षमा जनअभिमत उर्लिएको रूपमा पनि लिइएको छ । तर, लोकतन्त्रको पक्षमा खासै कार्यनगरेको र अनुभवको दृष्टिले पनि साह्रै नयाँ दल र निर्वाचित सांसदका कारण पनि रास्वपाको जितलाई सबैले ‘पर्ख र हेर’को कसीमा लिइरहेको देखिएको छ । । यतिमात्र नभई सम्पूर्ण स्वतन्त्र राजनीतिक विश्लेषकलेसमेत यो चुनावको नतिजालाई पूर्णतः आत्मसात् गर्न सकेको देखिएको छैन । त्यसैगरी, उनीहरूले पनि शंकाको दृष्टिले हेरिरहेको सार्वजनिक टिप्पणीबाट प्रस्ट हुन्छ । यो परिणाम आउनुमा रास्वपाभन्दा पनि काठमाडौंका निवर्तमान मेयर बालेन्द्र साह प्रमुख ‘फ्याक्टर’ रहेको सर्वत्र चर्चा छ ।
४ वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ सिट जितेपछि पुराना भनिएका दलहरू आन्तरिक समीक्षा गरेर अघि बढ्ने तयारीमा छन् । रास्वपाले ‘सामाजिक सञ्जाल’मार्फत सहरी क्षेत्रमा भ्रामक सूचना र प्रोपागान्डा गरेर चामत्कारिक मत ल्याएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भएको विश्लेषण छ । इन्टरनेटको पहुँच कम भएका विशेष गरी कर्णाली प्रदेशका जिल्लामा रास्वपाको साटो पुरानै दलहरूको वर्चस्व कायम गरेर यसलाई सिद्ध पनि गरेका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशका जिल्लाहरूमा रास्वपाले १ सिट मात्र जितेको छ । त्यही पनि सुर्खेत कर्णालीको राजधानी र सहरी क्षेत्र भएकाले रास्वपाको ‘डिजिटल क्याम्पियन’ काम लागेको छ ।
रास्वपाभन्दा पनि बालेन फ्याक्टरले बढी काम गरेको बुझिएको छ । रास्वपा प्रवेश गरेसँगै उनले गरेको रोड सोले गर्दा पनि रास्वपाको जनलहर बढेको थियो । चुनावपछि केही जिल्लाका मतदाताले आफूहरूले बालेनलाई जिताउन घण्टी चुनाव चिह्नमा मतदान गरेको तर यहाँ माला लगाएको मान्छे को हो भनेर रास्वपाको विजयी उम्मेदवारलाई नै सोधेको ििभडयो नै भाइरल भइरहेका छन् ।
देशभरि भारी मतान्तरले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारहरूलाई पराजित गरेको रास्वपा कर्णालीको सल्यानमा दोस्रो भए पनि बाँकी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामै आउन सकेन । यसपटकको निर्वाचनमा देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले गम्भीर राजनीतिक झट्का व्यहोर्न पुगेको छ । गत पुस अन्तिम साता विशेष महाधिवेशनमार्फत नेतृत्व पुस्तान्तरण र रूपान्तरण गर्दै पार्टीलाई सशक्त बनाउँदै ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित चुनावी मैदानमा होमिएको नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्नुले सबैलाई अचम्मित तुल्याएको छ ।
रास्वपाले चुनावी माहोल आफ्नो पक्षमा पार्न हाइटेक प्रचार शैली अपनाएर सामाजिक सञ्जालमा बुस्टिङ र मतदाताको मोबाइलमा म्यासेज पठाउने काम गरेको थियो । रास्वपाले यसपटक संगठित रूपमा डिजिटल क्याम्पेन चलाउँदै यसका लागि केन्द्रमा डिजिटल मिडिया रुमको निर्माण गरेर संगठित रूपमा कर्मचारीहरू नै लिएर क्याम्पेन चलाउने रणनीति बनाएको थियो । ठूलो संख्यामा प्राविधिक र रणनीतिक कर्मचारी भर्ती गरेर निर्वाचनलाई आफ्नो पक्षमा पार्ने रास्वपाको शैली रह्यो ।
चुनावअघि उक्त पार्टीले ‘डेटा साइन्टिस्ट’, तथ्यांक विश्लेषक, जीआईएस म्यापिङ विज्ञदेखि लिएर कन्टेन्ट क्रिएटर र ¥यापिड रेस्पोन्स युनिटसम्मका ३ सय २१ कर्मचारी नै भर्ना गरेको थियो । उसको रणनीति सामाजिक सञ्जालको हरेक कुना र डिजिटल दुनियाँमा विपक्षीलाई घेराबन्दी गर्ने थियो । जेन–जी पुस्ताको साथ र भाइरल मानिसहरूको भिडलाई संगठित गर्दै रास्वपाले निर्वाचनलाई पूर्णतया डिजिटल युद्धमा परिणत गरेको थियो ।
२०७९ को आमचुनावभन्दा केही समयपहिला मात्र स्थापना भएको रास्वपा दोस्रोपटक चुनावी मैदान उत्रिएर आफूलाई नयाँ पार्टीका रूपमा प्रस्तुत गर्दै पुराना पार्टीले केही गर्न नसकेको भाष्य बनाएर नयाँलाई जिताउनुपर्ने भन्दै मत मागेको थियो ।
जनतामा व्याप्त नेपाली कांग्रेससहित अन्य दल पुराना भन्ने भाष्य र नयाँले केही गर्छन् भन्ने अपेक्षाका कारण यसपटक निर्वाचनको परिणाम सोचे अनुसार नआएको कांग्रेसका एक नेताले देशान्तरलाई बताए ।
निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १८२ सीट जितेको रास्वपाले सरकार गठनका लागि गृहकार्य सुरु गरेको छ । सभापति लामिछाने र बालेन्द्र साहबीच भएको ७ बुँदे सहमतिमा रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएमा बालेन्द्र प्रधानमन्त्री बन्ने उल्लेख भए पनि पूर्वसहमति कार्यान्वयनमा पार्टीको विधान नै बाधक बनेपछि विधान संशोधन प्रक्रियामा रास्वपा लागेको छ ।
रास्वपा पार्टी विधानको धारा ६६ (८)मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ । धारा ६६ को उपधारा ८ (क)मा भनिएको छ, ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । दल नेताको निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउनेछन् ।’ निर्वाचनमा खसेको मतको ५० प्रतिशत कटाउने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था विधानमा छ । विधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने व्यवस्था गरिएको छ । विजेता संसदीय दलको नेता बन्नेछन् । रास्वपाका सांसद मात्र नभई साधारण सदस्य पनि संसदीय दलका नेताको निर्वाचनमा मतदाता हुन पाउने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ सँग बाझिएकाले पनि विधान संशोधन गर्न लागेको हो । ऐनमा ‘सम्बन्धित दलको निर्देशनबमोजिम संघीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्येबाट एकजना संसदीय दलको नेता निर्वाचित गर्नेछ भनेर उल्लेख छ ।










Facebook Comments