
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले लामो समयदेखि सत्ता र राज्यसञ्चालनको केन्द्रमा रहेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कमजोर भएपछि नेपाली वाम राजनीतिमा गम्भीर धक्का पुगेको भन्दै फेरि ‘वाम एकता’को बहस चल्न थालेको छ । तर, यो बहस विचार र सिद्धान्तभन्दा पनि अस्तित्व जोगाउने राजनीतिक रणनीतिका रूपमा देखिन थालेको छ ।
निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मनाक पराजय व्यहोरेपछि पार्टीभित्रै उनको नेतृत्वमाथि प्रश्न उठेको छ । दोस्रो र तेस्रो तहका नेताहरूले ओलीलाई नैतिक जिम्मेवारी लिएर पद छाड्न दबाब दिन थालेका छन् । विशेष महाधिवेशनको मागदेखि नेतृत्व हस्तान्तरणसम्मका आवाज एमालेभित्र तीव्र बन्दै गएका छन् । यस्तो अवस्थामा ओलीले फेरि वाम एकताको कार्ड फालेर आफ्नो राजनीतिक सान्दर्भिकता जोगाउन खोजेको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ ।
उता नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कमजोर बन्दै गएको वाम शक्तिलाई पुनः संगठित गर्नुपर्ने तर्क गर्दै एमालेसँग नजिकिन खोजिरहेका छन् । प्रतिनिधिसभामा एमालेका २५ र नेकपाका १७ सांसद छन् । दुई पार्टी एक भए ४२ सांसदसहित कांग्रेसभन्दा ठूलो दल बन्न सक्ने अंकगणितले पनि एकताको बहसलाई बल पु¥याएको छ । प्रचण्डको चाहना संसद्मा प्रमुख प्रतिपक्षी दलको नेतृत्व हात पार्ने र ओलीको बहिर्गमनपछि एकछत्र नेतृत्वमा हालिमुहाली गर्न पाइने रहेको विश्लेषण भइरहेको छ ।
पछिल्ला दिनमा दुवै पार्टीका नेताहरूबीच गोप्य भेटघाट भइरहेको बताइन्छ । एमालेका केही नेताहरूले प्रचण्डसँग संवाद बढाएका छन् भने यसअघि प्रचण्ड स्वयं अस्पतालमा पुगेर ओलीसँग भेट गरेका थिए । यसले वाम एकताको चर्चालाई थप तातो बनाएको छ ।
तर, दुवै पार्टीभित्रका अधिकांश नेता भने हतारमा हुने एकताको विपक्षमा देखिन्छन् । उनीहरूको तर्क छ— विगतमा वैचारिक आधारबिनै गरिएको एमाले–माओवादी एकता सत्तास्वार्थकै कारण टुटेको थियो, अहिले पनि त्यही प्रवृत्ति दोहोरिन सक्छ ।
एमालेका नेता सुरेन्द्र पाण्डे, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत नेताहरूले अहिलेको आवश्यकता पार्टी पुनर्गठन र आत्मसमीक्षा भएको बताएका छन् । नेकपाभित्र पनि नेतृत्व पुस्तान्तरण र संगठन पुनर्संरचनाको बहस चलिरहेको छ । यस्तो अवस्थामा शीर्ष नेताहरूको व्यक्तिगत संकट व्यवस्थापनका लागि गरिने एकताले दीर्घकालीन समाधान नदिने धारणा बलियो बन्दै गएको छ ।
मुख्य समस्या नेतृत्वमै अड्किएको छ । प्रचण्ड ओलीलाई नेतृत्वमा राखेर एकता गर्न चाहँदैनन्, ओली पनि प्रचण्डलाई विपक्षी दलको नेता वा पार्टीको एकल अध्यक्ष बनाउन तयार छैनन् । यही अविश्वास र शक्ति संघर्षका कारण वाम एकताको चर्चा अहिले ‘स्यालहुइयाँ’जस्तै धेरै सुनिने तर व्यवहारमा रूपान्तरण नहुने सम्भावना बढी देखिएको छ ।










Facebook Comments