
काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको साँध भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थलमा अवस्थित भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटा २०२६ का लागि मनोनयनमा परेको छ ।
दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।
रिसोर्टका सञ्चालक रामसुन्दर बकेले यो मनोनयन नेपाली पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक भएको पनि उनले बताए ।
यस रिसोर्टले स्वच्छ र मनोरम वातावरण, रिसोर्ट परिसरबाट देखिने हिमश्रृंखलाका दृश्यहरुका कारण स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ । यस रिसोर्टको परिसरबाट सगरमाथा, कञ्चनजंघा, मकालु, चोयु, सिसापाङमा, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, धवलागिरी, लाङटाङ लगायतका हिमालहरु देख्न सकिन्छ ।
रिसोर्ट परिसरबाट चालिसभन्दा बढी प्रजातिका चराहरु समेत अवलोकन गर्न सकिन्छ ।रिसोर्टको कोठाहरुबाट नै काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भागहरु अवलोकन गर्न सकिन्छ ।
रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको छ ।
दक्षिण एसियाली ट्राभल अवार्ड्स साटा सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो ।










Facebook Comments