
काठमाडौं । स्वेच्छिक रूपमा नेतृत्व त्याग्न पार्टी अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि एमालेका केही प्रभावशाली नेताहरूले सम्मानजनक रूपमा आफैँ हट्न दबाब बढाउने, केन्द्रीय समितिबाट राजीनामा माग गर्ने र विशेष महाधिवेशन गरी हटाउने तीन विकल्पका बारेमा छलफललाई तीव्र्रता दिएका छन् ।
जेनजी आन्दोलन दमनमा भूमिका खेलेको र त्यसले प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई ठूलो धक्का पु¥याएको ठहरसहित ओली पक्षकै नेताहरू पनि ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् । नेतृत्व परिवर्तन गरी पार्टीलाई रूपान्तरण नगरे पार्टीको अस्तित्व नै नरहने र पार्टी पुनर्गठन गरी निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि सम्मानजनक बहिर्गमनबारे सोच्न उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताले ओलीलाई पटक–पटक आग्रह गरे पनि तत्काल नेतृत्व छाड्ने पक्षमा ओली देखिएका छैनन् ।
यसैकारण नेताहरूले सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा राजीनामा दिन आग्रह गर्ने तयारी गरेका छन् । त्यति गर्दा पनि राजीनामा गर्न अटेर गरेमा विशेष महाधिवेशनबाट ओलीलाई हटाउने विकल्पका विषयमा उनीहरूको छलफल केन्द्रित रहेको एमालेनिकट उच्चस्रोतले देशान्तरलाई जानकारी दियो । स्रोतका अनुसार एमालेको १९ जनाको सचिवालयमध्ये बहुमत पदाधिकारी ओली हटाउने पक्षमा छन् । पित्तथैलीको पत्थरीको अप्रेसनपछि अहिले आफ्नै निवास, गुन्डुमा आराम गरिरहेका ओलीले खासै भेटघाट पनि गरिरहेका छैनन् ।
अप्रेसन गरेको घाउमा संक्रमण भएको भन्दै ओलीकी पत्नीले परिवारका सदस्यबाहेक अन्यलाई ओलीसँग भेटघाट गर्न दिएकी छैनन् । ओलीको अस्वस्थताकै कारण लामो समयदेखि पार्टीको बैठक पनि बस्न पनि सकेको छैन । प्रत्येक तीन÷तीन महिनामा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने गरेको छ । एमालेका एक नेताका अनुसार यही वैशाखमा केन्द्रीय कमिटीको बैठक बस्नुपर्नेछ ।










Facebook Comments