
काठमाडौं । नेपाली कांग्रेसभित्रको वैधानिकता विवादमा सर्वोच्च अदालतको निर्णय आएपछि अब बहस कानुनबाट राजनीति र संगठनतर्फ सरेको छ । विशेष महाधिवेशनलाई मान्यता दिएसँगै गगन थापाको नेतृत्व स्थापित भएको छ, तर त्योभन्दा ठूलो प्रश्न अब पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने बनेको छ ।
थापाले सार्वजनिक रूपमा ‘सबैलाई मिलाएर लैजाने’ प्रतिबद्धता जनाएका छन् । तर, कांग्रेसजस्तो बहुध्रुवीय संरचनामा एकता निर्माण सजिलो छैन । अहिलेको अवस्थामा कांग्रेसभित्र कानुनी विवाद टुंगिएको छ, तर राजनीतिक विश्वास पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेसलाई एकताबद्ध, प्रभावशाली र चुनावी रूपमा सक्षम बनाउने लक्ष्य पूरा गर्न गगन थापाले संवाद, सहमति र सन्तुलनको कठिन बाटो रोज्नुपर्नेछ ।
यो सन्दर्भमा शेखर कोइराला–शशांक कोइराला पक्षको पछिल्लो धारणा निकै अर्थपूर्ण देखिन्छ । अदालतको फैसला स्वीकार्दै उक्त समूहले ‘घरझगडा सकियो’ भन्ने निष्कर्ष निकाल्नु केवल औपचारिक प्रतिक्रिया होइन, पार्टीभित्रको तनाव घटाउने संकेत पनि हो । उनीहरूले गगन थापाको नेतृत्वलाई स्वीकार गर्दै अब पार्टीको बृहत्तर हित, एकता र सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
यो समूहले विशेष रूपमा एउटा सन्देश दिएको छ, अब विवादको अध्याय बन्द भयो, जिम्मेवारीको अध्याय सुरु भयो । र त्यो जिम्मेवारी मुख्यतः सभापतिमा केन्द्रित हुने उनीहरूको स्पष्ट धारणा छ । ‘पार्टी मिलाउने जिम्मा अब सभापतिको’ भन्ने निष्कर्षले थापामाथि राजनीतिक र नैतिक दुवै दबाब थपेको छ । यसले उनलाई औपचारिक नेता मात्र होइन, सहमतिका निर्माता बन्नुपर्ने अवस्थामा पुर्याएको छ ।
अर्कोतर्फ, पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्कासँगको गगन थापाको भेटलाई पनि निकै अर्थपूर्ण रूपमा हेरिएको छ । गोल्फुटारस्थित निवासमै पुगेर थापाले खड्कासँग गरेको संवाद केवल औपचारिक भेट होइन, पार्टीभित्रको दूरी घटाउने प्रयासका रूपमा बुझिएको छ । विशेषगरी अदालतको फैसलापछि असन्तुष्ट देखिएको देउवा–खड्का धारसँग प्रत्यक्ष संवाद सुरु गर्नु, थापाको रणनीतिक कदम मान्न सकिन्छ ।
खड्का पक्षले पनि अदालतको निर्णय स्वीकार्दै अब राजनीतिक रूपमा ‘सम्मानजनक स्थान’ खोज्ने संकेत दिएको छ । यस्तो अवस्थामा थापाले उनीहरूसँगको संवादलाई थप कस्तो आकार दिन्छन् भन्नेले एकताको गति निर्धारण गर्नेछ । केवल भेटघाटले मात्र होइन, शक्ति सन्तुलन, भूमिकाको बाँडफाँट र विश्वास पुनःस्थापनाजस्ता विषयमा ठोस पहल आवश्यक देखिन्छ ।
नेतृत्वको वैधानिकता अदालतले दिएको छ, तर नेतृत्वको स्वीकार्यता भने सहकार्य र विश्वासबाट मात्रै स्थापित हुन्छ । शेखर समूहको समर्थन र पूर्णबहादुरसँगको संवादलाई सभापति थापाले उपयोग गरेर अघि बढ्नेमा आमकांग्रेसी विश्वस्त छन् । थापामाथि सबैलाई मिलाएर लैजाने अवसर र चुनौती दुवै छ । शेखर समूहले दिएको समर्थन अवसर हो भने खड्का समूहसँगको संवाद चुनौती र परीक्षा दुवै हो । यसमा सफल भएमा उनको मात्र होइन, आमकांग्रेसको भविष्य उज्ज्वलतातर्फ जाने विश्लेषकहरू बताउँछन् ।










Facebook Comments