काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन पक्ष्ँले सबैलाई मिलाएर लैजाने प्रयास गरिरहँदा इतरपक्ष भने विवादलाई झन् बल्झाएर आन्तरिक एकता चर्कायने गतिविधिमा देखिएको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि पार्टी नेतृत्वको विवाद त्यहीँ टुंगिसक्नुपर्ने थियो । तर, इतरपक्षले सर्वोच्चमा मुद्दा हालेर वैधानिकता विवाद बल्झाएकै कारण कांग्रेसले प्रमुख प्रतिपक्ष मात्रैमा चित्त बुझाउनुपर्ने अवस्था सिर्जन भयो । निर्वाच्नमा सभापति गगन थापाकै हस्ताक्षरमा सबै पक्ष निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । उक्त प्रक्रियामा इतर पक्षका प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर काकीलगायत मात्र नभएर पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काका भाइसमेत सहभागी भएका थिए । 

निर्वाचनका बेला पार्टी एकताबद्ध देखिए पनि निर्वाचनमा अपेक्षाकृत कम सिट आएपछि इतरपक्षले सभापति थापामाथि दोष थोपर्दै विभिन्न भेला आयोजना ग¥यो । अदालतलाई प्रभावित पार्ने उद्देश्यले इतरपक्ष विभिन्न गतिविधिमा सक्रिय भए पनि अन्ततः अदालतले सभापति थापा र विशेष महाधिवेशनलाई नै मान्यता दिएपछि शेखर कोइराला पक्ष केही मत्थर बने पनि पूर्णबहादुर पक्ष अझै विवाद बल्झाउने मानसिकतामै देखिन्छ ।

ad

विशेष महाधिवेशनमा सुरुआतमा २७ जिल्ला सभापति मात्र सहभागी भए पनि अदालतको आदेशपछि अधिकांश जिल्ला नेतृत्व एक ठाउँमा उभिएका छन् । यसको उदाहरणका रूपमा पूर्णबहादुर खड्काले बोलाएको पछिल्लो भेलामा ६ जिल्ला सभापति मात्र उपस्थित भए । जसले इतरपक्षको कमजोर उपस्थितिलाई संकेत गर्छ ।

पार्टी एकता सुदृढ गर्न नेतृत्वले केही रणनीतिक निर्णयहरू गरेको छ । अनुभवी नेता अर्जुननरसिंह केसीलाई नबनाई संसदीय दलको नेतामा भीष्मराज आङदेम्बेलाई चयन गरिएको छ । प्रमुख सचेतकमा कर्णाली क्षेत्र समेट्दै बासना थापालाई जिम्मेवारी दिइएको छ भने सचेतकमा निश्कल राईलाई ल्याइएको छ । राष्ट्रिय सभामा दलका नेता रहेका कृष्णप्रसाद सिटौला पार्टीहितमा नलागी एकता भाँड्ने अभियानमा लागेपछि उनलाई हटाएर कमला पन्तलाई जिम्मेवारी दिइएको छ ।

तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले अदालतलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचनपछि पनि कार्यबाहकको हैसियतमै विज्ञप्त्बिाजी गरेपछि कांग्रेसको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो । रामेछापका जिल्ला सभापति कान्छाराम तामाङले पनि सभापति गगन थापाले अर्बौं खर्च गरेको भन्दै अनर्गल आरोप लगाएपछि स्पष्टीकरण माग गरिएको थियो र जवाफ नदिएपछि उनलाई पदबाट हटाइएको छ । अनुशासन आयोगले पार्टीहितविपरीत गतिविधि गर्ने र निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि स्पष्टीकरणसहित कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

कांग्रेसले पार्टीलाई मजबुत र प्रतिस्पर्धी बनाउन ‘जरा अभियान’ अघि बढाएको छ, जसअन्तर्गत नेताहरू आफ्नै वडाबाटै क्रियाशील भएर त्यहीँबाट निर्वाचित हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले केन्द्रमुखी राजनीति कमजोर पार्ने अपेक्षा गरिएको छ । तर, सधैँ नेताको आशीर्वादबाट पद पाउँदै आएकाहरू वडामै हार्ने अवस्था आएपछि अधिवेशन नै भाँड्ने प्रयास गरिरहेका छन् । 

यसैबीच सभापति गगन थापाले आफू लचक र समन्वयकारी भूमिकामा रहेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएका छन् । उनले पार्टीभित्रका असमझदारी संवादमार्फत समाधान गर्न सकिने बताएका छन् । कांग्रेसबारे बाहिर जाने सन्देश प्रायः आन्तरिक विवादमा सीमित भएको देखिए पनि वास्तविक प्राथमिकता संगठन सुदृढीकरण र जनसमर्थन विस्तार भएको उनले बताएक छन् । उनले आन्तरिक एकतासँगै बाह्य समर्थन बढाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी आफ्नै घरजस्तै हो, मिलाएर अघि बढाउन सकिन्छ,’ उनले भनेका छन् ।

कांग्रेसले असोजमा अधिवेशन गर्ने तयारी गरिरहँदा आमकार्यकर्ता एकताका पक्षमा उभिएका छन् भने इतरपक्ष अझै असहमतिका गतिविधिमा सक्रिय हुँदै अधिवेशन प्रभावित पार्ने अभियानमा देखिएको छ । तर, संस्थापन पक्ष सबैलाई मिलाएर समयमै अधिवेशन गर्न दत्तचित्त भएर लागेको एक नेताले देशान्तरलाई बताए ।