
जुन बिहान त्यो मौनी साधु एउटा व्यापारीको ताल्चा मारेको घरमा उभिएको थियो, त्यसदिन उक्त बेपारीको सारा परिवार छिमेकी गाउँमा बस्ने आफन्तकहाँ सम्पन्न हुने उपनयन संस्कार समारोहमा भाग लिन गएको थियो । त्यो परिवार बेलुकीपख फक्र्यो ।
भोलिपल्ट पुनः ताल्चा खुलेको देखेर त्यो साधु त्यही द्वारमा भिक्षा माग्न उभियो ।
–‘भिक्षाम् देही, भिक्षाम् देही’ दुईपटक बोल्दानबोल्दै बेपारीको कन्या फलफूल लिएर भिक्षा दिन आई ।
मौनी साधु भिक्षाम् देहीबाहेक केही बोल्दैन थियो । भिक्षा लिएर आएकी बेपारीको पुत्रीलाई देख्नासाथ उसलाई कराएर भन्यो ‘घोर कष्टम्, घोर कष्टम् ।’
त्यो सुनेर भित्रबाट त्यो बेपारी, जो एक धर्मभीरु वैश्य थियो, दगुरेर बाहिर आयो । कहिल्यै नबोल्ने सन्यासीलाई ‘घोर कष्टम्’ भनेको सुनेर ऊ चिन्तित भएको थियो ।
उसले बाहिर निस्केर सन्यासीलाई सोध्यो –‘बाबाजी, मेरी छोरीले भिक्षा दिन आउँदा मौनव्रत धारण गरेको तपाईंले किन घोर कष्टम्, घोर कष्टम् भन्ने शब्द उच्चारण गर्नुभयो ? त्यसको कारण जान्न पाऊँ ।’
त्यसपछि सन्यासी बोल्यो – ‘हे जजमान तिम्रो ती कन्या घरमा रही भने घोर अशुभ हुने देखेर मैले त्यस्तो भनेको हुँ । तिम्रो यो कन्या अत्यन्त अशुभ छे, कुलक्षणी छे । त्यो घरमा बसी भने तिम्रो घरमा दारिद्रय मात्र आउँदैन, त्यसले गर्दा तिम्रो वंश नै समूल नष्ट हुने देखेर मौन व्रत धारण गरे पनि म बोल्न बाध्य भएको हुँ । तिमी मेरो अनन्य भक्त हौ । तिम्रो वंश नै यस कन्याका कारण नाश हुने भएकाले म आफ्नो व्रत तोडेर भए पनि बोलेको हुँ ।’
वैश्य यो सुनेर चिन्तित मात्र भएन, भयभीतसमेत भयो ।
वैश्य सन्यासीको अत्यन्त भक्त थियो, त्यसकारण उसलाई पूर्ण विश्वास भयो । मेरी यो कन्या अशुभ छे । यसले गर्दा वंश नै नाश हुने हो भने के गरी यसको निराकरण हुन सक्छ भनी विचार गर्यो । ऊ सन्यासीसमक्ष पाउमा शिर टेक्दै भन्न थाल्यो, गुरुवर म तपाईंको अनन्य भक्त हुँ । ममाथि दया गर्नुहोस्, कुनै उपाय बताइदिनुहोस्, जसबाट मेरो वंशको रक्षा होस् र मेरी पुत्रीको पनि उद्धार होस् ।
साधुले एकछिन गमेर भन्यो –‘हेर भक्त मलाई थाहा छ, तिमी मेरो अनन्य भक्त हौ । मलाई पनि तिम्रो भविष्य देखेर दुःख लागेको छ । तर हुनेहुनामी टार्न सकिन्न । मैले आफ्नो दिव्य–दृष्टिले जे देखे त्यो तिमीलाई बताएको हुँ । तर तिमी मेरो भक्त हौ । मेरा सेवा पनि गरेका छौ । मेरो प्रत्येक वचन शिरोधार्य गरेका छौ । त्यसकारण म तिम्रा लागि उपायको खोजी गर्ने प्रयत्न गर्नेछु । तिमी भोलि आऊ । म त्यहीँ दिव्यदृष्टिले हेर्छु । यस कष्टको निवारण हुन सक्छ । म रातभरि ध्यानमा बसेर तिम्रो संकटको उपाय खोज्नेछु ।
यति भनेर सन्यासी आफ्नो कुटीको भित्री कक्षमा प्रवेश गर्यो ।
बेपारी पनि यत्रा सिद्ध बाबाले मेरो समस्याको समाधान अवश्य खोज्नेछन् भनी आश्वस्त भएर घर फर्कियो ।
घर फर्केर ऊ चिन्तित भने भइरह्यो । छोरी र वंशको चिन्ताले उसलाई निन्द्रासमेत लागेन । बेपारी भोलिपल्ट सूर्योदय कुरेर छटपट गरिरह्यो ।
वास्तवमा सत्य भने अर्कै थियो । साधुको श्राप वा संकटको घोषणा झुटो थियो । साधुले त्यस्तो कुनै संकट बेपारीको वंशमा देखेको थिएन । बेपारीकी छोरी वंश नाशको कारण बन्ने कुनै लक्षण साधुले देखेको थिएन ।
सत्य के थियो भने, त्यो साधु ढोँगी साधु थियो । त्यसलाई कुनै सिद्धि प्राप्त थिएन । त्यसले मौन–व्रत धारण गरेको कुरा पनि झुटो थियो ।
साधुले वैश्यबारे सुनिराखेको थियो । त्यसकारण ऊ बेपारीकहाँ दोस्रो दिन पनि भिक्षा माग्न गएको थियो । उसको विचार थियो कसैगरी बेपारीलाई ठग्न पाए धन प्रशस्त प्राप्त हुने लोभ थियो उसलाई ।
धनको लोभले गराएको धूर्त साधुलाई बेपारी आफ्नो अनन्य भक्त भएको कुरा थाहा थियो । उसबाट अपार सम्पत्ति ठग्ने साधुको मनसाय भएकाले ऊ दोस्रो दिन पनि उक्त द्वारमा उभिएको थियो ।
साधु धनको लोभले गए पनि भिक्षा दिन आउने बेपारीकी छोरीलाई देख्नासाथ उसले धनको लोभ तत्काल त्यागिदियो ।
बेपारीकी छोरी अत्यन्त राम्री थिई । साधु त्यो केटीको रूप देखेर कामान्ध भयो । त्यस कारण उसले धनको लोभ त्यागेर रूप प्राप्ति कसरी हुन्छ भनी सोच्न थाल्यो । बेपारीकी छोरीको नाउँ थियो, विद्युतमाला । नभन्दै विद्युतमालाको रूपको बिजुलीले धूर्त साधुका आँखा तिरमिराए । उसले तत्काल, त्यो केटीलाई प्राप्त कसरी गर्न सकिन्छ भनी योजना बनायो । धूर्तता अतिशय भएकाले उसले आफ्नो योजना तत्काल बनायो र त्यसैअन्तर्गत विद्युतमालालाई देख्नासाथ उसले कराएर बोल्यो –‘घोर कष्टम्, घोर कष्टम् ।’
त्यो रूपलोभी साधुले सोझो बेपारीलाई भनेका कुराहरू सब असत्य थिए । उसको षड्यन्त्रका हिस्सा थए । त्यसले साधुले बेपारीको छोरी वंशको नाशको कारण बन्छे भनेको थियो । यसरी ऊ बेपारीको मनमा भय उत्पन्न गर्न समर्थ भएको थियो ।
साधुले भोलिसम्म केही उपाय सोचेर विद्युतमालालाई हात पार्छु भनेर उसले भोलिको समय दिएको थियो ।
सोझो बेपारी साधुको कुत्सित नियतबाट अनभिज्ञ भएर कसैगरी रात कटाएर भोलिपल्ट सूर्योदय हुनासाथ धूर्त साधुको कुटीको द्वारमा हात जोर्दै उभियो ।
बाँकी पछि ...










Facebook Comments