काठमाडौं । सिंहदरबार मा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विवादबारे प्रश्न उठेको छ। बैठकमा केही मन्त्रीहरूले गृहमन्त्रीको अवस्थाबारे स्पष्ट धारणा आवश्यक भएको बताएका थिए।

स्रोतका अनुसार उक्त विषयमा के गर्ने भन्नेबारे प्रश्न उठेपछि प्रधानमन्त्रीले गृहमन्त्री स्वयंले स्वविवेक प्रयोग गरेर निर्णय लिनुपर्ने संकेत गरेका छन्। औपचारिक निर्णयमा पुग्नुअघि गृहमन्त्रीले मन्त्रालयमै विस्तृत ब्रिफिङ दिने र त्यसपछि मात्रै क्याबिनेटले आवश्यक कदम चाल्ने समझदारी बनेको बताइएको छ।

ad

एक मन्त्रीका अनुसार अब गृहमन्त्रीले सम्बन्धित विषयमा मन्त्रालयस्तरमा छलफल गरी आफ्नो धारणा स्पष्ट पार्नेछन्, त्यसपछि मात्र सरकारको तर्फबाट थप निर्णय अघि बढ्नेछ।

हाल गृहमन्त्री गुरुङको नाम व्यवसायी दीपक भट्टसँग जोडिएको शेयर लगानी विवादसँगै चर्चामा आएको छ। उक्त विषय सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ।

गृहमन्त्री गुरुङले भने आफूविरुद्ध उठेका प्रश्नहरूबारे स्पष्टीकरण दिइसकेको बताएका छन्। यद्यपि, क्याबिनेटमै विषय प्रवेश गरेपछि आगामी कदम के हुने भन्नेमा चासो झन् बढेको छ।